कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कालापारे’ फर्केपछि पर्व

हरिहरसिंह राठौर

घाटगाउँ, सुर्खेत — घटस्थापनादेखि नै दसैंको चहलपहल सुरु भइसकेको छ । तर, सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा भने अझै दसैंको रौनकले छोएको छैन । घाटगाउँमा बर्सेनि भारत गएका (कालापारे) फर्केपछि मात्र दसैंको रमझम सुरु हुन्छ । पाखे धान र मकै छरेर कमाउन गएकाहरू नफर्के गाउँ नै सुनसान हुन्छ ।

‘यहाँ त कालापारे फर्किए मात्र दसैं आउँछ,’ स्थानीय बेलमता विकले भनिन्, ‘उनीहरू नफर्के के को दसैं ?’ उनका पति र ३ छोरा असारमा भारत गएका हुन् । कर्णाली र सुदूरपश्चिम प्रदेशको सिमाना, भेरी र कर्णाली नदीको संगमस्थल घाटगाउँमा झण्डै ७ सय घरधुरी छन् । अधिकांश दलित समुदायको बाहुल्यता रहेको घाटगाउँका अधिकांश पुरुषहरू मजदुरीका लागि भारत (कालापहाड) गएका छन् । हरेक घरबाट कम्तिमा २ जना पुरुष भारत गएका छन् । गाउँमा सबैजसो जिम्मेवारी महिलाकै काँधमा छ ।

स्थानीय युवा घर खर्चको जोहो गर्न भारत जाने चौकुने–९ वीरगौंडास्थित आधारभूत विद्यालयका शिक्षक वसन्त धमलाले बताए । ‘गाउँबस्तीमा रोजगार छैन,’ उनले भने, ‘भए पनि दक्षता छैन, त्यसैले यहाँका सबै पुरुष रोजगारीका लागि भारतै जान बाध्य छन् ।’ उनका अनुसार दुई वर्षयता बस्ती नजिकै कर्णाली र भेरीमा करिब डेढ अर्बका ४ वटा ठूला पुल निर्माण भएका छन् । तर अधिकांश मजदुरहरू तराइ र भारतबाट आएको उनले जानकारी दिए । कामको खोजीमा भारत गएकाहरू आउने समय बल्ल सुरु भएको छ । उनीहरू सप्तमीदेखि दसैं टीकाको दिनसम्म पनि घर आइपुग्ने गरेको स्थानीय बताउछन् । यसपाली अधिकांश गाउलेहरू अष्टमीसम्म गाउ पुग्ने गरी फर्किरहेका छन् ।

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट करिब ८० किमि टाढाको घाटगाउँमा अछाम र बाजुराबाट बसाइँ सरी आएकाहरूको बाहुल्यता छ । झण्डै ४० वर्षदेखि स्थानीयले नदी किनारका फाँटहरू मा खेतीपाती गर्दै आएका छन् । तर अधिकांशको आफ्नै नाममा लालपुर्जा छैन । लगाएको अन्नबाली आसपासका जंगलबाट आउने बँदेललगायत वन्यजन्तुले सखाप पार्ने गरेको ज्येष्ठ नागरिक कृष्णबहादुर विकले बताए । ‘जंगली जनावरबाट बचे मात्र अन्न खाने हो,’ उनले भने, ‘कालापार जानेहरूले पैसा नपठाए कहिलेकाँही भोकभोकै बस्नुपर्ने बाध्यता छ ।’

विकासका नाममा गाउँमा बिजुलीका पोल गाडिएको शिक्षक धमलाले बताए । ‘तर बिजुली कुनै घरमा पनि बल्दैन,’ उनले भने,‘नदी किनार भए पनि खानेपानीको चरम समस्या छ ।’ नजिकै पानीको मुहान नहुँदा स्थानीयले नदीकै धमिलो पानी पिउनुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन २४, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?