‘भेरी पम्पिङ टेन्डर दसैंअघि- कर्णाली - कान्तिपुर समाचार

‘भेरी पम्पिङ टेन्डर दसैंअघि

आयोजना सञ्चालनका लागि झन्डै ६ अर्ब रूपैयाँ लाग्ने अनुमान
चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरु हुन लागेको भेरी पम्पिङ आयोजनाको टेन्डर दसैंअघि हुने भएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार आयोजनाको डीपीआर तयार भइसकेकाले चाँडै टेन्डर हुन थालेको हो ।

करिब ४ वर्षअघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न निकायले अध्ययन र सर्भे गरे पनि काम हुन सकेको थिएन । असोजसम्म टेन्डरको काम भइसक्ने गरी प्रक्रिया थालिएको संस्थाका इन्जिनियर बालाराम तिवारीले बताए । उनका अनुसार दसैं अघिसम्म इन्टेक (मुहान) को कामका लागि टेन्डर गरिसक्ने भनेर खानेपानी मन्त्रालयको तयारी छ । भेरी नदीको पानी पम्पिङ गरी वीरेन्द्रनगरमा ल्याउने विश्व बैंकले पनि लगानी गर्ने जानकारी दिएको उनले बताए ।

लगानी गर्न सहमत भएसँगै विश्व बैंकका प्रतिनिधि र संघीय खानेपानी मन्त्रालयका टोली केही दिनअघि भेरी पम्पिङ आयोजनाको स्थलगत अध्ययन गरी फर्किएको छ । लगानी र आयोजनाबारे अध्ययन गर्न आएको टोलीले नगरपालिका र सरोकारवाला निकायसँग पनि छलफल गरेको थियो । आयोजना सञ्चालनका लागि झन्डै ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । भेरी नदीमा निर्माण हुने ट्यांकीका लागि मात्रै ५० करोड, नदीबाट अमृतडाँडासम्म पानी ल्याउन १ अर्ब ५० करोड र वीरेन्द्रनगरभित्र लाइन विस्तार गर्न ४ अर्ब ६७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको इन्जिनियर तिवारीले बताए ।

आयोजनाको काम हुन नसक्दा संघीय सरकारले आर्थिक वर्ष ०७५/७६ मा छुट्याएको ३ करोड र गत आर्थिक वर्षमा विनियोजन गरेको ६ करोड रुपैयाँ फ्रिज गएको थियो । प्रदेश सरकारले पनि आर्थिक वर्ष ०७६/७७ मा आयोजनाको लागि ५० करोड रुपैयाँ छुट्याएकोमा काम हुन सकेन । चालु आवमा कर्णाली सरकारले ५ करोड बजेट विनियोजन गरेको छ ।

यसअघि वीरेन्द्रनगरस्थित झुप्राखोलामा मिसिने भेरी किनारको दोभान (भेरी पुल र झुप्रा खोलाको बीच) मा पम्पिङ मेसिन राख्ने गरी सम्पवेल निर्माणको कामसमेत सुरु गरिएको थियो । उक्त स्थानमा इन्टेक निर्माण गर्दा पानी कम आउने सम्भावना देखेपछि गत वर्ष स्थान परिवर्तन गरिएको हो । खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत खटिएको टोलीले गत वर्ष गरेको अध्ययनमा उक्त दोभानदेखि ५ सय ७४ मिटर माथि पूर्वतर्फ भेरी नदीको किनारमा पम्पिङ मेसिन राख्ने गरी प्रस्ताव गरेको थियो । त्यहाँबाट ३ सय मिटरसम्म पानी पम्पिङ गरिसकेपछि बीचमा अर्को पम्पिङ मेसिन राख्ने गरी डीपीआर बनाइएको छ ।

विभागका अनुसार अनुसार भेरीको पानी ३/४ सय मिटर माथि प्रशोधन गर्ने ट्यांकी (ट्रिटमेन्ट प्लान) मा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म ७ किलोमिटर लामो पाइप विछ्याइनेछ । ५ सय ५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखी मुख्य ट्यांकीसम्म जडान गर्ने विभागले जनाएको छ । उक्त डाँडामा बनाइने ट्यांकी १२ हजार घनमिटरको हुनेछ भने उक्त ट्यांकीबाट वीरेन्द्रनगरमा खानेपानी पठाउने डीपीआर निर्माण गरिएको छ ।

प्रकाशित : आश्विन ४, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्

‘टनेल विधि’ बाट तरकारी दोब्बर

कान्तिपुर संवाददाता

धनकुटा — टनेल विधिबाट तरकारी खेती गर्दा उत्पादन दोब्बर हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । परम्परागत तरिकाले भन्दा नयाँ विधिबाट गरिएको खेतीले फाइदा हुने भएपछि गाउँभरि उक्त प्रयोग गर्न थालिएको छ ।

धनकुटा–२ का वडाध्यक्ष समेत रहेका कृषक चन्द्रबहादुर तामाङका अनुसार टनेल बिधिबाट भएको उत्पादन धेरै हुने भएपछि माग बढेको छ ।

चिसो मौसम रहेको पात्ले, निगाले, हिले क्षेत्रमा मौसमी र बेमौसमी तरकारी खेतीका लागि टनेल प्रभावकारी रहेको धनकुटा–१ का कृषक तेजकुमार सिजाली मगरले बताए । पहिले गोलभेडा फलाउन नसकेका उनले टनेलमा गरिएको खेतीले मनग्य उत्पादन भएको बताए ।

धनकुटा–३ पात्लेका गोपाल वाग्ले पनि टनेलमा तरकारी फलाएर मनग्य आम्दानी गर्छन् । उनी खुला स्थानमा भन्दा टनेलमा तरकारी उत्पादन दोब्बर भएको बताउँछन् । धनकुटा–२ भीरगाउका प्रेमबहादुर पाठकले गत चैत्रमा टनेल बनाएर गोलभेंडा लगाए ।

राष्ट्रसंघीय विकास कार्यक्रम र धनकुटा नगरपालिकाको आर्थिक सहयोग तथा ‘पर्डेप नेपाल’ को व्यवस्थापनमा टनेल विधिमार्फत् खेती गरिएको हो । उक्त कार्यक्रम नगरका झन्डै एक हजार घरमा सञ्चालन गरिएको छ । कार्यक्रमले किसानलाई टनेल र गोलभेंडा, ढिडे खोर्सानी, हात्तिसुढें खोर्सानी, व्रोकाउली, काउली, सागलगायत विउ दिएको थियो । तरकारी बिक्रीका लागि सिजालीमा तरकारी संकलन केन्द्र बनाइएको छ । धनकुटा–३ सिप्तिङका भक्तबहादुर मल्ल र कृष्ण खत्रीले टनेलमा ग्राफ्टिङबाट एभोकाडोको बेर्ना समेत उत्पादन गरेका छन् ।


प्रकाशित : आश्विन ४, २०७८ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×