त्रिवेणीमा आफ्नै पाठ्यपुस्तक- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवेणीमा आफ्नै पाठ्यपुस्तक

पाठ्यपुस्तकमा संस्कार, स्थानीय तह, खेतीपाती, लेखापढी र मौलिक संस्कृति समावेश
विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिकाले आफ्नै पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउन थालेको छ । दुई वर्षदेखि आफैं पाठ्यक्रम तयार गरी कक्षा १ देखि ३ सम्म पठनपाठन गराइरहेको गाउँपालिकाले यो वर्ष ४ र ५ कक्षाका विद्यार्थीका लागि पाठ्यपुस्तक तयार गरेको हो । 

पाठ्यपुस्तकमा संस्कार, स्थानीय तह, खेतीपाती, लेखापढी र मौलिक संस्कृतिलगायत विषयवस्तु समावेश गरिएको छ । नेपालको संविधान र स्थानीय तह सञ्चालन ऐन–२०७४ अनुसार पाठ्यपुस्तक तयार पारिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए । ‘प्रविधि र पश्चिमा संस्कृतिको विकाससँगै बालबालिकाले आफ्नो संस्कार र संस्कृति भुल्दै गए,’ उनले भने, ‘पाठ्यपुस्तकले मौलिक संस्कृतिको जगेर्ना गर्न पनि मद्दत गर्नेछ ।’ उनले खेतीप्रति बालबालिकाको लगाव बढाउन पनि पाठ्यपुस्तक तयार गरिएको जानकारी दिए ।

स्थानीय तहको सामाजिक, आर्थिक र राजनितिक परिवेशलाई पनि पाठ्यपुस्तकमा समावेश गरिएको उनको भनाइ छ । आगामी वर्षदेखि ६ देखि ८ सम्म स्थानीय पाठ्यपुस्तकबाट पठाइ गर्ने गाउँपालिकाको तयारी छ । गाउँपालिकाले तयार गरेको पाठ्यपुस्तक १ सय पूर्णांकको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख दलबहादुर रानाले पाठ्यपुस्तकमा शिक्षक र विद्यार्थीले रचना गरेका आलेख, कथा र कविता पनि राखिएको बताए । उनका अनुसार पालिकाका ४० वटै विद्यालयले स्थानीय पाठ्यपुस्तकबाट पढाइ सुरु गरेका छन् । अहिले १ हजार ८ सय विद्यार्थीले उक्त पाठ्यपुस्तक अध्ययन गरिरहेको उनले जानकारी दिए । २२ लाख रुपैयाँ बजेटबाट पाठ्यपुस्तक तयार गरी प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ ।

पाठ्यपुस्तकको सम्पादन शिक्षक दामोदर शर्माले गरेका हुन् । उनका अनुसार पटकपटक अभिभावक, शिक्षक तथा विज्ञहरूसँग छलफल गरी पाठ्यपुस्तक प्रकाशन गरिएको हो । उनले आफ्नै पाठ्यपुस्तक पठनपाठन गराउने त्रिवेणी गाउँपालिका कर्णालीको पहिलो स्थानीय तह भएको दाबी गरे ।

प्रकाशित : आश्विन ३, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्

महँगीले विपन्न मर्कामा

मूल्य दिन प्रतिदिन बढ्दा पनि स्थानीय प्रशासनलगायत सरोकारवाला निकाय मौन
सन्जु पौडेल, गगनशिला खड्का, रूपा गहतराज

लुम्बिनी/गुल्मी/नेपालगन्ज — तिलोत्तमा–६ सुन्दरबस्तीका ४३ वर्षीय सोमबहादुर कामी कोरोना महामारीले निम्त्याएको लकडाउन र अहिले अचाक्ली बढेको महँगीले मर्कामा परेका छन् । मजदुरी गर्ने उनले अहिले काम पाएका छैनन् ।

आम्दानी नभएपछि साँझ–बिहान छाक टार्न मुस्किल परिरहेको उनले बताए । ‘पानीमा नुन राखेर उमालेर खानु परेको छ,’ उनले भने, ‘पसलमा तरकारी १ सय ६० देखि २ सय रुपैयाँ प्रतिकिलोसम्म बिक्री भइरहेको छ, हामीले त्यो कसरी किनेर खानू ?’

