विद्यार्थीलाई २० रुपैयाँको दिवा खाजा

राजबहादुर शाही

मुगु — जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दिवा खाजाको सट्टा दैनिक २० रुपैयाँ दिन थालिएको छ । बालबालिकाको पठनपाठन नियमित बनाउन सरकारले दिवा खाजाको व्यवस्था गरेको हो । उक्त रकमबाट विद्यालयहरूले स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न खरिद गरी विभिन्न परिकार बनाइ खुवाउने गरेका छन् । तर, २० रुपैयाँले बालबालिकाका लागि खाजा बनाउन समस्या भएको शिक्षक र अभिभावकको गुनासो छ ।

‘सरकारले एक विद्यार्थीका नाममा २० रुपैयाँ पठाइदिन्छ,’ नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर मल्लले भने, ‘तर त्यसले पुर्‍याउन मुस्किल छ ।’ स्थानीय उत्पादनको भाउ पनि बढ्दै गएकाले विद्यार्थीलाई दिवा खाजा पुर्‍याउन समस्या भएको उनले गुनासो गरे ।

दिवा खाजाका लागि सरकारले हिमाली जिल्लाका विद्यार्थीलाई ५० रुपैयाँ हुनुपर्ने स्थानीय अभिभावक घनश्याम मल्लले बताए । ‘पहिले सरकारले आफै खाद्यान्न पठाउने गरेकाले दिवा खाजा पुग्थ्यो,’ उनले भने, ‘महँगीको मारले अहिले सबै बालबालिकाले पेटभरि खाजा खानै पाउँदैनन् ।’ उनले विद्यालयमा खाजा पाइने भएपछि घरबाट खाजा पठाउन छोडे पनि बालबालिकाहरू भोकै घर आउने गरेको बताए ।

सरकारले कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई खाजावापतको रकम दिने गरेको छ । उक्त रकम स्थानीय तहमार्फत निकासा हुन्छ । स्थानीय स्तरमा उत्पादन खाद्यवस्तु खरिद गरी खाजा खुवाउन समस्या भएपछि केही विद्यालयले चाउचाउ, चिउरा र बिस्कुट खरिद गरी विद्यार्थीलाई वितरण गरेका छन् । ९० ग्राम सुजी, १० ग्राम चिनी र १० ग्राम घीउ मिसाएर विद्यार्थीलाई खुवाउनुपर्ने नियम रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । छायानाथरारा नगरपालिकाको मुर्मास्थित नेपाल राष्ट्रिय निमाविले दिवा खाजावापतको रकम शिक्षकलाई तलब दिने गरेको छ ।

नाम मात्रको दिवाखाजा हुँदा विद्यार्थीलाई सामुदायिक विद्यालयमा आकर्षित गर्न नसकिएको सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्र कार्कीले बताए । ‘अहिलेको महँगीमा २० रुपैयाँले के पुग्छ ?,’ उनले भने, ‘सरकारले नै खाद्यान्नको व्यवस्था गरे खाजा खुवाउन सहज हुन्थ्यो ।’ शिक्षक अभावले दिवाखाजाको रकम बाट शिक्षक नियुक्ति गर्नु परेको शिक्षकको भनाई छ । २०६० देखि जिल्लामा लागु भएको दिवाखाजा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । एक बर्षमा सम्पूर्ण बिदाको दिन कटाएर २ सय दिन दिवाखाजा खुवाईने गरिएको छ ।

दिवा खाजा कार्यक्रमले बालबालिकालाई स्कुल आउन उत्साहित बनाए पनि रकम न्यून भएको जिल्ला शिक्षा तथा समन्वय अधिकारी सूर्यबहादुर खत्रीले बताए । ‘विद्यालयमा कम विद्यार्थी भए त ठिकै हो, बढी भए २० रुपैयाँ अपुग हुन्छ,’ उनले भने, ‘हामीले यसबारे माथिल्ला निकायहरूको ध्यानाकर्षण गराएका छौं ।’ उनका अनुसार गत आवमा जिल्लाभरिका १० हजार ६ सय बालबालिकालाई दिवा खाजाको लागि ५ करोड १३ लाख रुपैयाँ निकासा गरिएको थियो ।

प्रकाशित : आश्विन २२, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?