शिक्षकले २ वर्षदेखि तलब पाएनन्- कर्णाली - कान्तिपुर समाचार

शिक्षकले २ वर्षदेखि तलब पाएनन्

अनुदान र निजी स्रोतका शिक्षक तलबबाट वञ्चित, दसैंका बेलासमेत बेखर्ची
विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतबाट भर्ना गरिएका झन्डै डेढ दर्जन शिक्षकले २ वर्षदेखि तलब पाएका छैनन् । विद्यालयको आफ्नै स्रोत नहुँदा शिक्षकहरू तलबबाट वञ्चित भएका हुन् ।

नगरपालिकाले विद्यालय सञ्चालन नभएको भन्दै सामुदायिक विद्यालयहरूको प्रतिविद्यार्थी अनुदान रोकेको छ । जसका कारण निजीस्रोतका शिक्षकलाई तलब खुवाउन समस्या भएको हो । तलब नपाउँदा दसैं मनाउन समस्या भएको भैरव आधारभूत विद्यालयका शिक्षक प्रकाश बुढाले बताए । उनले निजीस्रोतमै १२ वर्षदेखि पढाइरहेका छन् । ‘अरू बेला त तलब पाइएन पाइएन, दसैंका बेलासमेत बेखर्ची बन्नुपरेको छ,’ उनले भने, ‘तलब नपाउँदा घरखर्च धान्न गाह्रो भएको छ ।’ दुई वर्षयता आफन्त र साथीहरूसँग सापटी मागेर जीविकोपार्जन गर्न बाध्य भएको उनको गुनासो छ ।

भैरव आधारभूत विद्यालयका अर्का शिक्षक युवराज बिष्टले दुई वर्षदेखि तलब नपाएपछि बाध्य भएर राजिनामा दिएको बताए । उनलाई विद्यालयले निजीस्रोतबाट तलब पाउने गरी निम्न माध्यमिक तहको विज्ञान शिक्षकका रूपमा नियुक्त गरेको थियो । ‘विद्यालयकै हितका लागि कुनै बेला एक गाँस खाएर पनि पढाइयो,’ उनले भने, ‘आज तलब आउला, भोलि आउला भन्दाभन्दै २ वर्ष बित्यो, अन्तिममा राजीनामा दिन बाध्य भए ।’ उनका अनुसार विद्यालयका ३ शिक्षकले तलब पाउन बाँकी छ । जयनेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले पनि तलब पाएका छैनन् ।

‘तलब नपाउँदा उत्साहपूर्वक मनाउनुपर्ने दसैं पनि खल्लो भएको छ,’ उनले भने, ‘अरू जागिर पनि पाइँदैन, विद्यालयले पनि तलब दिँदैन, कसरी घरखर्च टार्ने ?’ उनले तलब पाउने आशामा विद्यालय छाड्न नसकिएको बताए । उनले पनि आफन्तसँग सरसापट गरेर र पसलबाट उधारो सामान ल्याएर घरखर्च टारिरहेको गुनासो गरे । विद्यालयले तलब खुवाउन कुनै पहल नगर्दा घरको न घाटको भएको उनको भनाइ छ । विद्यार्थीको भविष्यका लागि पनि विद्यालय छाड्न नसकिएको उनले बताए ।

निजीस्रोतमा राखिएका मात्र होइन नगरपालिकाले अनुदानमा भर्ना गरेका ६ शिक्षक पनि माघदेखि तलबबाट वञ्चित छन् । विद्यार्थीबाट उठाउने स्वैच्छिक शुल्कबाहेक विद्यालयको अर्को कुनै आम्दानी नहुँदा शिक्षकलाई तलब खुवाउन समस्या भएको भैरव आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले बताए । ‘विद्यालय नखुलेको भन्दै नगरपालिकाले अनुदान रोकेको छ,’ उनले भने, ‘सरकारले न दरबन्दीअनुसार शिक्षकको व्यवस्था गर्छ, न निजीस्रोतका शिक्षकलाई तलब ।’

प्रकाशित : आश्विन २५, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्

खैराबाङमा दर्शनार्थीको घुइँचो

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिका–११ स्थित खैराबाङ भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ । दसैं मनाउन लामो समयपछि घर फर्किएका स्थानीयका कारण खैराबाङमा भक्तजनको भीड बढेको हो ।

कोरोनाको जोखिम कम गर्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिरमा पूजाआजाको व्यवस्था मिलाइएको मन्दिर संरक्षण समितिका अध्यक्ष छविकुमार शर्माले बताए । ‘सडक सुबिधा पुगेसँगै दर्शनार्थीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘एकै दिनमा एक सय बढी भक्तजन गाडी लिएर मन्दिर दर्शनका लागि आइरहेका छन् ।’ उनका अनुसार घटस्थापनादेखि मेला लाग्ने मन्दिरमा तृतीयादेखि अष्टमीसम्म बढी भीडभाड हुने गरेको छ ।

दर्शनार्थीको भीड बढेसँगै स्थानीय व्यापार व्यवसाय फस्टाएको समितिले जनाएको छ । ‘मन्दिरमा पूजाआजा गरि वर मागे सन्तान प्राप्त हुने बिश्वास छ,’ अध्यक्ष शर्माले भने, ‘चतुर्थी, पन्चमी र षष्टीमा मात्रै मन्दिरमा पाँच सय बढी बोकाको बली दिइने गरिएको छ ।’ मन्दिर नजिकै उपयुक्त होटल तथा आवासगृह नभएकाले दर्शनार्थी एकै दिनमा फर्कने गरेको उनले गुनासो गरे ।

सञ्चालक समितिका सदस्य नविन पौडेलका अनुसार दर्शनार्थीले मन्दिरमा चढाएको रकम र बोकाको टाउको बिक्री गरेको पैसाबाट मन्दिर सञ्चालन भइरहेको छ । उक्त रकमलाई मन्दिर संरक्षण र पूर्वाधार निर्माणमा प्रयोग गर्ने गरिएको उनले जानकारी दिए । किंवदन्तीअनुसार मन्दिर आसपासमा एक सुन्दर युवती बाघमा चढेर घुम्ने गर्थिन् । एक दिन गोठालाहरूले उनलाई देखेपछि पछ्याउँदै जाँदा युवती गुफामा छिरेर हराएकी थिइन् । त्यही गुफामा मन्दिर बनाएर पुजाआजा गर्न थालिएको स्थानीय अगुवाको भनाइ छ ।

वर्षभरि नै पूजाआजा हुने मन्दिरमा विवाह, ब्रतबन्धलगायत विभिन्न धार्मिक कार्य हुने गरेका छन् । मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन विभिन्न पूर्वाधार निर्माणमा जोड दिइएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए ।

प्रकाशित : आश्विन २५, २०७८ १२:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×