स्यार्पुमा पर्यटकीय चहलपहल

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिकास्थित स्यार्पुतालमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । कोरोना महामारीका कारण लामो समयदेखि पर्यटकको आगमन रोकिएको स्यार्पुमा दैनिक १ सय जनासम्म आन्तरिक पर्यटक आउने गरेका छन् । 

स्यार्पुमा पर्यटकीय चहलपहल

पर्यटक बढेपछि तालमा डुंगा थपिएको छ । यसअघि २ वटा मात्र डुंगा रहेको स्यार्पुमा ६ वटा डुंगा सञ्चालनमा ल्याइएको हो । ताल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि डुंगा थपिएको डुंगा सञ्चालक बलबहादुर केसीले बताए । ‘कोरोना महामारीका कारण लामो समय पर्यटक आएनन्,’ उनले भने, ‘कोरोनाको जोखिम कम भएपछि र चाडपर्व नजिकिएसँगै पर्यटकको संख्या बढिरहेको छ ।’

सुरुमा स्थानीयस्तरमै बनाइएका केही काठका डुंगामा पर्यटकलाई सयर गराउने गरिए पनि अहिले आधुनिक डुंगा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । आधुनिक डुंगा तुलनात्मक रूपमा सुरक्षित रहेकाले यसमा घुम्नेहरू बढ्दै गएको उनको भनाइ छ । अर्का डुंगा सञ्चालक दरिभान पुरीले पर्यटक बढेपछि एउटा डुंगा सञ्चालकले मासिक कम्तीमा ३० हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताए । ‘पर्यटक बढेपछि आसपासको कृषिजन्य उत्पादनले पनि बजार पाएको छ,’ उनले भने, ‘होटल र पसलहरूको पनि व्यापार बढेको छ ।’ उनका अनुसार पर्यटकले डुंगा दिनभर रिजर्व गरेर पनि चलाउने गरेका छन् । तालमा डुंगा सञ्चालनका लागि स्यार्पुताल कृषि सहकारी संस्थाको अनुमति लिनुपर्छ । तालमा डुंगा चलाउनेले वार्षिक रूपमा सहकारीलाई १५ हजार रुपैयाँ तिर्नुपर्ने नियम बनाइएको छ ।

स्यार्पुमा घुम्नका लागि पर्यटकहरूले सदरमुकाम मुसीकोट, दाङ, नेपालगन्जलगायत ठाउँबाट गाडी रिजर्व गरी ल्याउने गरेका छन् । वर्षाका कारण ताल पुरै भरिएपछि पर्यटक दिनभर रमाउने गरेको स्थानीय व्यवसायी कमान केसीले बताए ।

उनका अनुसार पर्यटकका लागि बस्ने पर्याप्त होटेल नहुँदा भने पर्यटकलाई साँझ सदरमुकाम खलंगा फर्किनुपर्ने बाध्यता छ । पर्यटकको सुविधाका लागि गत वर्षदेखि गाउँपालिकाले अतिथि गृह भने सञ्चालनमा ल्याएको छ । उनले पछिल्लो समय मोटरसाइकलमा स्यार्पु घुम्न आउनेहरू बढेको जानकारी दिए । ‘लामो समयपछि पर्यटकको चहलपहल बाक्लिएको छ,’ उनले भने, ‘स्यार्पु घुम्ने उपयुक्त मौसम भएकाले केही व्यवसायीले प्याकेजमा पर्यटक घुमाउन थालेका छन् ।’

प्रकाशित : आश्विन ६, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?