२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी अभाव

चिकित्सक भने थपिए, आँखा उपचार सुरू हुँदै
चाँदनी कठायत

वीरेन्द्रनगर — प्रदेश अस्पताल सुर्खेतले विगतदेखि नै डाक्टरदेखि कर्मचारीसम्मको अभाव झेल्दै आएको छ । हरेक वर्ष नयाँ विशेषज्ञ सेवा थप गर्दै आएको प्रदेश अस्पतालले मागबमोजिम डाक्टर र कर्मचारी अझै पाउन सकेको छैन । 

प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी अभाव

३ सय २५ जनाको दरबन्दी रहेको अस्पतालमा करारका समेत गरी अहिले १ सय ८८ जना मात्रै कार्यरत छन् । ‘डाक्टरको संख्या त अहिले थप भएकै छ,’ अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्काले भने, ‘तर अन्य कर्मचारीको अभावले गर्दा सेवा चुस्त बनाउन समस्या भइरहेको छ ।’

उनका अनुसार अस्पतालमा डाक्टरको संख्या पुग्दो भए पनि नर्स, प्यारामेडिक्स, ल्याब, क्लिनिङ, सवारी चालकलगायतको अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको हो । उनले अहिले अस्पतालमा स्थायीतर्फ ७२, काजमा २ र करारमा १ सय १४ जनाको कार्यरत रहेको जानकारी दिए ।

अस्पतालमा अहिले ६५ डाक्टर कार्यरत छन् । तर उपसचिव र अधिकृत तहका दुई अस्पताल व्यवस्थापकको पदपूर्ति नहुँदा व्यवस्थापनमा समस्या भइरहेको छ । ३१ स्टाफ नर्सको पदपूर्ति हुन नसकेको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा कार्यरत ८१ मध्ये ५५ नर्स करारमा छन् । डा. खड्काका अनुसार ११ मेडिकल अधिकृत, ३ जना डेन्टल हाइजिनिस्ट, ३ जना एन्थेसियोलोजिस्ट, २ जना कन्सल्टेन्ट अब्सट्रेसियन एन्ड गाइनोकोलोजिस्ट, २ जना कन्सल्टेन्ट जनरल सर्जन, २० जना कार्यालय सहयोगीलगायत १ सय ३७ जनाको पद अझै रिक्त छ ।

अस्पतालले हिस्टो प्याथोलोजी (बिरामीको शरीरको अंग जाँच गरी रोग पहिचान), डर्मेटोलोजी (छालासम्बन्धी उपचार), स्पाइन सर्जरी (मेरुदण्ड भाँचिएको उपचार), न्युरो सर्जरी (टाउकोको अप्रेसन), डायलसिस सेवालगायत जटिल प्रकारका उपचार प्रवाह गरिरहेको छ । माग गरेअनुसारको बजेट समयमै नपाउँदा पनि धेरै सेवा तत्काल सुरु गर्न नसकिएको खड्काले बताए । उनका अनुसार अस्पतालले विभिन्न विशेषज्ञ सेवा सुरु गर्न करिब ६६ करोड रुपैयाँ बजेट माग गरेको छ । एमआरआई मेसिन खरिद गर्न १८ करोड, मुटु रोगीको शल्यक्रियाका लागि क्याथ ल्याब निर्माण गर्न ८ करोड र क्यान्सरका बिरामीको उपचारका लागि सेटअप बनाउन ४० करोड रुपैयाँ बजेट लाग्ने उनले जानकारी दिए ।

अस्पतालमा अहिले क्यान्सर रोगीको उपचारका लागि आवश्यक पर्ने ४ वटा थिएटर तयार गरिसकेको छ । हाल ३ सय शय्यामा सञ्चालन भइरहेको प्रदेश अस्पताललाई ५ सय बेडमा विस्तार गर्ने अस्पतालको योजना छ । जसको काम सुरु गर्न प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट पठाइसकेको छ । अस्पतालले तत्काल आँखाको उपचार पनि सुरु गर्ने योजना बनाएको छ । यसका लागि प्रदेश सरकारले पठाएको २० लाख बजेटले सामान खरिद गर्न टेन्डर आह्वान भइसकेको छ । सामान आइपुगेपछि आँखाको उपचार सेवा पनि सुरु गर्ने अस्पतालले जनाएको छ ।

५० लाखको अक्षय कोष

डा. खड्काले दुःखी, असहाय, अशक्त र गरिब बिरामीको उपचारमा सहयोग पुर्‍याउनका लागि स्वर्गीय बुबाआमाको सम्झनामा ५० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । २०३० सालमा स्वास्थ्य केन्द्रका रूपमा सेवा सुरु गरेको उक्त अस्पताल जिल्ला, क्षेत्रीय हुँदै प्रदेश अस्पतालमा रूपान्तरण भई आफ्ना सेवा विस्तार गरिरहेको छ । २०६२ मा क्षेत्रीय अस्पतालबाट सेवा दिँदै आएको अस्पताललाई कर्णाली प्रदेश सरकारले २०७५ कात्तिकमा आफूमातहत लिएको थियो । प्रदेश सरकार मातहत आएपछि १ सय १५ बेडबाट सेवा दिइरहेको प्रदेश अस्पताल अहिले कोरोना विशेष अस्पतालबाहेक अन्य सेवा १ सय ५० शय्यामा विस्तार गरेको छ ।

प्रकाशित : आश्विन ७, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?