बीउ उत्पादन घट्यो

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका– ४ चापास्थित तरकारी बीउ उत्पादन केन्द्रमा यो वर्ष बीउ उत्पादन घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा मूल बीउतर्फ १ हजार १ सय २४ किलो बीउ उत्पादन भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा ८ सय ८० किलो मात्रै बीउ उत्पादन भएको छ । उन्नततर्फ पनि अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षको उत्पादन घटेको हो ।

बीउ उत्पादन घट्यो

गत वर्ष ७ सय ३८ किलो उन्नत बीउ भएकोमा गत वर्ष ५ सय ३० किलो मात्रै उन्नत बीउ उत्पादन भएको छ । पानी नपुगेका कारण बीउ उत्पादन घट्दै गएको केन्द्र प्रमुख किशोरमान श्रेष्ठले बताए । ‘गत सिजनमा पानी नै परेन,’ उनले भने, ‘जसका कारण अपेक्षित उत्पादन भएन ।’ आकाशबाट पनि पानी नपरेको र मुहान पनि सुकेपछि त्यसको मारमा बीउ उत्पादन परेको उनको भनाइ छ ।

केन्द्र र आसपासका किसानले आलोपालो गरेर गरिएको सिँचाइका कारण सबै भूभागमा सिञ्चित हुन नसकेको उनले जानकारी दिए । समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्रलाई सरकारले यो वर्षदेखि तरकारी बीउ उत्पादन केन्द्रमा रूपान्तरण गरिएको छ । गह्रा सुधार, नहर सुधार र अरु हेर्दा ससाना देखिने तर महत्त्वपूर्ण मानिने काममा बजेट नहुँदा बीउ उत्पादन बढाउन नसकिएको श्रेष्ठले बताए । केही वर्ष अघिसम्म केन्द्रको बीउ देशका विभिन्न भाग र बंगलादेशसम्म पुग्थ्यो ।

‘मिनुअर्ली’ मुलाको बीउ झन्डै ५ वर्ष बंगलादेश गए पनि पछि बीउको गुणस्तर खस्किएको भन्दै व्यापारीले लिन नमानेपछि आसपासका जिल्लामा मात्र बिक्री भइरहेको छ । पछिल्लो समय रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोटलगायतका जिल्लामा मात्रै केन्द्रको बीउ जाने गरेको उनले जानकारी दिए । ‘कुनै तरकारीको बीउ त जिल्लाका लागि पनि पर्याप्त उत्पादन हुँदैन,’ उनले भने, ‘बीउ उत्पादन बढाउन उन्नत प्रविधिको प्रयोगमा जोड दिइएको छ ।’

केन्द्रमा मुला, प्याज, रायो, सिमी, काउली, केराउ, सलगम, काँक्रो, गाँजरलगायतका तरकारीको मूल र उन्नत बीउ उत्पादन हुन्छ ।

प्रकाशित : आश्विन २१, २०७८ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?