रारामा अक्सिजन घट्यो, जलचर संकटमा- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रारामा अक्सिजन घट्यो, जलचर संकटमा

तालको पानीमा प्रतिलिटर ७.५ मिलिग्राम अक्सिजनको मात्रा हुनुपर्नेमा ५.१ मिलिग्राम मात्र
राजबहादुर शाही

मुगु — कर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारातालमा अक्सिजनको मात्रा घटेको छ । प्रदूषणका कारण राराको पानीमा अक्सिजनको मात्रा कम भएको हो । तालवरिपरि विभिन्न संरचना निर्माण हुँदा र मानवीय चहलपहल बढ्दा अक्सिजनको मात्रा घटेको रारा राष्ट्रिय निकुन्जले जनाएको छ । 

पशुचौपायाको दिसापिसाब पनि तालमा जम्मा हुन थालेपछि चलचरहरू संकटमा परेको निकुन्जले गरेको अध्ययनले देखाएको हो । तालको पानीमा प्रतिलिटर ७.५ मिलिग्राम अक्सिजनको मात्रा हुनुपर्नेमा ५.१ मिलिग्राम मात्र अक्सिजन रहेको पाइएको निकुन्जका अधिकृत बद्रीविनोद दाहालले बताए । उनका अनुसार फोहोरले तालमा अक्सिजनको मात्रा घटेपछि असला माछालगायत पानीजन्य जीव संकटमा पर्न थालेका छन् । ‘फोहोर तालमा मिसिँदा पानीमा क्षारको मात्रा वृद्धि भएको भेटियो,’ उनले भने, ‘फोहोर नियन्त्रण गर्न नसके अबको १० वर्षपछि माछा र अन्य जलचर लोप हुने देखिन्छ ।’

उनका अनुसार गत वर्षको पुस महिनामा रारा तालका असला माछाहरू मरेर तालमा तैरिएका थिए । फोहोर बढेपछि पानीको स्वच्छता र रङ फेरिँदै गएको निकुञ्जले जनाएको छ । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले गोरु, भैसी, भेडाबाख्रा, घोडा खच्चरलगायत पशुचौपाया छाडा छोड्न थालेपछि तालको पानी दूषित हुन थालेको निकुन्जले जनाएको छ । निकुन्ज क्षेत्रभित्र दैनिक करिब ११ हजार पशुचौपाया चर्ने गरेको कार्यालयको तथ्यांक छ । कार्कीबाडा, पिना, तलितुम, हेन्नकाँध, मुर्मा, झयारी, टोप्लालगायत एक दर्जन बढी बस्तीका स्थानीयले बाह्रै महिना चौपायाहरू रारा निकुञ्जमै चराउने गरेका छन् । त्यस्तै, रारा घुम्न आएका पर्यटकले पनि आफूले प्रयोग गरेका सामग्री तालमा फाल्दा पनि फोहोर बढेको स्थानीय अगुवा कमल शाहीले बताए ।

उनका अनुसार तालवरिपरि निर्माण गर्न लागिएको साइकल लेनले पनि राराको पर्यावरणमा असर पारेको छ । ‘सडक निर्माण गर्दा प्रयोग गरिने मेसिनका कारण पनि पर्यावरणमा असर पर्‍यो,’ उनले भने, ‘साइकल लेन खन्दा निस्किएको माटो पनि तालमै फालिएको छ ।’

मध्यवर्ती क्षेत्र आसपासमा वैकल्पिक वन नहुँदा बाध्य भएर चरनको अनुमति दिनुपरेको संरक्षण अधिकृत दाहालले बताए । उनका अनुसार पर्यटक घुमाउन रारा क्षेत्रमा प्रयोग गरिने घोडाका कारण पनि राराको पानी दूषित बन्दै गएको छ । उनले मध्यवर्ती क्षेत्रका स्थानीयलाई पर्यटन व्यवसायमा आकर्षित गर्न सके चौपायाको संख्या घट्ने बताए । ‘ताललाई प्रदूषणबाट मुक्त गराउन तालको वरिपरि ड्याम बनाई फोहोर पानी रोक्न सकिन्छ,’ उनले भने, ‘तर बजेट नहुँदा ताल संरक्षणका अधिकांश कामहरू अपुरा छन् ।’

