२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कालीकोटमा अक्सिजन प्लान्ट

कालीकोट — मान्मस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्लान्टबाट एक दिनमा ४५ देखि ४८ वटा ४० लिटर क्षमताका सिलिन्डर भर्न सकिन्छ ।
प्लान्ट जडान भएपछि जटिल अवस्थाका बिरामीको उपचार सहज भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले बताए । ‘यसअघि अक्सिजन भर्न रित्ता सिलिन्डर नेपालगन्ज पठाउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब जुनसुकै समस्या भएका बिरामीले पनि अस्पतालमै उपचार पाउनेछन् ।’

कालीकोटमा अक्सिजन प्लान्ट

कर्णाली प्रदेश सरकारको सहयोगमा जडान गरिएको प्लान्टको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरे । उनले अब अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए । ‘अस्पतालका लागि थप उपकरण, जनशक्ति र औषधिको व्यवस्था पनि मिलाइनेछ,’ उनले भने, ‘अब कोभिडको तेस्रो लहर फैलिए पनि अस्पतालले थेग्न सक्छ ।’

प्लान्ट जडानका लागि कर्णाली प्रदेश सरकारले गत वर्ष ८० लाख रुपैयाँ विनियोजन गरेकोमा ७६ लाख रुपैयाँमा मुनरक कम्पनीको ठेक्का स्वीकृत गरिएको थियो । अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपछि कालीकोटसहित जुम्ला, मुगु, बाजुरा र अछामलाई समेत सेवा दिन सकिने जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए । उनका अनुसार अहिले सदरमुकाम मान्ममा कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा छ भने रास्कोट, नरहरिनाथ, सान्नीत्रिवेणी, पलाता, तिलागुफालगायत स्थानीय तहले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन् ।

२७ लाखको स्वास्थ्य सामग्री

कोरोना महामारीबाट स्थानीयलाई बचाउन जिल्ला अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई २७ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहको मागअनुसार प्लान इनटरनेसनलले जिल्ला अस्पताल मान्म, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी र नरहरिनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । स्वास्थ्य संस्थाहरूलाई कोरोना परीक्षण गर्ने एन्टिजेन किट, अक्सिजन कन्सेन्टेटर, पल्स अक्टिमिटर, बेड, युटिलिटी ग्लोब्स्लगायत सामग्री दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

प्रकाशित : आश्विन २, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?