अदालतभन्दा धामीको भर !- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदालतभन्दा धामीको भर !

‘पुरानो पुस्ताले देवतामा बढी विश्वास गर्छन्, नयाँ पुस्ताका व्यक्तिहरु न्यायका लागि अदालतमै आउँछन्’
तुलाराम पाण्डे

कालीकोट — चार पुस्ताअघि खाडाचक्र–४ का दानबहादुर विश्वकर्माको ४ पाथी बीउ जाने धानखेत छिमेकी नयाँ विश्वकर्माका परिवारले जबर्जस्ती जोते । पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा जबर्जस्ती कब्जा गरेर जोतेपछि दानबहादुरका जिजुबुबाले धाइडे देवताको थान (मन्दिर) मा पुकारा गर्दै देवता ढोए (लगाए) ।

त्यसयता परिवारका सदस्य धमाधम बिरामी पर्न थालेपछि नयाँले ३ वर्षअघि जरिवानाबापतको केही रकम तिरेर उक्त जग्गा दानबहादुरलाई फिर्ता गरे । ‘मेरो चार पुस्ताअघि जबर्जस्ती खाइदिएको जग्गा बिगो (बाली) सहित फिर्ता पाए,’ दानबहादुरले भने, ‘मेरा लागि त अदालतभन्दा ठूलो देवता हो ।’ केही वर्षअघि ताडीकै नरेन्द्रबहादुर शाहीले चाँदीको माहोर (सिक्का) मुखमा हालेको बेला छिरेर पेटमा अड्कियो । घरमा रुवावासी भयो । अप्रेसन गर्न भारत लैजाने तयारी गर्दैगर्दा स्थानीय धामी भाने विश्वकर्मा आएर पेटमा दाँतले टोकेर चाँदीको मोहोर निकालेर उनको ज्यान बचाए । ‘देवताले मेरो ज्यान बचाएको हो,’ ६२ वर्षीय शाहीले भने, ‘देवता थिए र त म बाँचें ।’

कानुन थाहा नपाएका कालीकोटका ग्रामीण क्षेत्रका बासिन्दा अहिले पनि अदालतभन्दा धामीझाँक्री र थान (मन्दिर) का पुजारीको विश्वास गर्छन् । न्यायका लागि अदातल पुग्न नसक्ने उनीहरू विकल्पको रुपमा देवताका थान (मन्दिर) को भर मान्दै आएको छन् । उनीहरूले प्रत्येक वर्ष देवीदेवताको धुमधाम पूजाआजा गर्छन् भने भाकल पूरा भएको विश्वासले धजा, माना र मूर्तिलगायत सामग्री चढाउँछन् ।

खाडाचक्रको चुलिमालिका, डिल्लीकोटको महाबुअ, मुग्राहाको कालिका, ताडीको मष्टोधलपुरो, पचालझरनाको पचालो, दाहाको खापरलगायतका शक्ति पीठहरूमा साउन चर्तुदशीदेखि मंसिर पूर्णिमासम्म पूजाआजा गरेर देवता मान्ने चलन छ । गत सोमबार दिउँसो ताडीस्थित मष्टोधलपुरोको माडु (मन्दिर) मा पूजाआजाकै क्रममा धामी ग्याम्जे कामीले फलामको लुवालौरी हातले दुई टुक्रा मात्र पारेनन् फलामे घण्टलाई दातले काटेर सबैलाई अचम्मित पारे ।

देवतामा विश्वास नलागे पनि फलामको मोटो लौरी हातले सजिलै भाँचेकाले दैवीयशक्तिमा विश्वास गर्न करै लागेको नेत्रविक्रम चन्द समूहका कार्यकर्ता कर्ण विश्वकर्माले बताए । झन्डै एक महिनाअघि कालीकोटको पचालझरना घर भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही गाउँपालिकाको प्रशासकीय भवन शिलान्यासका क्रममा धामीबाट बिदो (आशीर्वाद) थापेको भन्दै आलोचित बने । ‘म देवताभन्दा कर्ममा विश्वास गर्छु,’ मुख्यमन्त्री शाहीले भने, ‘तर समाजभन्दा बाहिर जान पनि सकिँदैन नि ।’ उनले स्थानीय संस्कृतिको सम्मान गर्दै आफू विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुने गरेको बताए ।