प्रकाशित : भाद्र ३१, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

चाडपर्व नजिकिएसँगै घर फर्किने बढ्दै

एक सातादेखि दिनहुँ तीन–चार जनामा संक्रमण पुष्टि
भवानी भट्ट

कञ्चनपुर — चाडपर्व नजिकिँदै गर्दा भारतबाट घर फर्किने नेपालीको चाप बढ्न थालेको छ । गड्डाचौकी नाकामा दुई सातायता घर फर्किनेको चाप बढेको हो । अहिले दैनिक छ/सात सयको संख्यामा नेपालीहरू घर फर्किरहेका छन् । केही दिनयता घर फर्किनेहरूमा कोरोना संक्रमण पनि देखिन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार गड्डाचौकी नाकाबाट घर फर्किने ६ सय २१ जना मध्ये ६ सय ८ को एन्टिजेन परीक्षण हुँदा ३ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार घर फर्किने ५सय ५८ मध्ये ५ सय ८ को परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लोर् एक सातामा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

असार अन्तिमसम्म भारतबाट घर फर्किनेमा दिनहॅु संक्रमण देखिएपनि त्यसयता कम भएको थियो । साउन र भदौ तेस्रो सातासम्म कहिलेकाहीँ मात्रै दिनमा एक/दुई जनामा संक्रमण पुष्टि हुने गरेको थियो । तर एक सातादेखि दिनहु तीन/चार जनामा संक्रमण पुष्टि भइरहेको छ ।

यसैगरी गौरीफन्टा नाकाबाट बुधबार ७ सय २७ जना घर फर्किएका छन् । मंगलबार १ हजार ९४ जना र सोमबार ७ सय ६९ जना नेपाल भित्रिएको प्रशासनले जनाएको छ । गौरीफन्टा नाकामा भने संक्रमितको संख्या कम देखिएको छ । सोमबार १ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसयता मंगलबार र बुधबार संक्रमित नभेटिएको प्रशासनले जनाएको छ ।

‘घर फर्किनेको चाप बढेसँगै संक्रमण पुष्टि हुने पनि बढेका छन्,’ सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा स्थापना गरेको हेल्प डेस्कका कर्मचारी दानसिंह बोहराले भने, ‘अहिले जानेने भन्दा भारतबाट आउने दोब्बर तेब्बर छन् ।’ उनका अनुसार अहिले कामको खोजीमा जानेको संख्या दुई/अढाई सय छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार बुधबार गड्डाचौकी नाकाबाट भारततर्फ जानेको संख्या ३ सय छ । यसैगरी गौरीफन्टा नाकाबाट पनि ३ सय नै भारततर्फ पसेका छन् । ग्रामीण भेगमा चाडपर्वको माहोल तात्दै गएको छ । खेतीपातीको काम पनि आइसकेको छ । कामको खोजीमा विदेशिएकाहरू यतिबेला खेतीपाती भित्र्याउनुका साथै चाडपर्व मनाउन घर फर्किन लागेका हुन् । ‘खेतीपातीको काम पनि आयो, दसैं पनि नजिकिन थाल्यो,’ सोमबार गड्डाचौकी नाकाबाट घर फर्किन लागेका बेदकोट नगरपालिकाका लाल सार्कीले भने, ‘अब दसैंतिहार मनाएर गहॅु छरेर फर्किन्छौं ।’ उनी चन्दीगढमा घरेलु कामदारका रूपमा काम गर्छन् ।

भारतबाट घर फर्किनेको चाप बढेसँगै सीमावर्ती क्षेत्रमा यातायातका साधनहरूमा चर्को भाडा लिने तथा यात्रुलाई नशालु पदार्थ खुवाएर बेहोस बनाएर लुटपाट गर्ने लगायतका घटना हुन थालेका छन् । सोमबार मात्रै अल्मोडाबाट घर फर्किनेहरूलाई सीमावर्ती बजार बनबासामा नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटिएको छ । उनीहरूलाई महाकाली अस्पतालमा उपचारपछि घर पठाइएको छ । ‘बनबासाबाट गड्डाचौकीसम्मको भाडा पनि निकै महँगो छ,’ गड्डाचौकीका स्थानीय किसन जोशीले भने, ‘पाँच/छ किलोमिटर दूरीको भाडा एक सय भारु छ ।’ कोरोना संक्रमण अघिसम्म यहाँको भाडा २५/३० रुपैयाँ थियो । कोरोना संक्रमणसँगै नाका बन्द भएपछि सवारी साधन आवागमन घटेर भाडा पनि बढेको हो ।

दसैंतिहारका बेला घर फर्किनेहरूको चाप बढ्दा यात्रुहरूबाट दोब्बर तेब्बर भाडा लिने क्रम बढ्न सक्ने भएकाले यसतर्फ सजग हुनुपर्ने देखिन्छ । त्यतिबेला नशालु पदार्थ खुवाएर लुटिने घटनाहरू हुन नदिनसमेत दुवैतर्फका सुरक्षाकर्मीबीच समन्वय आवश्यक रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : भाद्र ३१, २०७८ १२:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×