कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

१७ वर्षपछि ठडियो काँक्रेविहार

चाँदनी कठायत

वीरेन्द्रनगर — पहिलो पटक पुनर्निर्माण सुरु भएको १७ वर्षपछि सुर्खेतको वीरेन्द्रनगरस्थित पुरातात्त्विक स्थल काँक्रेविहारको पुनर्निर्माण सकिएको छ । काँक्रेविहारको पुनर्निर्माण ०६१ देखि थालिएको थियो । तर उक्त कामले पूर्णता नपाएपछि दोस्रो पटक ०७२ देखि फेरि पुनर्निर्माणको काम सुरु गरिएको थियो ।

१७ वर्षपछि ठडियो काँक्रेविहार

२१.५ मिटर (७०.५२ फिट) उचाइ रहेको शिखर शैलीमा बनेको काँक्रेविहारले बल्ल पूर्णता पाएको हो । पुरातत्त्व विभागले ०५७ फागुन ११ गतेदेखि काँक्रेविहारको भग्नावशेष उत्खननको काम सुरु गरेको थियो । उत्खननको काम सुरु भए पनि रेखांकनको काममा केही ढिलाइ भएको विभागका निमित्त सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठले बताए । उनका अनुसार निर्माण कम्पनीको लापरवाहीका कारण तोकिएकै समयमा काम सम्पन्न हुन समस्या भएको थियो ।

विभागले काम सम्पन्न नभएपछि ०७२ देखि ०७७ असारसम्म ४ पटक कम्पनीको म्याद थप गरिएको जनाएको छ । निर्माण कम्पनीले लापरबाही नगरेको भए पहिलो ३ वर्षमै काम सम्पन्न हुने उनले उनले दाबी गरे । ०७२ मा ८ करोड १८ लाख रुपैयाँमा काँक्रेविहार पुनर्निर्माणको जिम्मा काठमाडौको सिद्धबाबा कन्स्ट्रक्सनले लिएको थियो । यसअघि छरिएर रहेका पत्थरहरूमा कुँदिएका विभिन्न आकर्षक आकृतिलाई प्रयोग गरेर शिखर शैलीमा काँक्रेविहार खडा गरिएको पुरातत्त्व विभागले जनाएको छ । तर निर्माणको काम पूरा भए पनि नगरपालिकालाई हस्तान्तरण गर्न बाँकी छ ।

अहिले काँक्रेविहार परिसरमा चौकीदार, सरसफाइ, टिकटलगायतको जिम्मा वडा नं. ९ को कार्यालयले लिएको इन्जिनियर श्रेष्ठले बताए । वरिपरि छरिएका भग्नावशेष, फूल, बादल, अरू बुट्टा र बौद्ध देवदेवताका मूर्तिहरू कुँदिएका ढुंगाहरूलाई एकीकृत गरी अहिले काँक्रेविहारलाई शिखर शैलीमा निर्माण गरिएको छ ।

चिडियाखाना पनि बन्दै

वीरेन्द्रनगर नगरपालिकाले काँक्रेविहार क्षेत्रमा चिडियाखाना निर्माण गर्न थालेको छ । नगरपालिकाले काँक्रेविहारमा पर्यटकलाई थप आकर्षित गर्न मिनी चिडियाखाना स्थापनाको काम थालेको हो । नगरपालिकाले ११ लाख रुपैयाँ बजेटमा चिडियाखाना निर्माणको काम थालेको हो । जसका लागि कम्पाउन्ड वाल निर्माणको काम सुरु भएको वडाध्यक्ष सुरेश मानन्धरले बताए । उनका अनुसार मिनी चिडियाखानामा विभिन्न वन्यजन्तुहरूलाई राखिनेछ ।

रैथाने वन्यजन्तु विस्थापित नहुन भन्ने उद्देश्यले उनीहरूका लागि पिउने पानीको पोखरी र आहाराका लागि बोटविरुवा र बास बस्नका लागि वासस्थान निर्माण गरिने उनले जानकारी दिए । वडा कार्यालयका अनुसार तत्कालका लागि चिडियाखानामा जरायो, दुम्सी, खरायो, मृग र चरालगायतका वन्यजन्तु राखिनेछ । घाइते जनावरहरूलाई पनि चिडियाखानामा राखिने वडाध्यक्ष मानन्धरले जनाए ।

प्रकाशित : आश्विन २, २०७८ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?