१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छोरी खाताबारे अभिभावक अनभिज्ञ

छोरीको खातामा प्रदेश सरकारले सुरूमै १ हजार बचत गरिदिन्छ
चाँदनी कठायत

वीरेन्द्रनगर — मुगुको छायानाथरारा नगरपालिकाकी सुकमाया विकले गत वर्ष साउन ४ गते छोरीलाई जन्म दिइन् । छोरीभन्दा अगाडि पनि उनका ४ सन्तान छन् । घर खर्च मुस्किलले चल्ने उनलाई ‘छोरीका लागि बैंक खाताको कार्यक्रम’ बारे केही जानकारी छैन । ‘थाहा भएको भए मेरो छोरीको पनि खाता खोलिदिन्थे,’ उनले भनिन्, ‘पछि छोरी ठूली भएपछि काम लाग्थ्यो ।’ 

हुम्लाको खार्पुनाथ गाउँपालिकाका छविलाल वुढा पनि यसबारे अनभिज्ञ छन् । कर्णाली प्रदेश सरकारले ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रम सुरु गरेयता उनको परिवारभित्र ३ छोरीको जन्म भएको छ । तर छविलाललाई सरकारले छोरीका लागि यस्तो कार्यक्रम ल्याएको छ भन्नेबारे थाहा छैन । ‘अब यसबारेमा बुझेर छोरी र भतिजीका लागि बैंकमा खाता खोल्छु,’ उनले भने ।

कर्णाली प्रदेश सरकारले लागू गरेको ‘छोरी बैंक खाता’ कार्यक्रमबारे धेरै अभिभावक अझै पनि अनभिज्ञ छन् । प्रदेश सरकारले बालविवाह न्यूनीकरण गर्न र छोरीको सुनौलो भविष्यका लागि भन्दै ०७६/७७ देखि कार्यक्रम सुरु गरेको हो । यसबारेमा अभिभावकलाई जानकारी गराउन स्थानीय तहले नै महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने सामाजिक विकास मन्त्रालयकी अधिकृत देवी सुवेदीले बताइन् । उनका अनुसार हरेक स्थानीय तहमा कार्यविधि बनाइ पठाइएको छ । छोरीको खातामा प्रदेश सरकारले सुरुमै १ हजार बचत गरिदिन्छ । सामाजिक विकास मन्त्रालयका अनुसार खातामा सरकारले हरेक महिना ५ सयका दरले छोरीको उमेर २० वर्ष नपुगेसम्म बचत गरिदिनेछ । प्रदेश सरकारले उक्त कार्यक्रम प्रदेशका १० वटै जिल्लामा लागू गरेको छ । तर खातावाला छोरीले २० वर्ष नपुग्दै विवाह गरे, माध्यमिक तहको अध्ययन पूरा नगरे र बीचमै पढाइ छाडे रकम नपाउने कार्यविधि बनाइएको छ ।

तर खातावाला छोरीको मृत्यु भए, गम्भीर प्रकृतिको अपांगता भए, अभिभावकको मृत्यु भई आर्थिक कठिनाइले गर्दा पढाइलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा भने तोकिएको समयअघि नै रकम निकाल्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

१३ हजार छोरीको खाता

कर्णाली प्रदेश सरकारले हालसम्म १३ हजार छोरीको बैंकमा खाता खोलिदिएको जनाएको छ । आर्थिक वर्ष ०७६/७७ साउनदेखि १३ हजार ८ सय १४ छोरीको बैंकमा खाता खोलिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ०७६ साउनयता जन्मिएका छोरीहरूको खाता खोलिएको हो ।

प्रदेश सरकारले ०७६/७७ मा ७ हजार २ सय ९९ र आर्थिक वर्ष ७७/७८ मा भने ६ हजार २ सय २८ छोरीको खाता खोलिदिएको मन्त्रालयकी अधिकृत सुवेदीले बताइन् । उनका अनुसार अझै पनि साविकको कर्णालीका केही जिल्लाको विवरण आउन बाँकी छ । गत वर्ष कर्णालीका ७९ स्थानीय तहमध्ये १७ स्थानीय तहको विवरण प्राप्त भएको छैन । ९ स्थानीय तहमा काम हुन सकेको छैन । हुम्लाको सिमकोट गाउँपालिकाबाहेक अन्य ६ वटै गाउँपालिका, सुर्खेतको भेरीगंगा नगरपालिका, जुम्लाको हिमा गाउँपालिका र मुगुको छायानाथरारा नगरपालिकामा काम हुन नसकेको मन्त्रालयले जनाएको छ ।

छोरी बैंक खाता कार्यक्रम सञ्चालन कार्यविधिअनुसार बैंक खाताका लागि बालिकाका अभिभावकले जन्मदर्ताको प्रतिलिपिसहित आफू बसिरहेको स्थानीय तहमा ४५ दिनभित्र निवेदन दिनुपर्ने हुन्छ । ‘यो सुविधा एक दम्पतीबाट जन्मिएका बढीमा २ छोरीको हकमा मात्र उपलब्ध हुनेछ,’ सुवेदीले भनिन्, ‘संरक्षकको जिम्मामा रहेका छोरीको हकमा भने संख्याको सीमा तोकिएको छैन ।’

‘छोरी बैंक खाता’ कार्यक्रमका लागि आव ०७६/७७ मा ३ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये २ करोड ६७ लाख ९७ हजार ९ सय रुपैयाँ खर्च भएको छ । गत वर्ष छोरीहरूको खाता खोल्न प्रदेश सरकारले ५ करोड ३ लाख ८३ हजार ७ सय रुपैयाँ खर्च गरेको अधिकृत सुवेदीले जानकारी दिइन् ।

प्रकाशित : आश्विन २१, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?