बालुवाको भरमा गुजारा- कर्णाली - कान्तिपुर समाचार

बालुवाको भरमा गुजारा

एलपी देवकोटा

जुम्ला — चन्दननाथ नगरपालिका–१ की ५८ वर्षीया बिजु कुलाल १७ वर्षीया छोरीसँगै हरेक बिहान ५ बजे नै तिला नदी किनारमा पुग्छिन् । नदी किनारमै खाना खाने उनी साँझ अबेर मात्र घरमा फर्किन्छिन् । उनका छिमेकी काले कामीको दैनिकी पनि नदी किनारमै बित्छ । उनले बालुवा बेचेरै ४ जनाको आफ्नो परिवार पालिरहेका छन् ।

चन्दननाथ, तिला, तातोपानीलगायत स्थानीय तहका विपन्न नागरिकको आयआर्जनको मेलो नै अहिले बालुवा संकलन बनेको छ । उनीहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म तिला नदीको बालुवा निकाल्छन् र बिक्री गरी घर खर्च टार्छन् । ‘अरू काम पाइँदैन,’ कामीले भने, ‘५ वर्षयता हामीहरूको सबै खर्च बालुवाले नै धानेको छ ।’ खलंगा बजारमा पक्की घर र अन्य संरचना निर्माणको काम बढेपछि बालुवाले सजिलै बजार पाएको उनले बताए ।

सिंजाको हिमा नदीमा पनि अहिले बालुवा संकलन गर्नेको भीड लाग्छ । बालुवा किन्नका लागि ठेकेदार नदीमै आउने गरेको सिंजाकी विनीता हमालले बताइन् । उनले दिनभरिमा १५ बोरासम्म बालुवा संकलन गर्ने गरेकी छन् । उनका अनुसार नदी किनारमै ५० रुपैयाँ प्रतिबोरा बालुवा बिक्री हुने गरेको छ । नदीको तीरमै प्रतिबोरा ५० रुपैयाँमा बिक्री गर्ने गरेका छौं । ‘विद्यालय चलेको बेला बिहान–बेलुका बालुवा निकाल्छौं,’ कक्षा ९ मा अध्ययनरत उनले भनिन्, ‘अहिले स्कुल बन्द भएकाले दिनभर बालुवा निकाल्ने गरेका छौं ।’

बालुवाबाट आएको पैसाले दैनिक खर्च र पढाइ खर्च धानिरहेको उनले बताइन् । दुवै नदी किनारमा कति श्रमिकले दैनिक बालुवा निकाल्छन् भन्ने तथ्यांक स्थानीय तहसँग छैन । गाउँगाउँमा हुने विकासे योजनाका लागि बालुवा तिला र हिमा नदीकै बालुवा प्रयोग हुने कुलालले बताइन् । उनका अनुसार कालीकोट, मुगुलगायत जिल्लामा निर्माणाधीन ठूला आयोजनाका लागि पनि जुम्लाबाटै बालुवा जाने गरेको छ । ‘विकासे योजनाले बालुवा बिक्री धेरै हुन्छ,’ उनले भनिन्, ‘पहिले रोजगारीका लागि भारत जानेहरूले अहिले गाउँमै रोजगारी पाएका छौं ।’ उनका अनुसार चौधबिस क्षेत्रदेखि रारालिहीसम्म तिला नदीमा बालुवा निकाल्नेको भीड लाग्ने गरेको छ ।

तिलाको तीरमा दानसाधुदेखि छिनासाधुसम्ममा १८ ठाउँमा बालुवा निकाल्ने गरिएको स्थानीय असोजे सार्कीले बताए । ‘धेरै ठाउँमा बालुवा निकाल्ने महिला र बालबालिकाकै समूह हुन्छ,’ उनले भने, ‘सबै समूहमा १० देखि २० जनासम्म श्रमिक हुन्छन् ।’

प्रकाशित : आश्विन ४, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्

‘भेरी पम्पिङ टेन्डर दसैंअघि

आयोजना सञ्चालनका लागि झन्डै ६ अर्ब रूपैयाँ लाग्ने अनुमान
चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरु हुन लागेको भेरी पम्पिङ आयोजनाको टेन्डर दसैंअघि हुने भएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार आयोजनाको डीपीआर तयार भइसकेकाले चाँडै टेन्डर हुन थालेको हो ।