अहिले बजारमा तरकारीको भाउ चुलिएको छ । तरकारी किन्न नसकेपछि सोयाबिन किनेर खाइरहेकामा अहिले त्यसको पनि भाउ बढेको उनले सुनाए । ‘सोयाबिन ३५ रुपैयाँ पोका थियो,’ उनले भने, ‘१५ रुपैयाँ बढाएछन् । अहिले त ५० रुपैयाँ रे !’ कमाएर आजलाई आजै खानेकुरा किन्ने र भोलिलाई भोलि कमाएर किन्नु पर्ने वाध्यतामा रहेका आफूहरू महँगीले ज्यादै मर्कामा परेको उनले सुनाए ।

सोमबहादुरकी छिमेकी फूलकुमारी विकले तरकारी किनेर नखाएको एक महिना भइसकेको सुनाइन् । श्रीमान्ले सात वर्षअघि सौता भित्र्याएपछि उनी एक्लिएकी थिइन् । त्यसयता १६ वर्षीय छोरालाई जसोतसो सरकारी विद्यालयमा पढाइरहेकी छन् । पाँच वर्ष कतार बसेर फर्किइन् । ‘उताबाट कमाएर ल्याएको पैसा पनि बसेर खाँदा सकियो,’ उनले भनिन्, ‘छोरा ठूलो भएकाले एक्लै छाडेर जाँदा बरालिने डरले फेरि विदेश गइनँ ।’

पछिल्ला दिन तरकारी र खाद्यान्न सामग्रीको भाउ एक्कासि बढेको बुटवल–३ का व्यापारी सुजन न्यौपानेले बताए । उनले ठूला व्यापारीसँग आफूहरूले खरिद गर्दा बढेर आएपछि आफूहरूले त्यहीअनुसार बिक्री गरिरहेको बताए । ‘पसलमा लौका प्रतिकेजी ६०, भिन्डी ६० र घिरौंला ५० रुपैयाँमा बिक्री भइरहेको छ,’ उनले भने, ‘अन्य तरकारीको भाउ १ सय रुपैयाँभन्दा बढी नै छ ।’

खाद्यान्न पनि छोइनसक्नु

गुल्मीको सदरमुकाम तम्घासमा तरकारीका साथसाथै खाद्यान्नको मूल्य पनि अचाक्ली बढेको छ । बिना कुनै कारण तरकारी र खाद्यान्नमा भाउ बढेपछि सर्वसाधारण मर्कामा परेका छन् ।

श्रीमान्सँग सदरमुकाम तम्घास बस्ने गुल्मीको मुसिकोटकी लक्ष्मी सुनारले महँगीका कारण चाहिनेभन्दा आधामात्रै खाद्यान्न किन्नुपर्ने बाध्यता आइपरेको बताइन् । आठ महिनाकी गर्भवती उनले ज्याला मजदुरी गर्नेहरूले बजारबाट किनेर खान नसक्ने अवस्था आएको सुनाइन् । लक्ष्मीका श्रीमान् सदरमुकाम तम्घासमै मजदुरी गर्छन् । ‘पल्लेदारीको काम हो । कहिले त हप्तौं खालि बस्नु पर्छ,’ उनले भनिन्, ‘खान परिहाल्यो, भोकै मर्न सकिँदैन तर किनेर खान सक्ने अवस्था पनि छैन ।’

रेसुंगा नगरपालिका–२ की स्थायी बासिन्दा अमृता खत्रीले पनि सबै सामान महँगो भएका कारण घरखर्च चलाउन समस्या भइरहेको बताइन् । उनले पछिल्लो समयमा तरकारी, खाना पकाउने ग्यास र खाद्यान्नको मूल्य चर्को रूपमा बढेको बताइन् । ‘किनेर खाने ठाउँमा त सबै सामानको भाउ छोइसक्नु छैन, खुर्सानी, टमाटर ४० रुपैयाँबाट बढेर ७०/८० पुग्यो,’ उनले भनिन्, ‘२०/३० रुपैयाँमा पाइने सिमी, बोडी पनि प्रतिकिलो २ सय रुपैयाँ नाघेको छ ।’ कोरोनाका कारण आम्दानी छैन । एक जनाले विदेशमा कमाएर ५/६ जना पाल्नेहरूलाई भाउ बढेर ठूलो समस्या छ । ‘कमाउन विदेश गएकालाई पनि पहिलाभन्दा आधामात्र तलब दिएको छ, यहाँ भाउ बढेर यस्तो छ,’ खत्रीले भनिन् ।महँगीले विशेष गरी ज्याला मजदुरी गर्ने, बच्चाबच्ची पढाउनका लागि सदरमुकाममा बस्नेहरू, विद्यार्थी र न्यून आय हुनेहरू बढी मर्कामा परेका छन् । कोभिडका कारण आम्दानी घटेको समयमा महँगी बढ्दा सदरमुकाम बस्ने कि गाउँ फर्किने दोधारमा पुगेको उनीहरूको गुनासो छ ।

