खैराबाङमा दर्शनार्थीको घुइँचो

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिका–११ स्थित खैराबाङ भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ । दसैं मनाउन लामो समयपछि घर फर्किएका स्थानीयका कारण खैराबाङमा भक्तजनको भीड बढेको हो ।

कोरोनाको जोखिम कम गर्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिरमा पूजाआजाको व्यवस्था मिलाइएको मन्दिर संरक्षण समितिका अध्यक्ष छविकुमार शर्माले बताए । ‘सडक सुबिधा पुगेसँगै दर्शनार्थीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘एकै दिनमा एक सय बढी भक्तजन गाडी लिएर मन्दिर दर्शनका लागि आइरहेका छन् ।’ उनका अनुसार घटस्थापनादेखि मेला लाग्ने मन्दिरमा तृतीयादेखि अष्टमीसम्म बढी भीडभाड हुने गरेको छ ।

दर्शनार्थीको भीड बढेसँगै स्थानीय व्यापार व्यवसाय फस्टाएको समितिले जनाएको छ । ‘मन्दिरमा पूजाआजा गरि वर मागे सन्तान प्राप्त हुने बिश्वास छ,’ अध्यक्ष शर्माले भने, ‘चतुर्थी, पन्चमी र षष्टीमा मात्रै मन्दिरमा पाँच सय बढी बोकाको बली दिइने गरिएको छ ।’ मन्दिर नजिकै उपयुक्त होटल तथा आवासगृह नभएकाले दर्शनार्थी एकै दिनमा फर्कने गरेको उनले गुनासो गरे ।

सञ्चालक समितिका सदस्य नविन पौडेलका अनुसार दर्शनार्थीले मन्दिरमा चढाएको रकम र बोकाको टाउको बिक्री गरेको पैसाबाट मन्दिर सञ्चालन भइरहेको छ । उक्त रकमलाई मन्दिर संरक्षण र पूर्वाधार निर्माणमा प्रयोग गर्ने गरिएको उनले जानकारी दिए । किंवदन्तीअनुसार मन्दिर आसपासमा एक सुन्दर युवती बाघमा चढेर घुम्ने गर्थिन् । एक दिन गोठालाहरूले उनलाई देखेपछि पछ्याउँदै जाँदा युवती गुफामा छिरेर हराएकी थिइन् । त्यही गुफामा मन्दिर बनाएर पुजाआजा गर्न थालिएको स्थानीय अगुवाको भनाइ छ ।

वर्षभरि नै पूजाआजा हुने मन्दिरमा विवाह, ब्रतबन्धलगायत विभिन्न धार्मिक कार्य हुने गरेका छन् । मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन विभिन्न पूर्वाधार निर्माणमा जोड दिइएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए ।

प्रकाशित : आश्विन २५, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?