करिब ४ वर्षअघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न निकायले अध्ययन र सर्भे गरे पनि काम हुन सकेको थिएन । असोजसम्म टेन्डरको काम भइसक्ने गरी प्रक्रिया थालिएको संस्थाका इन्जिनियर बालाराम तिवारीले बताए । उनका अनुसार दसैं अघिसम्म इन्टेक (मुहान) को कामका लागि टेन्डर गरिसक्ने भनेर खानेपानी मन्त्रालयको तयारी छ । भेरी नदीको पानी पम्पिङ गरी वीरेन्द्रनगरमा ल्याउने विश्व बैंकले पनि लगानी गर्ने जानकारी दिएको उनले बताए ।

लगानी गर्न सहमत भएसँगै विश्व बैंकका प्रतिनिधि र संघीय खानेपानी मन्त्रालयका टोली केही दिनअघि भेरी पम्पिङ आयोजनाको स्थलगत अध्ययन गरी फर्किएको छ । लगानी र आयोजनाबारे अध्ययन गर्न आएको टोलीले नगरपालिका र सरोकारवाला निकायसँग पनि छलफल गरेको थियो । आयोजना सञ्चालनका लागि झन्डै ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । भेरी नदीमा निर्माण हुने ट्यांकीका लागि मात्रै ५० करोड, नदीबाट अमृतडाँडासम्म पानी ल्याउन १ अर्ब ५० करोड र वीरेन्द्रनगरभित्र लाइन विस्तार गर्न ४ अर्ब ६७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको इन्जिनियर तिवारीले बताए ।

आयोजनाको काम हुन नसक्दा संघीय सरकारले आर्थिक वर्ष ०७५/७६ मा छुट्याएको ३ करोड र गत आर्थिक वर्षमा विनियोजन गरेको ६ करोड रुपैयाँ फ्रिज गएको थियो । प्रदेश सरकारले पनि आर्थिक वर्ष ०७६/७७ मा आयोजनाको लागि ५० करोड रुपैयाँ छुट्याएकोमा काम हुन सकेन । चालु आवमा कर्णाली सरकारले ५ करोड बजेट विनियोजन गरेको छ ।

यसअघि वीरेन्द्रनगरस्थित झुप्राखोलामा मिसिने भेरी किनारको दोभान (भेरी पुल र झुप्रा खोलाको बीच) मा पम्पिङ मेसिन राख्ने गरी सम्पवेल निर्माणको कामसमेत सुरु गरिएको थियो । उक्त स्थानमा इन्टेक निर्माण गर्दा पानी कम आउने सम्भावना देखेपछि गत वर्ष स्थान परिवर्तन गरिएको हो । खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत खटिएको टोलीले गत वर्ष गरेको अध्ययनमा उक्त दोभानदेखि ५ सय ७४ मिटर माथि पूर्वतर्फ भेरी नदीको किनारमा पम्पिङ मेसिन राख्ने गरी प्रस्ताव गरेको थियो । त्यहाँबाट ३ सय मिटरसम्म पानी पम्पिङ गरिसकेपछि बीचमा अर्को पम्पिङ मेसिन राख्ने गरी डीपीआर बनाइएको छ ।

विभागका अनुसार अनुसार भेरीको पानी ३/४ सय मिटर माथि प्रशोधन गर्ने ट्यांकी (ट्रिटमेन्ट प्लान) मा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म ७ किलोमिटर लामो पाइप विछ्याइनेछ । ५ सय ५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखी मुख्य ट्यांकीसम्म जडान गर्ने विभागले जनाएको छ । उक्त डाँडामा बनाइने ट्यांकी १२ हजार घनमिटरको हुनेछ भने उक्त ट्यांकीबाट वीरेन्द्रनगरमा खानेपानी पठाउने डीपीआर निर्माण गरिएको छ ।

प्रकाशित : आश्विन ४, २०७८ १२:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×