गाउँ पसे दलहरू

तुलाराम पाण्डे

कालीकोट — कोरोना महामारीका कारण सुस्ताएका विभिन्न पार्टीका गतिविधिहरू गाउँ केन्द्रित बन्न थालेका छन् । जिल्लाका सबैजसो दलले सदस्यता वितरण, भेला, प्रशिक्षण, आमसभालगायत कार्यक्रमलाई तीव्रता दिएका हुन् । 

गाउँ पसे दलहरू

कांग्रेस महाधिवेशनको तयारीका लागि गाउँ पसेको छ भने एमालेले विधान अधिवेशनको तयारीलाई ग्रामीण क्षेत्रमा पुर्‍याएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेत्रविक्रम चन्द समूहले विभिन्न गतिविधिलाई सदरमुकाम बाहिर केन्द्रित गरेका छन् ।

एमाले र एकीकृत समाजवादीका नेताहरू कार्यकर्तालाई आफ्नो पार्टीमा ल्याउन क्रियाशील बनिरहेका छन् । अन्य दलको तुलनामा उनीहरूको सक्रियता बढी छ । कार्यकर्ताहरू गलत प्रचारको पछि नलागून् भनेर गाउँमा बढी मिहिनेत गर्नुपरेको एमाले अध्यक्ष नगिन्द्र शाहीले बताए । ‘पार्टी विभाजनको असर समुदायसम्म त परेको छैन,’ उनले भने, ‘केही अवसरवादी नेताहरू पाखा लागेका मात्र हुन् ।’ कालीकोटमा उनीसहित उपाध्यक्ष रमेशकुमार शाही एमालेमै छन् ।

साविक एमालेका सचिव चित्रसिंह गाउँले, उपसचिव कमलबहादुर शाही, पूर्वसांसद तुलाराज विष्ट, नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट, खाडाचक्र नगरपालिका उपप्रमुख विजया विष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागार्इं र उपाध्यक्ष पम्फाकुमारी शाहीलगायत नेताले एकीकृत समाजवादी रोजेका छन् । आगामी निर्वाचनमा एमालेका उम्मेदवारको जमानत जफत हुने गरी आफूहरू पार्टी विस्तारमा लागेको एकीकृत समाजवादीका अध्यक्ष चित्रसिंह गाउँलेले बताए ।

कालीकोटको खाडाचक्रमा माओवादी केन्द्रद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अन्य दलबाट आएकालाई पार्टी प्रवेश गराउँदै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्बिर : तलाराम/कान्तिपुर

कोरोनामा राजनीतिक गतिविधि शून्यजस्तै भएको कालीकोटमा भदौ लागेपछि सबै दलले गतिविधि बढाएको जिल्ला प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले बताए । उनका अनुसार दिनहुँजसो गाउँगाउँमा विभिन्न पार्टीका आमसभा, भेला, भेटघाटलगायतका गतिविधि भइरहेका छन् । उनले दलका कार्यकर्ताबीच हालसम्म कुनै अप्रिय घटना नभए पनि चुनाव नजिकिँदै जाँदा हिंसाका घटना हुन सक्नेमा प्रहरी सचेत रहेको जानकारी दिए ।

महाधिवेशन नजिकिएसँगै कांग्रेसले पनि वडा, पालिका र निर्वाचन क्षेत्रको भेलालाई तीव्र बनाएको नेता भूपेन्द्रजंग शाहीले बताए । उनका अनुसार सबै वडा र ९ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको छ । ‘केन्द्रमा यो पक्ष र त्यो पक्ष भए पनि जिल्लाका सबै स्थानीय तहमा सहमतिको आधारमा नेतृत्व चयन भएको छ,’ उनले भने, ‘यसले आगामी चुनाव कांग्रेसले जित्ने सन्देश दिएको छ ।’

नेत्रविक्रम चन्द्र समूह, जनमोर्चा र नेमकिपाले एमसीसीविरुद्ध गाउँगाउँमा खबरदारी गर्दै आएको जनाएका छन् । माओवादी केन्द्रले पनि सबै स्थानीय तहमा भेला, प्रशिक्षण तथा जनवर्गीय संगठनको गठनलाई तीव्रता दिइएको जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा कालीकोटका इन्चार्ज महेन्द्रवहादुर शाही महिनैपिच्छे कालीकोट आएर प्रदेश सरकारका योजनासहित पार्टी गतिविधिमा संलग्न हुने गरेका छन् । उनी झन्डै दुई साता विभिन्न गाउँमा पार्टीका कार्यक्रममा सहभागी भएर सोमबार मान्म फर्किए ।

एकै दिन ३ दलका कार्यक्रम

सदरमुकाम मान्ममा मंगलबार ३ दलका ठूला कार्यक्रम सञ्चालन भए । कांग्रेस र राप्रपाले त पञ्चेबाजा, हुड्केसहित पालैपालो बजार परिक्रमा गरेर सभा गरे भने माओवादी केन्द्रले खाडाचक्र नगरपालिकास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्‍यो । कांग्रेसको ‘क’ प्रदेशस्तरीय अधिवेशन मान्मको खुलामञ्चमा र राप्रपाको एकता भेला जिल्ला समन्वय समितिमा थियो । माओवादीले एक होटलमा प्रशिक्षण कार्यक्रम चलाएको थियो । त्यस्तै कांग्रेसले ‘ख’ प्रदेश अधिवेशन मंगलबार नै रास्कोटमा सुरु गरेको छ ।

प्रकाशित : आश्विन १४, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?