३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रारामा चहलपहल

पर्यटक बढ्न थालेपछि होटल, डुंगा सञ्चालक र घोडा व्यवसायी उत्साही
राजबहादुर शाही

मुगु — कोरोनाका कारण लामो समयदेखि सुनसान बनेको रारामा पर्यटकीय चहलपहल बढ्न थालेको छ । वर्षा सकिएर मौसम खुलेसँगै रारा घुम्ने सिजन सुरु भएको हो । पोखरा, काठमाडौ, नेपालगन्ज, बिराटनगर, चितवनलगायत ठाउँबाट रारा आउनेहरू बढेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । 

रारामा चहलपहल

सहरी क्षेत्रबाट दैनिक ३० जनासम्म पर्यटक रारा आइरहेका छन् । दैनिक ५० जनासम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन् । कर्णाली राजमार्ग हुँदै रारा आउने पर्यटक पनि बढ्न थालेको निकुञ्जका संरक्षण अधिकृत वद्रिविनोद दाहालले बताए । उनका अनुसार जहाजबाट आउने पर्यटकको संख्या बढेपछि निजी एयरलाइन्सले दैनिक ५ वटासम्म उडान भर्न थालेका छन् ।

लामो समयपछि फिनल्याडका नागरिकको टोली पनि रारा आएको निकुञ्जले जनाएको छ । पर्यटकको चहलपहल बढ्न थालेपछि कोरोना महामारीका कारण कारोबार शून्य भएका होटेल, कटेज र होमस्टे पनि खुल्न थालेका छन् । झण्डै ७ महिनापछि पर्यटकले कोठा बुक गर्न थालेको माझघट्ट होमस्टेका सञ्चालक रत्नसिंह रोकायाले बताए । ‘पर्यटक बढेपछि खानपिन, सरसफाइ र अन्य व्यवस्थापनको तयारी थालिएको छ,’ उनले भने, ‘अहिले दैनिक कोठाहरू बुक हुन थालेका छन् ।’ उनले पर्यटक बढ्न थालेपछि होटेल व्यवसायी, डुंगा सञ्चालक र घोडा व्यवसायी उत्साही बनेको बताए ।

लामो समय कामविहीन बनेका घोडाले बल्ल काम पाउन थालेको व्यवसायी गोर्ख रोकायाले बताए । उनले दैनिक १ हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन् । आजभोलि झण्डै १५ पर्यटकलाई आसपासका गाउँमा घुमाइरहेको जानकारी दिए । पछिल्लो समय मुर्माटप पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ । रारा आएका पर्यटक घोडा चढेर मुर्माटप जान्छन् भने त्यहाँबाट सैपाल हिमाल, छायानाथ तीर्थस्थलसहितको अवलोकन गरेर फर्किन्छन् । पर्यटकको रोजाइमा मुर्माटप परेपछि पर्यटकको सुविधाका लागि रारा इको रिसोर्ट निर्माण गर्न थालिएको छ । रोकायाका अनुसार रारा आएका झण्डै ९० प्रतिशत पर्यटक मुर्माटप पुगेर मात्र फर्किन्छन् ।

पर्यटकलाई स्याउ कोसेली

रारा घुम्न आउने पर्यटकको लागि स्याउ कोसेली बनेको छ । रारा घुम्न आएका सबै पर्यटक स्याउ कोसेली बोकेर सहरतिर फर्किने गरेका हुन् । पर्यटकहरू स्याउ किन्न मुर्मा, ताल्च, झयारीलगायत गाउँमा पुग्ने गरेका छन् । पर्यटकले आफै रुखमा चढेर स्याउ टिप्ने र लैजाने गरेको ताल्चाका बाँचे महतराले बताए । उनका अनुसार प्रतिकिलो ४० रुपैयाँमा गाउँमा स्याउ बिक्री भइरहेको छ ।

प्रकाशित : आश्विन १५, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?