सम्बन्धविच्छेद बढ्दै

कान्तिपुर संवाददाता

सल्यान — कुमाख गाउँपालिका–७ पैयाखोलाकी २२ वर्षीया कल्पना बोहराले पति उमेश रावतले मदिरा सेवन गरी शारीरिक र मानसिक यातना दिएको भन्दै असार २० गते जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिन् ।

सम्बन्धविच्छेद बढ्दै

अदालतले अहिले पीडित र पीडक पक्षलाई बोलाएर छलफल प्रक्रिया अघि बढाएको छ । कालीमाटी –७ घुइयाबारीकी लालमाया घर्तीले पनि पति रेवानसिं घर्तीमगरसँग लामो समयदेखि खटपट भएको भन्दै मुद्दा दर्ता गरेकी छन् । उनले दिएको मुद्दा पनि अदालतमा विचाराधीन छ ।

पछिल्नो समय कानुनले सम्बन्धविच्छेद गर्ने अधिकार पुरुषलाई पनि दिएपछि यो संख्या झन् बढेको हो । गत आर्थिक वर्षमा अदालतमा १ सय ८ थान सम्बन्धविच्छेदको मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ७४ थान फैसला भएका छन् । गत वर्षको जिम्मेवारी सरेर आएका र यो वर्ष दर्ता भएका १ सय ६३ थान मुद्दा फैसला भएको अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीले बताए । उनका अनुसार बर्सेनि झन्डै दोब्बरको संख्यामा सम्बन्धविच्छेदका मुद्दा दर्ता भइरहेका छन् । सम्बन्धविच्छेदको पहिलो कारण बालविवाह भएको ज्ञवालीले बताए । उनका अनुसार सानै उमेरमा विवाह गरेकाहरू उमेर परिपक्व भएपछि विभिन्न बहानामा सम्बन्धविच्छेद गर्न खोज्छन् । प्रविधिको विकास र घरेलु हिंसाले पनि सम्बन्धविच्छेद बढाएको अदालतले जनाएको छ ।

अदालतमा पर्ने सबै मुद्दामध्ये झन्डै ३० प्रतिशत मुद्दा सम्बन्धविच्छेदका भएको ज्ञवालीले बताए । त्यसमध्ये २२ वर्षदेखि ३० वर्ष उमेर समूहमा सम्बन्धविच्छेद गर्नेको संख्या धेरै छ । कानुन व्यवसायी विष्णु शर्माले वैदेशिक रोजगारीले पनि सम्बन्धविच्छेद बढेको बताइन् । ‘पति विदेशमा हुँदा र महिला नेपालमा बस्दा परपुरुषसँग सम्बन्ध भएर पनि सम्बन्धविच्छेद बढेको छ,’ उनले भनिन्, ‘महिला पहिलाभन्दा बढी सचेत हुँदा पनि मुद्दा बढेका हुन् ।’ इन्सेक जिल्ला प्रतिनिधि मीना बुढाथोकीले बालविवाह, वैदेशिक रोजगारी, जथाभावी सम्बन्धलगायतले सम्बन्धविच्छेद बढिरहेको बताइन् ।

प्रकाशित : आश्विन ११, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?