१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

५ वर्षदेखि पक्की पुल अलपत्र

२ करोड ९ लाख रूपैयाँ पेस्की लिइसकेको कम्पनीले काम नगर्ने भएपछि ठेक्का तोडिएको छ
चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतको भेरीगंगा नगरपालिकास्थित रामघाट र लेकबेसी नगरपालिकाको दशरथपुर जोड्ने पक्की पुल निर्माणको काम ५ वर्षदेखि अलपत्र परेको छ । पुल निर्माणस्थलमा चट्टान नै नभेटिएपछि पिलर उठाउन नमिलेकाले पुल निर्माणको काम रोकिएको हो ।

झोलुंगे पुलमा सामान ढुवानी र ठूला सवारी साधन वारपार गर्न कठिनाइ भएपछि पक्की पुल निर्माणको योजना अघि सारिएको थियो । शिलान्यास भएको ५ वर्ष बित्न लाग्दासमेत पक्की पुल निर्माणको टुंगो छैन । ०७३ पुस २ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले तामझामका साथ पुलको शिलान्यास गरेका थिए । ०७६ माघमा पुल निर्माणको काम सक्ने गरी २० करोड रुपैयाँमा आशिष जेभीले जिम्मा लिएको थियो ।

१ सय ५४ मिटर लामो स्टिल ट्रष्ट ब्रिज फुटपाथबाहेक ७ मिटर चौडाइको बनाउने गरी सम्झौता भएको थियो । जग कमजोर देखिएपछि ‘डिजाइन रिभ्यु’ गर्न निर्माण कम्पनीले डिभिजन सडक कार्यालयलाई सुरुमै अनुरोध गरेको थियो । तर सडक विभागको पुल महाशाखाले पुलको डिजाइन रिभ्यु गर्न नै ३ वर्ष लगाएपछि पुल निर्माणको काम अलपत्र परेको हो । पहिले बनेको डिजाइनअनुसार २ स्पान पुल बन्ने दायाँतर्फको किनारामा चट्टानमाथि पिलर उठाउन नमिलेपछि डिजाइन फेरिएको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख विजयकुमार थापाले बताए । उनका अनुसार चट्टान नै नभेटिएपछि पिलर उठाउन सकिएन । निर्माण कम्पनीले काममा लापरबाही गरेपछि कम्पनीसँग ठेक्का तोडिसकेको उनले जानकारी दिए ।

ठेक्का तोडेको विरुद्धमा ठेकेदार कम्पनी उच्च अदालत सुर्खेतमा पुगेको छ । निर्माण कम्पनीले क्षतिपूर्ति पाऊँ भनी गरेको मुद्दामा अदालतले कुनै निर्णय नगरेको डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ करोड ९ लाख रुपैयाँ पेस्की लिइसकेको कम्पनीले काम नगर्ने भएपछि ठेक्का तोडिएको हो । तर निर्माण कम्पनी भने उल्टै ३ करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित अदालत पुगेको हो । ‘निर्माण कम्पनीलाई डिजाइन रिभ्युपछि पनि काम नगरेको भन्दै सडकले ब्याजसहित ५ करोड रुपैयाँ सरकारलाई तिर्नुपर्ने भन्दै पत्र काटेको थियौं,’ डिभिजन प्रमुख थापाले भने, ‘कम्पनी अदालत पुगेपछि काममा थप अन्यौल भएको हो ।’ अदालतको निर्णयपछि मात्रै पुलको काम अघि बढ्ने/नबढ्नेबारे टुंगो लाग्ने उनले जानकारी दिए ।

दशरथपुर–रामघाट जोड्ने झोलुंगे पुल पनि जीर्ण हुँदा वारपार गर्न समस्या छ । ‘पक्की पुल लामो समयसम्म बनेन,’ स्थानीय हरि गुरुङले भने, ‘भएको झोलुंगे पुलका पनि तारहरू चुँडिएका छन्, सल्याबहरू पनि हल्लिएका छन् ।’ पुल नबन्दा व्यापार–व्यवसाय गर्नेहरूलाई सामान ढुवानी गर्दा मेहलकुनामा रहेको पक्की पुलबाट घुम्नुपर्ने बाध्यता छ । आफूले उब्जाएका कृषिउपज बोकेरै रामघाट पुर्‍याउनुपर्ने बाध्यता भएको लालमती वलीले बताइन् । ‘दैनिक १ हजार जनासम्म हिँड्ने झोलुंगे पुल कुन दिन गर्ल्याम्म हुने हो भन्ने डर लाग्छ,’ उनले भनिन्, ‘पक्की पुल नबन्दा गम्भीर अवस्थाका बिरामीलाई मेहेलकुनाबाट एम्बुलेन्समा लैजानुको विकल्प छैन ।’

४६ वर्षपछि स्तरोन्नति हुँदै

वीरेन्द्रनगर– मदन भण्डारी राजमार्गअन्तर्गतको धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डको तिहारपछि स्तरोन्नति हुने भएको छ । ट्र्याक खुलेको करिब ४६ वर्षपछि सडक स्तरोन्नतिका लागि गत वैशाखमा बोलपत्र आह्वान भएको थियो । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले एक अर्ब ५१ करोड रुपैयाँको बोलपत्र आह्वान गरेको थियो ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको लामो समयपछि सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको स्थानीय अगुवा ध्रुवकुमार शाहीले बताए । उनका अनुसार डीपीआरमा १ अर्ब ९४ करोड ८४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । ४ मिटर मात्र चौडाइ रहेको धुलियाबिटदेखि बोटेचौरसम्मको ३५ किमी सडकलाई स्तरोन्नति गर्दा भने ९ मिटरको बनाएर कालोपत्रे गरिनेछ ।

कालोपत्रेसहित सडकको चौडाइ भने १६ मिटरको हुने लेकबेसी नगरपालिका प्रमुख गगनसिंह सुनारले बताए । उनका अनुसार अहिले सडकको स्तरोन्नतिका लागि रूख कटान गर्न लगत संकलनको काम भइरहेको छ । ‘तिहारलगत्तै सडक स्तरोन्नतिको काम अघि बढाउने तयारी छ,’ उनले भने, ‘सडकको अवस्था दयनीय भएपछि स्तरोन्नतिको पहल गरिएको हो ।’

प्रकाशित : आश्विन २, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?