बालबालिकाले अस्पताल भरिभराउ

बालबालिकामा ज्वरो, निमोनिया, रूघाखोकी
बेड अभावले भुइँमा उपचार, जटिल समस्या देखिएकालाई जुम्ला र सुर्खेत रेफर
राजबहादुर शाही

मुगु — जिल्ला अस्पताल बिरामी बालबालिकाले भरिभराउ भएको छ । बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकीलगायत समस्या देखिएको छ । बिरामी बालबालिकाले अस्पताल भरिभराउ भएपछि बेडको अभाव भएको छ ।

बालबालिकाले अस्पताल भरिभराउ

कसैलाई भुइँमै राखेर उपचार गर्न थालिएको जिल्ला अस्पतालका डा. अमिरराज गिरीले बताए । उनका अनुसार अस्पतालमा भर्ना गरिएका झन्डै ७५ प्रतिशत बालबालिकामा निमोनिया र २५ प्रतिशत बालबालिकामा रुघाखोकी र ज्वरोको लक्षण देखिएको छ ।

सबैभन्दा बढी १ देखि ३ वर्षसम्मका बालबालिका प्रभावित भएको उनले जानकारी दिए । ‘बिरामी बालबालिका थपिँदै गएपछि औषधिको अभाव भएको छ,’ उनले भने, ‘सुईमार्फत दिइने सिटामोल नहुँदा उपचारमा समस्या भयो ।’ छोरालाई निमोनिया भएपछि ५ दिनदेखि अस्पतालमा भर्ना गरिएको रोवागाउँकी सुन्दरी सार्कीले बताइन् । उनका अनुसार गाउँभरिका बालबालिका पनि ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीले थलिएका छन् । ‘गाउँको स्वास्थ्यचौकीमा औषधि पनि छैन, स्वास्थ्यकर्मी पनि भेटिँदैनन्,’ उनले भनिन्, ‘सामान्य अवस्थाका बालबालिका घरेलु जडिबुटीको भरमा छन्, जटिल अवस्थाका बिरामीलाई यहाँ ल्याउनुको विकल्पै छैन ।’

केही बालबालिकामा जटिल स्वास्थ्य समस्या देखिएपछि जुम्ला र सुर्खेत रेफर गरिएको छ । एक साताको अवधिमा ५ बालबालिकालाई जिल्ला बाहिर रेफर गरिएको अस्पतालकी अनमी सरिता बुढाले बताइन् । उनका अनुसार अस्पतालमा झन्डै ८० बालबालिका भर्ना गरिएका छन् । भदौ तेस्रो सातादेखि बालबालिकामा निमोनिया, ज्वरो रुघाखोकीलगायत समस्या देखिएको उनले जानकारी दिइन् । ‘मौसम परिर्वतनसँगै बालबालिका धमाधम बिरामी परेका छन्,’ उनले भनिन्, ‘झरीसँगै चिसो बढ्दा बिरामीको संख्या बढ्दै गएको छ ।’

बालरोग विशेषज्ञ नहुँदा उपचारमा समस्या भएको अस्पतालका डा. डबल मल्लले बताए । ‘बिरामीको सेवामा चौबीसैं घण्टा खटिनुपरेको छ,’ उनले भने, ‘जसोतसो म्यानेज गरिरहेका छौं ।’ अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक सिद्धार्थध्वज खाती घर बिदामा गएपछि अन्य चिकित्सक र स्वास्थ्यकर्मीलाई भ्याइनभ्याई भएको हो ।

पठनपाठन प्रभावित

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरूमा शिक्षक र विद्यार्थीहरू धमाधम बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ । सोरु गाउँपालिकास्थित विजय माध्यमिक विद्यालय कालैमा शिक्षक र विद्यार्थीहरू बिरामी परेपछि पढाइ अवरुद्ध भएको हो । शिक्षक र विद्यार्थीमा कडा ज्वरो आउने, टाउको र घाँटी दुख्ने, बान्ता हुनेलगायत लक्षण देखिएपछि विद्यालय बन्द गरिएको हो ।

बिरामी बढ्दै गएपछि पठनपाठन केही दिनका लागि रोकिएको विद्यालयका प्रधानाध्यापक वीरबहादुर बमले बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत झन्डै ३ दर्जन विद्यार्थी र ४ शिक्षक बिरामी परेका छन् । विद्यार्थीहरू बिरामी भए पनि स्थानीय स्वास्थ्यचौकीमा औषधि नपाइँदा समस्या भएको उनको गुनासो छ ।

सर्वोदय माध्यमिक विद्यालय सुकाढिकमा अध्ययनर २० भन्दा बढी विद्यार्थी बिरामी परेका छन् । विद्यार्थीहरू ५/७ दिनदेखि थला परेपछि विद्यालय केही दिनका लागि बन्द गरिएको छ । त्यस्तै सोरु गाउँपालिकास्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थी पनि धमाधम बिरामी पर्न थालेका छन् ।

अस्पताल क्षेत्र दुर्गन्धित

जिल्ला अस्पताल ठिनीमा भर्खरै नयाँ भवन बनाइए पनि सरसफाइ नहुँदा अस्पताल क्षेत्र दुर्गन्धित बनेको छ । कोरियन सरकारको सहयोगमा झन्डै २४ करोड रुपैयाँमा नयाँ भवन निर्माण गरिए पनि नियमित सरसफाइ नगर्दा दुर्गन्ध फैलिएको हो । बिरामी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने शौचालय दुर्गन्धित हुँदा त्यसको असर उपचारका लागि आउने सेवाग्राहीमा परेको छ ।

अस्पतालभित्रको शौचालय दुर्गन्धित भएपछि बिरामीहरू बाहिर गएर शौच गर्न बाध्य छन् । अस्पतालका अधिकांश कोठामा फोहर थुप्रिएको एक साता बिते पनि सरसफाइ नहुँदा झिंगा भन्किने गरेको अस्पतालमा उपचार गराइरहेका बिरामी सोरुका कमल शाहीले बताए । ‘जताततै दुर्गन्धै दुर्गन्ध छ,’ उनले भने, ‘फोहर र दुर्गन्धले स्वस्थ मानिसहरू पनि बिरामी पर्ने जोखिम देखियो ।’ अस्पतालको पूर्वतिरको सधैं खुला हुँदा पशुचौपाया सजिलै अस्पतालमा प्रवेश गर्ने थरेका छन् ।

पशुचौपाया जथाभावी पस्दा पनि फोहर बढेको निमित्त स्वास्थ्य व्यवस्थापक ज्ञानसिं बुढाले बताए । ‘पशुचौपायाले अस्पताल वरिपरि रोपिएका बोटबिरुवा र फूलहरू नष्ट पार्न थाले,’ उनले भने, ‘पशुचौपायाको दिसापिसाबले पनि अस्पताल क्षेत्रको वातावरण दुर्गन्धित बन्यो ।’ उनले तत्काल सरसफाइका लागि पहल थालिने बताए । अस्पतालमा फोहर बढ्दा बिरामीले सास्ती भोग्नुपरेको गुनासो आएपछि सरसफाइ गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले बताए । ‘बाहिरबाट हेर्दा चिटिक्कै देखिए पनि सरसफाइ नगर्दा अस्पताल क्षेत्र दुर्गन्धित बनेको छ,’ अस्पतालको अनुगमन गर्दै उनले भने, ‘अब अस्पतालमा नियमित सरसफाइ हुनेछ ।’

प्रकाशित : आश्विन ११, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?