जडीबुटी संकलनले जनगणना प्रभावित
मुगु/हुम्ला — मगुको मुगमकार्मारोङ गाउँपालिकाका माथिल्ला बस्तीका बासिन्दा जडीबुटी टिप्न वनपाखातिर गएपछि जनगणना प्रभावित भएको छ । अधिकांश बासिन्दा गाउँ नै सुनसान हुने गरी कटुकी, भोल्ते, चिराइतो, वन लसुनलगायत जडीबुटी टिप्न गएपछि घरदैलोमा पुगेका गणकलाई घरधुरी संकलन गर्न गाह्रो भएको हो ।
जडीबुटी टिप्ने चटारोका कारण चितै, मुगु, डोल्फु, कार्ती, किम्री, महलगायतका बस्ती सुनसान बनेका छन् । गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीय जडीबुटी संकलन गर्न वनतिर जाँदा जनगणनाको काम प्रभावित भएको जिल्ला जनगणना अधिकारी कृष्णप्रसाद चौलागाईंले बताए । उनका अनुसार मुगुगाउँमा कोही पनि मानिस नहुँदा गणकलाई विवरण संकलन गर्न कठिन भएको छ ।
मुगुमा भदौ ३० गतेदेखि पहिलो चरणको जनगणनाको काम सुरु भएको छ । जनगणनाको निम्ति जिल्लाका चारवटा स्थानीय तहमा ५ महिला र १५ पुरुष गरी २० जना जनगणक परिचालन गरिएको जिल्ला जनगणनाको कार्यालयले जनाएको छ ।
गणकहरू वडावडामा
हुम्लामा जनगणनाका लागि गाउँगाउँमा गणकहरू खटिएका छन् । वडाहरूमा खटिने गणकहरूलाई अभिमुखीकरण गरी गाउँगाउँमा पठाइएको हो । वडामा गएर गणनाका काम सुरु गरिएको सिमकोट गाउँपालिका–५ र ६ मा गणकको रूपमा खटिएकी विन्दु शाहीले बताइन् । ‘बिहान सबेरैदेखि साँझ अबेरसम्म घरघरमा गई तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भनिन्, ‘अहिले खेतीपातीका काम सकिएकाले सबै जना घरमै भेटिएका छन्, तथ्यांक लिन सजिलो भएको छ ।’ उनका अनुसार भदौ ३० गतेबाट खटिएका गणकहरूले असोज १८ गतेसम्म २० दिन काम गर्नेछन् ।
कोरोना महामारीका यो वर्ष ढिलो गरी जनगणना सुरु भएको जिल्ला जनगणना अधिकारी विनोद भट्टले बताए । ‘अधिकांश गणकले काम सुरु गरिसकेका छन्,’ उनले भने, ‘उनीहरूलाई प्रत्येक घरधुरीमा गई तथ्यांक संकलन गर्ने जिम्मा दिइएको छ ।’ उनका अनुसार बिहीबारसम्म गणनाको झन्डै २० प्रतिशत काम सकिएको छ ।
हुम्लाका ७ गाउँपालिकाका ४४ वडाका लागि २३ जना गणक खटाइएको उनले जानकारी दिए । कार्यालयका अनुसार एक जना गणकलाई १ देखि ३ वडासम्मको कामको जिम्मेवारी दिइएको छ । गणकले प्रत्येक घरधुरीको सूचीकृत गरी घरपरिवारका सदस्यको विवरण, कृषि र पशुपालनलगायतको विवरण संकलन गर्ने कार्यालयले जनाएको छ । २०६८ सालको जनगणनाअनुसार हुम्लामा करिब ९ हजार परिवारको बसोबास छ ।
प्रकाशित : आश्विन ८, २०७८ १२:०१