२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

२३ सय छोरीको बैंक खाता

हरेक छोरीको खातामा पहिलो वर्ष ६ हजार ५ सय र त्यसपछिका वर्ष ६ हजारका दरले रकम जम्मा हुन्छ । यो रकम छोरीहरु २० वर्ष नपुगी निकाल्न पाइँदैन ।
हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–८ की डेढ वर्षीया आरती बुढाथोकीको बैंक खातामा हरेक महिना ५ सय रुपैयाँ जम्मा भइरहेको छ । २०७७ जेठ २७ गते जन्मेकी बुढाथोकीको नाममा नेपाल बैंक लिमिटेडमा एक वर्षअघि बैंक खाता खोलिएको हो । सानीभेरी गाउँपालिका–१० की डेढ वर्षीया सरस्वती खड्काको पनि सिम्लीस्थित सनराइज बैंकमा आफ्नै खाता छ ।

२३ सय छोरीको बैंक खाता

सुरुमा एक हजार रुपैयाँमा खाता खोलेका उनीहरूका नाममा प्रदेश सरकारमार्फत स्थानीय तहले हरेक महिना ५ सय रुपैयाँ जम्मा गरिरहेको छ । जिल्लाका ६ वटै स्थानीय तहमा २ हजार ३ सय ७८ छोरीको खाता खोलिएको छ ।

उनीहरू सबै ३ वर्षमुनिका हुन् । अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरेको हो । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ नारासहित कर्णाली प्रदेश सरकारले यो अभियान सुरु गरेको हो । सम्बन्धित स्थानीय तहको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले यसको समन्वय र सहजीकरण गरिरहेको छ । २०७६ साउनपछि जन्मेका सबै छोरीको बैंक खाता खोलिदिएको त्रिवेणी गाउँपालिकास्थित महिला तथा बालबालिका शाखाकी प्रमुख सिर्जना ओलीले बताइन् । उनका अनुसार खाता खोलिदिने र पहिलो महिना १ हजार र त्यसपछिका महिनामा ५ सयका दरले नगद जम्मा भइरहेको छ । उनले पछिल्लो समय यो कार्यक्रम प्रभावकारी बन्दै गएको जानकारी दिइन् । छोरी जन्मेपछि जति सक्यो चाँडै खाता खोल्नेहरूको संख्या बढ्दै गएको चौरजहारी नगरपालिकाको महिला तथा बालबालिका शाखाकी सहायक महिला विकास निरीक्षक मेलिना रोकायले बताइन् ।

मुसीकोटमा ४ सय ८, आठबीसकोटमा ३ सय ८५ र चौरजहारी नगरपालिकामा ३ सय २२ छोरीको बैंक खाता खुलेर नियमित रकम जाम्मा भइरहेको छ । त्यस्तै, त्रिवेणीमा ४ सय ४२, सानीभेरीमा ४ सय ५ र बाँफिकोट गाउँपालिकामा ३ सय १६ जना छोरीको खाता खोलिएको छ ।

छोरीको पढाइलाई निरन्ता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम लागू भएको बाँफिकोट गाउँपालिका उपाध्यक्ष मनकला पुनले बताइन् । उनका अनुसार हरेक छोरीको खातामा पहिलो वर्ष ६ हजार ५ सय र त्यसपछिका वर्ष ६ हजारका दरले रकम जम्मा हुन्छ । यो रकम छोरीहरू २० वर्ष नपुगी निकाल्न पाइँदैन । ‘छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले अभियान चलिरहेको छ,’ उनले भनिन्, ‘छोरीहरूले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्यका लागि पनि कार्यक्रम प्रभावकारी देखिएको छ ।’

छोरीका अभिभावकको मृत्यु भएमा वा आफैं कुनै कारणले अशक्त भएमा खाताको रकम निकाल्न पाउने गरी कार्यविधि बनेको छ । यो कार्यक्रमबाट अभिभावक पनि उत्साहित छन् । आरतीकी आमा सिर्जना राना बुढाथोकीले सरकारले ल्याएको छोरी खाताले छोरीको सुरक्षामा सहयोग पुग्ने विश्वास पलाएको बताइन् ।

प्रकाशित : आश्विन १८, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?