महँगीले ज्यान पाल्नै मुस्किल भएको मालिका गाउँपालिका, नेटाकी सावित्रा विश्वकर्माले गुनासो गरिन् । विदेशमा रहेका श्रीमान्ले कोरोना लागेर काम गर्न नपाएको र तलब पनि आधा घटेको अवस्थामा आफूहरूलाई सदरमुकाममा बस्नै सास्ती भएको उनको गुनासो छ । ‘यहाँ हामी तीन आमाछोरीलाई पहिला मासिक १५ हजारमा खर्च चल्थ्यो, अहिले ३० हजारले पुग्दैन,’ उनले भनिन्, ‘यहाँ मैले केही रोजगारी गरौं भने पनि काम पाइँदैन । रुनु न हाँस्नु भइएको छ ।’ गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले मूल्यवृद्धि चर्को रूपमा बढेको स्वीकार गरे । ‘नियामक निकाय नहुँदा मूल्यवृद्धि भएको हो,’ उनले भने, ‘गुल्मीमा आउने खाद्यान्न र तरकारी सबै बुटवलबाट आउने हो । त्यहींबाटै महँगो भएर आएकाले यहाँ पनि महँगो पर्न गएको हो ।’

किसानलाई न्यून मूल्य

अहिले नेपालगन्जमा कुखुराको मासुको मूल्य चार सय रुपैयाँ प्रतिकेजी छ । तर, यहाँ धनियाँ प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ । किसानले खेतबारीबाट बोडी ३०, लौका, भिन्डी २०, करेला ५० रुपैयाँ प्रतिकेजीमा व्यापारीलाई बिक्री गरिरहेका छन् । तर, त्यही तरकारी उपभोक्ताकहाँ पुग्दा बोडी १ सय २०, लौका र भिन्डी ६० रुपैयाँ प्रतिकिलोमा किन्नुपर्छ । त्यस्तै खुर्सानी १ सय ५०, टमाटर ९०, लसुन २ सय २०, कागती १ सय ५०, सिमी १ सय ६० रुपैयाँमा उपभोक्ता किन्न बाध्य छन् । तरकारीमा बिचौलिया हाबी हुँदा मूल्यवृद्धि भएको उपभोक्ताको भनाइ छ ।

किसानले उत्पादन गरेको तरकारीको मूल्य बिचौलियाले निर्धारण गर्ने गरेको किसानहरूको गुनासो छ । ‘हामी पसिना बगाइ, दुःख गरी तरकारी उत्पादन गर्छौं,’ राप्तीसोनारी गाउँपालिका–२ की मीना मल्लले भनिन्, ‘त्यति दुःख गरेर उत्पादन गरेको तरकारी बिचौलिया आएर आफैं मूल्य निर्धारण गर्छन् ।’ बारीमा तरकारी कुहिएर फाल्नुभन्दा बिचौलियाले तोकेकै मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको उनले सुनाइन् ।

सरकारले सहकारीमार्फत किसानले उत्पादन गरेको तरकारी व्यवस्थित गरेर खरिद बिक्री गरे उपभोक्तासम्म सस्तोमा पुग्ने र किसानको पसिनाको मूल्य पनि उठ्ने अर्का किसान लक्ष्मी विकले बताइन् । तरकारीको मूल्य दिन प्रतिदिन बढ्दा पनि स्थानीय प्रशासनलगायत सरोकारवाला निकाय मौन छन् । उनीहरूले बेलाबेला तरकारीको मूल्यमा निगरानी नबढाउँदा पनि बिचौलिया र व्यापारीले आफूखुसी मूल्य बढाएको उपभोक्ताको गुनासो छ ।

राज्यले बजारमा मागअनुसार सिधै किसानबाट खरिद गर्ने र बाँकी स्टक राख्ने गर्दा किसान र उपभोक्ता दुवैलाई न्याय हुने उपभोक्ता अधिकारका अभियन्ता वसन्त गौतमले बताए । यता कृषि उपज बजार सञ्चालक समितिका सदस्य मेराज कवडियाले तराईमा तरकारी नहुने र पहाडबाट ल्याउनु पर्दा अहिले तरकारी महँगो भएको बताए । केही दिनयता तरकारीमा ४० प्रतिशत मूल्यवृद्धि भएको उनको भनाइ छ । ‘यतिबेला तराईमा तरकारी हुँदैन,’ उनले भने, ‘धेरैजसो तरकारी पहाडबाट ल्याउनुपर्छ । टाढाबाट ल्याउँदा ढुवानी महँगो पर्दा मूल्य बढेको हो ।’

प्रकाशित : आश्विन ३, २०७८ १२:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×