आगलागीपीडितलाई नयाँ घर

सामुदायिक वनमा लागेको आगो गाउँ पसेपछि १२ घर र २ गोठ जलेर खरानी भएका थिए

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–३ सर्सुकाँडाकी वेलमती रावल नयाँ घर पाएपछि खुसी छिन् । चैतमा भएको आगलागीमा परी घर र घरमा रहेको सम्पूर्ण सामग्री जलेपछि उनको परिवारमा केही दिन रुवाबासी नै चलेको थियो । भएभरको सम्पत्ति आगोमा जलेपछि झन्डै ३ महिना उनीहरूलाई जीविकोपार्जन गर्नै समस्या थियो ।

सामुदायिक वनमा लागेको आगो गाउँ पसेपछि उनीसहित सर्सुकाँडाका १२ घर र २ गोठ जलेर खरानी भएका थिए । जलेका १२ मध्ये एउटा घरमा मात्र टिनको थियो । अहिले भने १२ वटै घर टिनको छानाका बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, ३ नम्बर वडा कार्यालय र विभिन्न व्यक्तिहरूको व्यक्तिगत सहयोगले सबैका घर टिनको छानाका भएका हुन् । विपद् व्यवस्थापन समितिले ६ परिवारका लागि १ लाख रुपैयाँका दरले नगद सहयोग गरेको थियो भने वडा कार्यालयले ७ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

नयाँ घर बनेसँगै पीडितका मुहारमा खुसी फर्किएको छ । ‘घर जल्यो, फेरि उस्तै घर बनाउन सकिने अवस्था थिएन,’ पीडित वीरभान पौडेलले भने, ‘अहिले नयाँ टिनको छाना भएका घर उपहार पाएका छौं, अब आगलागीको जोखिम पनि कम हुनेछ ।’ एक वर्ष निकै सास्ती पाए पनि नयाँ घर बनेपछि अरू पीडा बिर्सिएर नयाँ दैनिकी सुरु गर्न थालिएको उनले बताए ।

विपद् व्यवस्थापन समिति र वडा कार्यालयको बजेटमा विभिन्न व्यक्तिले १ लाख ८३ हजार रुपैयाँ नगद सहयोग गरेपछि नयाँ घर बनाइएको वडाध्यक्ष चन्द्रबहादुर केसीले बताए । उनका अनुसार पीडितलाई १५ हजार रुपैयाँ दरले नगद सहयोगसमेत गरिएको छ । ‘अधिकांश घरहरू खरका छानाका भएकाले आगलागीको जोखिम बढी छ,’ उनले भने, ‘क्रमशः सबै छानाका घरहरू विस्थापन गरी टिनका छाना भएका घरहरू बनाउने वडा कार्यालयको योजना छ ।’ उनले पीडितहरूका लागि बनाइएका नयाँ घरहरू विभिन्न विपद्को सामना गर्ने गरी बनाइएको जानकारी दिए ।


प्रकाशित : भाद्र ३१, २०७८ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?