३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पुरानो निर्णय लागू नगरी नयाँ भाडा

हरि गौतम

रुकुम पश्चिम — जिल्ला यातायात व्यवस्थापन समितिले सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ । पुरानो भाडादर कार्यान्वयन नहुँदै समितिले नयाँ भाडादर कायम गरेको हो ।

पुरानो निर्णय लागू नगरी नयाँ भाडा

२०७७ माघ ११ गते समितिले जिल्लाभित्र र बाहिर सञ्चालन हुने भाडादर कायम गरेको थियो । यातायात व्यवसायी त्यसको विरुद्धमा उत्रिएपछि स्थानीय प्रशासनले उक्त निर्णय कार्यान्वयन गर्न सकेको थिएन । २०७८ असार २९ गते यातायात व्यवस्था विभागले परिमार्जन गरेको भाडाअनुसार जिल्लाका आन्तरिक रुटको समेत भाडा समायोजन गरिएको छ । इन्धनमा भएको मूल्य वृद्धि र सडक स्तरोन्नतिको आधारमा भाडा समायोजन गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

जिल्लामा रहेका सडकलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गर्दै भाडा समायोजन गरिएको छ । ‘क’ वर्गको सडकमा सञ्चालन हुने बसको लागि प्रतिकिलोमिटर ४ रुपैयाँ ५० पैसा र जिपको लागि ५ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको गैह्रेले जानकारी दिए ।

उनका अनुसार ‘ख’ वर्गका सडकमा चल्ने बसका लागि प्रतिकिमि ७ रुपैयाँ ५० पैसा र जिपको लागि ८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । उनले ‘ग’ वर्गका सडकमा जिपको लागि प्रतिकिमि ९ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको समितिले जनाएको छ । ‘ग’ वर्गका सडकमा बसको लागि रुटपरमिट दिइएको छैन ।

माघ ११ गतेकै भाडादर कार्यान्वयन नभइरहेको अवस्थामा नयाँ भाडा कायम नहुने भन्दै यात्रुले बिरोध जनाएका छन् । भाडा समायोजन तत्काल कार्यान्वयन हुनुपर्ने स्थानीय युवा अनिल विसीले बताए । ‘हरेक पटक भाडा समायोजनको निर्णय आउँछ, तर कार्यान्वयनमा हुदैन,’ उनले भने, ‘जसका कारण यात्रुहरू लामो समयदेखि ठगिएका छन् ।’

समितिले समायोजन गरेको नयाँ भाडादर देखिने गरी गाडीमा राख्न र सबै यात्रुलाई टिकट दिन निर्देशन दिएको प्रजिअ गैह्रेले बताए । ‘बिना टिकट यात्रा गराइएको र बढी भाडा लिएको पाइए कारवाही गरिनेछ,’ उनले भने, ‘चाडपर्वमा यात्रुको सहयोगका लागि झुल्नेटा र मुसीकोटमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।’

प्रकाशित : आश्विन १७, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?