गाउँघरमा हुने चोरी, जग्गाका साँधसीमा मिचेको, गाली बेइज्जत, थिचोमिचो र कुटपिटका घटनामा अदालत जान नसक्नेहरूले धामीको शरण लिने गरेका हुन् । ‘अड्डा अदालतमा धेरैजसो बाठाटाठा मात्र जान्छन्,’ खाडाचक्र–४ ताडीका धामी माने विश्वकर्माले भने, ‘कानुन नजान्नेका सहारा देउता हुन् ।’ उनले ढिलो भए पनि देवताले न्याय दिने विश्वास रहेकाले स्थानीयहरू अड्डा अदालतमा नजाने बताए । कालीकोटका अधिकांश ग्रामीण भेगमा अझै पनि मुद्दाको चलन नरहेको अधिवक्ता दमनराज बमले बताए । ‘सानातिना मुद्दा देवताका थानमा गएर मिलाइन्छ,’ जिल्ला बार इकाइका अध्यक्षसमेत रहेका बमले भने, ‘झन्झटिलो प्रक्रियाका कारण पनि अदालत जानेको संख्या निकै कम छ ।’

जिल्ला अदालतमा परेका मुद्दाको संख्या हेर्दा पनि न्यायालय आउनेको संख्या न्यून देखिन्छ । अदालतका स्रेस्तेदार प्रेमप्रकाश थापाका अनुसार आर्थिक गत आर्थिक वर्ष ०७७/७८ मा २ सय ३५ मुद्दा परेकोमा १ सय ११ मुद्दाको फैसला भएको छ । गत वर्षका १ सय २४ मुद्दा फर्स्योट हुन बाँकी छन् । चालु आर्थिक वर्षमा ६४ थान मुद्दा परेको उनले जानकारी दिए । ‘पुरानो पुस्ताले देवतामा बढी विश्वास गर्छन्,’ उनले भने, ‘नयाँ पुस्ताका व्यक्तिहरू न्यायका लागि अदालतमै आउँछन् ।’ उनले कोरोना महामारीका कारण गर्दा गत वर्ष सबै मुद्दा फर्स्योट हुन नसकेको बताए । उनका अनुसार अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेका छन् ।

प्रकाशित : आश्विन १०, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोपीडितलाई नयाँ घर

तुलाराम पाण्डे

कालीकोट — नरहरिनाथ–४ सुगरखाल बस्ती अहिले गुल्जार छ । गत वर्षसम्म सुनसान हुने डाँडामा चहलपहल बढ्दै गएको छ । डाँडामा लहरै निर्माण भएका नयाँ घरले नरहरिनाथ–७ बागा र ४ नम्बर वडाको रुप्साका बासिन्दाको खुसी फर्काएको हो ।

एक वर्षअघिसम्म खाली डाँडो मात्र रहेको सुगरखालको नाम पनि अचेल फेरिएर सुन्दरखाल बनेको छ । ‘७ जनाको परिवार गुमाएपछि संसारै अँध्यारो लागेको थियो,’ गत वर्ष साउन १३ गते रातिको पहिरोले बुबाआमासहित परिवारका अन्य सदस्य गुमाएका नरहरिनाथ–७ बागाका पदमबहादुर बुढाले भने ‘नयाँ बस्ती बनेपछि खोसिएको खुसी फर्कियो ।’ एक वर्ष निकै सास्ती पाए पनि नयाँ घर बनेपछि अरू पीडा बिर्सिएर नयाँ दैनिकी सुरु गर्न थालिएको उनले बताए ।

गत वर्षको पहिरोमा परी नरहरिनाथमा २३ जनाले ज्यान गुमाएका थिए । पहिरोले घर बगाएका पदमसहितका ५० पीडितको नरहरिनाथ गाउँपालिकाको पहलमा कर्णाली प्रदेश सरकारले सुगरखालडाँडामा नयाँ घर बनाइदिएको छ । पहिरोले घर गुमाएका ६० वर्षीय नरबहादुर बुढाले नयाँ घर बनेपछि पीडा भुल्न थालिएको बताए । ‘पहिरोले सबै बगायो,’ उनले भने, ‘घर बनेपछि ओत लाग्ने ठाउँ पाएका छौं ।’ उनले ४ जनाको परिवार एक वर्षदेखि कहिले छिमेकीको गोठमा त कहिले खुला ठाउँमा पाल टाँगेर कष्टकर रूपमा बसेको बताए ।

