२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बन्गाडकुपिन्डेमा अझै खुलेनन् विद्यालय

‘कोरोना संक्रमणको दर घटे पनि जोखिम उत्तिकै छ तर पनि विद्यालय खोल्न आवश्यक तयारी थालेका छौं’
विप्लव महर्जन

सल्यान — जिल्लाका १० स्थानीय तहमध्ये ९ स्थानीय तहले विद्यालय सञ्चालन गरे पनि बन्गाडकुपिन्डे नगरपालिकामा भने सामुदायिक विद्यालय खुल्न सकेका छैनन् । कार्यपालिका बैठक बस्न नसक्दा बन्गाडकुपिन्डेमा विद्यालय सञ्चालनको निर्णय हुन नसकेको हो ।

बन्गाडकुपिन्डेमा अझै खुलेनन् विद्यालय

कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइस्तर घटेको भन्दै अन्य स्थानीय तहले भने विद्यालय खेल्ने निर्णय गरिसकेका छन् । बन्गाडकुपिन्डे नगरपालिकामा ८ मावि, ११ निम्न मावि र ४२ प्राथमिक गरी ६५ सामुदायिक विद्यालय छन् । निर्णय नहुँदा ९ निजी विद्यालयको पठनपाठन पनि अन्योलमा परेको छ । विद्यालय नखुल्दा झन्डै १० हजार बालबालिका पठनपाठनबाट वञ्चित भएका हुन् । विद्यालय नखुल्दा विद्यार्थीले यसअघि पढेका विषय पनि बिर्सिएको च्युरास्थित त्रिभुवन जनता माविका प्रधानाध्यापक गुमानसिं विष्टले बताए । ‘बालबालिका घरमै हुँदा पठनपाठनभन्दा पनि अन्यत्र उनीहरूको ध्यान गइरहेको छ,’ उनले भने, ‘विद्यालय खुले गृहकार्यको बहानामा त कम्तीमा पढ्न पाउँथे ।’

उनले असार पहिलो साता नै विद्यालयले भर्ना अभियान सम्पन्न गरिसकेको जनाए । उनका अनुसार विद्यालयमा भर्ना भएका झन्डै ५ सय विद्यार्थीमध्ये अधिकांशले पाठ्यपुस्तकसमेत लिइसकेका छन् । विद्यालय नखुल्दा अभिभावकसमेत चिन्तित बनेका छन् । च्युराकै कमल नेपालीले कोरोना संक्रमण कम भइसकेकाले तत्काल विद्यालय खुल्नुपर्ने बताए । उनका अनुसार विद्यालय नखुल्दा अधिकांश विद्यार्थी घरायसी काममा मात्र व्यस्त छन् । ‘लगातार दुई वर्षदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको मनोविज्ञान नै चेन्ज भएको छ, उनीहरूले अघिल्लो कक्षाका आधारभूत कुरा पनि बिर्सिए,’ उनले भने, ‘तत्काल विद्यालय खोलेर पठनपाठन सञ्चालन नगरे यो वर्षको कोर्स पनि नसकिने निश्चित छ ।’

कार्यपालिका बैठकले निर्णय नगरे पनि आइतबारदेखि विद्यालय खोल्ने तयारी गरिएको नगर शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखा प्रमुख चक्रबहादुर रावतले अहिले कक्षा १२ को परीक्षा चलिरहेका कारण पनि पठनपाठन सञ्चालन गर्न समस्या भएको बताए । ‘कोरोना संक्रमणको दर घटे पनि जोखिम उत्तिकै छ, तर पनि विद्यालय खोल्न आवश्यक तयारी थालेका छौं,’ उनले भने, ‘आइतबारदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भौतिक रूपमा विद्यालय सञ्चालन हुनेछन् ।’

प्रकाशित : आश्विन ७, २०७८ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?