कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दुर्गममा घरघरै धारा

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकाका ६ सय ८० घरधुरीमा खानेपानी सुविधा पुगेको छ । एक घर, एक खानेपानी धाराअन्तर्गत गाउँपालिकाले ३ वर्षको अवधिमा ९ खानेपानी आयोजना निर्माण गरेको हो ।

दुर्गममा घरघरै धारा

२०७६ देखि हालसम्ममा ती आयोजना निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार १० नम्बर वडामा दोमिल्ला, ७ नम्बरमा राजकोट लिफ्ट, ६ नम्बर वडाको बाँठाकोट, १ नम्बरको बल्लेजुरा र २ नम्बरको मुलापानी खानेपानी आयोजना सम्पन्न भएका हुन् । त्यस्तै वडा नं ३ को तल्लो र माथिल्लो पँधेरा, ८ नम्बरमा कालाखोला, भेरीपोखरा र १० नम्बरमा सिम्तारेखोला खानेपानी योजना पनि सम्पन्न भएका छन् । गाउँपालिका, रेडक्रस सोसाइटी, आशा परियोजना र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको बजेटबाट ती योजना सम्पन्न भएका हुन् । जसमा स्थानीय बासिन्दाले समेत श्रमदान गरेको गाउँपालिकाले जनाएको छ । योजनाअन्तर्गत नै १ नम्बर वडाको दिव्यचच्छु मावि र ३ नम्बर वडाको युवा जनजागरण माविमा खानेपानी र शौचालय निर्माण गरिएको हो ।

९ योजना सम्पन्न गर्न ८ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ । जसमा गाउँपालिकाले २ करोड ४१ लाख, रेडक्रसको ३ करोड २ लाख, आशा परियोजनाको ५७ लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ३० लाख रुपैयाँ लगानी भएको छ । उपभोक्ताले २ करोड ७ लाख रुपैयाँ जुटाएका थिए । भेरीपोखरा खानेपानी निर्माण समितिकी सचिव जमुना खड्काले लामो समयदेखि पिठ्युँमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य भएको बताइन् । ‘लामो समय खानेपानीका लागि ठूलो सास्ती भोग्यौं,’ उनले भनिन्, ‘अहिले त पानी बोक्न लाग्ने समयलाई अरू काममा लगाउन पाएका छौं ।’

विगतमा त्रिवेणीका बासिन्दाले खानेपानीका लागि ठूलो सास्ती भोगे । ‘हिउँदको समयमा पानी भर्न एक घण्टा हिँडेर सिम्रतुखोला पुग्नुपर्ने बाध्यता थियो,’ स्थानीय कमला खड्काले भनिन्, ‘त्यहाँ पनि पालो नपाइएपछि घण्टौं लाइन लाग्नुपर्ने अवस्थाबाट आजित थियौं ।’ योजना बनेपछि ५ हजार ३ सय ३० जनाले खानेपानीको सुविधा पाएको रेडक्रसका कार्यक्रम संयोजक सुमन ज्ञवालीले बताए ।

पुरानो आयोजनाको पानीले नपुगेपछि साझेदारी कार्यक्रमबाट योजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताए । ‘योजना निर्माणपछि आधारभूत रूपमा नभई नहुने खानेपानीको आवश्यक्ता परिपूर्ति गरिएको छ,’ उनले भने, ‘अब स्थानीयले खोलाको दूषित पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।’ उनका अनुसार यो आर्थिक वर्षभित्र गाउँपालिकाका ८० प्रतिशत घरमा धारा पुर्‍याउने योजना छ ।

प्रकाशित : आश्विन १०, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?