कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अटोमा मनपरी भाडा

निर्देशिकाअनुसार अटोहरुको रूट र भाडा तोकिए पनि चालकहरुले पालना गरेका छैनन्
ज्योति कटुवाल

सुर्खेत — पतेनीकी ५० वर्षीया मैनकला थापा आइतबार बिहान कालागाउँस्थित प्रदेश अस्पतालमा जान अटो रिक्सामा चढिन् । सुरुमा भाडा सोध्दा ‘पछि मिलाउँला नि’ भनेका अटो चालकले उनीसँग ३ सय ५० रुपैयाँ मागे । जबकि पतेनीदेखि कालागाउँसम्मको दूरी झन्डै २ किलोमिटर मात्र छ ।

अटोमा मनपरी भाडा

‘रिजर्वमा आएको भन्दै जबरजस्त भाडा लिएर अटो हुइँक्याए,’ उनले भनिन्, ‘पछि प्रहरीलाई खबर गर्दा अटो नम्बर पत्ता लगाउनुस् भने भाडाबारे वास्तै गरेनन् ।’

वीरेन्द्रनगर उपत्यकाभित्र अन्य सार्वजनिक सवारी नचल्दा उनीजस्तै यात्रुहरू दैनिक अटो चालकबाट ठगिने गरेका छन् । सुर्खेत–दैलेख खण्डमा चल्ने सवारी साधनले ३ सय र नेपालजगन्ज–सुर्खेत सञ्चालन हुने गाडीले २ सय ५० रुपैयाँ भाडा लिने गरे पनि उपत्यकाभित्रै अटो व्यवसायीले प्रतियात्रु ५ सय रुपैयाँसम्म भाडा असुलिरहेका छन् ।

नेपालगन्जबाट काँक्रेविहार घुम्न आएका विपिन बीसीले महँगो भाडा हुँदा अटो चढ्नै डर लागेको बताए । सुर्खेत बसपार्कबाट काँक्रेविहारसम्म अटोमा जाँदा ५ सय ५० रुपैयाँ तिर्नुपरेको उनको गुनासो छ । ‘नेपालगन्जबाट सुर्खेत आउँदा दुई जनालाई पुग्ने भाडा यहाँ एक्लै तिर्नुपर्‍यो,’ उनले भने, ‘यात्रुको सुविधाका लागि अटो रिक्सा भित्रिनु राम्रो हो, तर यहाँ अटो रिक्साको दादागिरी रहेछ ।’ उनका अनुसार नेपालगन्जमा प्रतिचोक १० रुपैयाँ भाडा लिने गरेकाले अधिकांश यात्रुले अटो चढ्ने गरेका छन् ।

अटो रिक्साको भाडादरमा एकरूपता नहुँदा यात्रुहरू समस्यामा परिरहेको वीरेन्द्रनगर–१ बाँगेसिमलका ध्रुव गिरीले बताए । उनका अनुसार मंगलगढी चोकदेखि कालागाउँ, गणेशचोक, इत्राम, लाटीकोइली, तातापानी, देउतीबज्यै मन्दिर र काँक्रेविहार सञ्चालन हुने अटोले मनपरी भाडा असुल्ने गरेका छन् । ‘अटो चालकले भने झगडा गरेरै भए पनि यात्रुबाट दुई/तीन गुणा भाडा असुल गरिरहेकै छन्,’ उनले भने, ‘तर नियमनकारी निकायले वास्तै गरेका छैनन् ।’ उनले अधिकांश चालकहरूसँग चालक अनुमति पत्र नभए पनि ट्राफिक प्रहरीले कडाइ नगरेको बताए ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएकाले भाडा महँगो भएको अटो चालकको दाबी छ । ‘इन्धनको भाउ महिनैपिच्छे बढेको बढ्यै छ, अरु गाडीभन्दा यसमा मर्मत खर्च पनि बढी हुन्छ,’ अटो चालक श्याम विकले भने, ‘तर नगरपालिकाले तोकेकै भाडामा अटो चलाइरहेका छौं ।’

वीरेन्द्रनगर नगरपालिकामा ६ सय ४२ अटोरिक्सा दर्ता भएका छन् । तर दैनिक १५ सयभन्दा बढी अटो सञ्चालन भइरहेको जिल्ला ट्राफिक कार्यालयको तथ्यांक छ । सवारी साधन बढ्दै जाँदा अटो दुर्घटनाको दर पनि बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ९१ अटो दुर्घटनामा परिसकेका छन् । जिल्ला ट्राफिक प्रमुख उपेन्द्र आचार्यले तीव्र गतिमा अटो चलाउँदा दुर्घटना बढिरहेको बताए । उनका अनुसार दर्ताबिनाका अटो नियन्त्रणमा लिइएको छ भने ट्राफिक नियम पालना नगर्नेमाथि कारवाही भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले अटो तथा ई–रिक्सा सञ्चालन निर्देशिका–२०७५ जारी गरेको छ । निर्देशिकाअनुसार अटोहरूको रुट र भाडा तोकिए पनि चालकहरूले त्यसको पालना गरेका छैनन् । नगरपालिकाले उपत्यकामा अटो रिक्साको भाडा ६० रुपैयाँसम्म तोकेको वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले बताए । बढी भाडा असुलेको गुनासो आएपछि ट्राफिक प्रहरीलाई नियमन गर्न आग्रह गरिएको उनले जानकारी दिए । ‘पर्याप्त जनशक्ति नहुँदा हामी आफैंले नियमन गर्न समस्या छ,’ उनले भने, ‘तर पनि बेला बेलामा अनुगमनको काम गरिरहेका छौं ।’

प्रकाशित : आश्विन १३, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?