कर्णाली प्रदेश सरकारको १ करोड ७० लाख रुपैयाँ बजेटबाट ५० घर बनेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनका अनुसार प्रतिघर निर्माणमा प्रदेशको ३ लाख ३५ हजार रुपैयाँ पीडितले अनुदान पाएका छन् । अन्य रकम श्रमदान गरेर पीडितले आफैं घर बनाएको उनले जानकारी दिए । गाउँपालिकाले खानेपानी, विद्यालयलगायतमा सहयोग गरेको उनको भनाइ छ । पहिरोले भत्किएर विस्थापित बनेको दीपेन्द्र आधारभूत विद्यालय पनि बस्तीसँगै डाँडामा सरेको छ । स्तरोन्नति गरेर माध्यमिक बनाइएको विद्यालयमा ३ सय ६ बालबालिका अध्ययनरत छन् । ११ शिक्षक र कर्मचारी पनि सुगरखालमा सरेको विद्यालय व्यवस्थापन समितिका समिति अध्यक्ष ज्ञानबहादुर सहकारीले बताए । उनका अनुसार विद्यालयमा पक्की भवन निर्माणका लागि पहल भइरहेको छ । नरहरिनाथको माल्कोट, रुप्सालगायतका पहिरो पीडितका लागि एकीकृत बस्ती बनाउन थालिएको सुगरखालको डाँडामा पुग्न सडकलगायतका पूर्वाधार नहुँदा भने समस्या छ । नयाँ बस्ती गाउँबाट टाढा भएकाले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु पुर्‍याउन कठिन भएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् ।

५१ बस्ती जोखिममा

पहिरोले कालीकोटका ९ वटै स्थानीय तहका ५१ वटा बस्ती जोखिममा छन् । सबैभन्दा बढी नरहरिनाथका १३ बस्तीका ५ सय बढी घर पहिरोको जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार रास्कोटका ११, सान्नीत्रिवेणीका ७, खाडाचक्रका ७, शुभकालिकाका ३, महाबैका ५, पचालझरना र पलाताका ३/३ वटा बस्ती पहिरोको उच्च जोखिममा परेका हुन् । कम जोखिममा भएको तिलागुफा नगरपालिकाका पनि टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायतका बस्ती पहिरोको जोखिममा रहेको नगरप्रमुख रतनबहादुर शाहीले बताए ।

ती बस्तीका मानिस बेलुकी पानी परेको बेला घरमा बस्न सक्ने अवस्था छैन । कतिपय पाल टाँगेर बस्ने गरेका छन् भने कतिपय आफन्तको घरमा सुत्न जाने गर्छन् । वर्षामा पहिरोको जोखिम उच्च भए पनि कालीकोटमा यसअघि वर्षमा ८/१० जनाले ज्यान गुमाउने तथ्यांक भए पनि यस वर्ष हालसम्मकै बढी क्षति भएको जिल्ला प्रशासनले जनाएको छ । पहिरोले घर, खेत, खानेपानी, सिँचाइ, बाटोघाटोलगायत संरचनामा ठूलो क्षति पुर्‍याएको छ । यस वर्ष कालीकोटमा घर भत्किएका करिब ६ हजार जनाले निवेदन दिएको रेडक्रस सभापति बलप्रसाद संज्यालले बताए । ‘पहिरोले घर र गोठ भत्कायो भनेर निवेदन दिनहुँ आउने गरेका छन्,’ उनले भने, ‘तर सबैलाई त्रिपाल पनि दिन सकिने अवस्था छैन ।’

१५ करोडको क्षति

गत वर्षको पहिरोले कालीकोटका ९ वटै स्थानीय तहमा गरी १५ करोडको सम्पत्ति क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । नरहरिनाथ, रास्कोट र सान्नीत्रिवेणीमा मात्र १२ करोड रुपैयाँको सम्पत्तिको क्षति भएको छ भने अन्य पालिकामा ३ करोड रुपैयाँको क्षति भएको हो ।

कालीकोटका ९ वटै पालिकाकामा ३ सय ५८ घर पूरै भत्किएका छन् । ५ सय ९५ परिवारका २ हजार ५ सय ७८ जना विस्थापित भएर कष्टपूर्ण रूपले आफन्तको गोठ, विद्यालय र सार्वजनिक ठाउँमा बसिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार स्थानीय तहबाट क्षति भएका घरको वास्तविक तथ्यांक नआएकाले पहिरो पीडित सबै व्यक्तिको घर बन्न नसकेको हो । पहिरोले सबैभन्दा बढी नरहरिनाथ, रास्कोट र सान्नीत्रिवेणी प्रभावित भएको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ३०, २०७८ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×