कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भेरी–कर्णालीमा पाइन छाडे सहर माछा

हरिहरसिंह राठौर

जाजरकोट — केही वर्ष अघिसम्म यही सिजनमा रावतगाउँका डोटे बादीलाई भेरी नदीमा सहर माछा मार्न भ्याइनभ्याइ हुन्थ्यो । कर्णाली नदीमा ठूलो वाढी आएपछि असार महिनाबाटै सहर माछा भेरी नदीमा पस्न सुरु हुन्थ्यो । तर यो वर्ष दैनिकजसो नदी चहारे पनि उनले सहर माछा पाएका छैनन् । 

भेरी–कर्णालीमा पाइन छाडे सहर माछा

‘बाढी त दैनिकजसो आइरहेको छ,’ उनले भने, ‘कर्णालीमै सहर माछा कम भएर होला यो वर्ष भेरीमा माछा नै आएनन् ।’ गत वर्ष ३ महिनामा ८ वटा सहर माछा मारेर झन्डै १ लाख रुपैयाँ कमाएका उनले यो वर्ष २ वटा माछा मात्र पाए । उनका छिमेकी बलबहादुर बादीले पनि यो वर्ष एउटा मात्र सहर माछा पाए । उनका अनुसार भेरी र कर्णालीमा बाढी आउँदा सानीभेरीलगायत सहायक नदी र खोलाहरूमा सहर माछा पस्छन् ।

दैलेख सदरमुकामका दीपक सिँजापति सहर माछाका पारखी हुन् । ५ वर्षअघिसम्म वर्षायाममा उनको दिनचर्या कर्णाली नदी किनारमा गई माछा खरिद गर्ने हुन्थ्यो । गत वर्ष ५ वटा सहर माछा खरिद गरेका उनले यो वर्ष २ वटाभन्दा बढी माछा किन्नै पाएनन् । उनका अनुसार सुर्खेत, रुकुम र सल्यानमा भेरी नदी किनारमा ठूला उपकरण चल्न थालेपछि सहर माछाहरूको संख्या घट्दै गएको हो ।

भेरी नदी किनारमा बसोबास गर्ने बादी र माझी समुदायको मुख्य आयस्रोत नै माछा हो । अरू महिना असला माछा पाइने भेरी नदीमा असारदेखि असोजसम्म मात्र सहर माछा पाइन्छ । ‘भेरी–बबई डाइभर्सन पूरा भए त झन् अरू माछा पनि आउँदैनन्,’ बादीले भने, ‘ठूला उपकरण र मानवीय चहलपहलले माछा पस्ने वातावरण नै बिग्रियो ।’ उनका अनुसार सहर माछा प्रतिकिलो १२ सयदेखि १५ सय रुपैयाँमा बिक्री हुन्छ ।

कर्णाली र भेरी नदीको चिसो पानीमा पाइने सहर माछा तीव्र गतिमा बगेको पानीमा रमाउने वरिष्ठ सरिसृपविज्ञ करणबहादुर शाहले बताए । ‘यो फिरन्ते स्वभावको माछा हो, जुन एकै ठाउँमा बसिरहँदैन,’ उनले भने, ‘अन्य माछाका तुलनामा यसको ठूलो टाउको हुने भएकाले यसलाई महाशेर नामले पनि चिनिन्छ ।’ उनका अनुसार ‘टर पटिटोरा’ र ‘टरटर’ गरी दुई प्रजातिका सहर माछा नेपालमा पाइन्छन् । ‘टर पटिटोरा’ पहेंलो रङको हुन्छ भने ‘टरटर’ सेतो रङको पाइन्छ । महाकाली, कर्णाली, भेरी, बबईलगायतका पश्चिम नेपालका ठूला नदीमा ‘टर पटिटोरा’ प्रजातिको सहर माछा पाइने उनले जानकारी दिई । जसलाई सुनौलो महासेरको नामले पनि चिनिन्छ ।

महाशेरले बाढीमा अन्डा फालिदिन्छ, जसलाई स्थानीयहरू महाशेरको अन्डा फाल्ने समय भन्छन् । यस्तो समय असार पहिलो सातादेखि सुरु हुन्छ । ‘बग्दै गएर फुल फुट्दै भुरा निस्किँदै जान्छन्,’ वरिष्ठ सरिसृपविज्ञ शाहले भने, ‘ती भुराहरू भुरा कर्णाली नदी हुँदै भारततर्फको घाघरासम्म पुग्छन् ।’ नेपालमा ८२ किलो तौलसम्मको सहर माछा भेटिएको उनले बताए । उनका अनुसार अरुण, तमोर, सुनकोसी, सप्तकोसी, सप्तगण्डकी र नारायणी नदीमा पनि यो प्रजातिका माछा पाइन्छन् ।

प्रकाशित : आश्विन ९, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?