स्वास्थ्यकर्मी नहुँदा उपचारमा सास्ती

विप्लव महर्जन

सल्यान — जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको उपचारमा सास्ती भएको छ । करारमा भर्ना गरिएका स्वास्थ्यकर्मीको म्याद थप नभएपछि र केही स्वास्थ्यकर्मी सरुवा भएर गएपछि बिरामीको उपचारमा समस्या भएको हो । 

स्वास्थ्यकर्मी नहुँदा उपचारमा सास्ती

स्वास्थ्यकर्मीको अभावका कारण अस्पतालमा बिरामीको संख्या कम हुन थालेको छ । एउटै स्वास्थ्यकर्मीले लामो समयसम्म बिरामीको उपचार गर्नुपर्ने बाध्यता भएको छ । ९ जनाको नर्सको दरबन्दी रहेको अस्पतालमा अहिले ३ जना कार्यरत छन् । त्यसमा पनि एक नर्स अध्ययन बिदामा गएपछि समस्या भएको छ । त्यस्तै ३ जना सिनियर अनमीको दरबन्दी भए पनि एक जना मात्र कार्यरत छिन् । ‘विभिन्न विभाग र सय्यामा लामो समय खट्नुपर्ने स्वास्थ्यकर्मी नै नहुँदा समस्या भयो,’ अस्पतालका डा. प्रदीप शर्माले भने, ‘कर्मचारीको अभाव भएपछि एउटै स्वास्थ्यकर्मीलाई डबल ड्युटीमा खटाउनुपरेको छ ।’

अस्पतालमा ९ जना चिकित्सक कार्यरत छन् । तीमध्ये ७ जना करार सेवाका छन् । १५ शय्याको अस्पतालले अहिले ४० बेडबाट उपचार दिइरहेको छ । तर स्वास्थ्यकर्मीको अभाव भएपछि कतिपय सेवा बन्द गर्नुपर्ने अवस्था आएको डा. शर्माले बताए । ‘वर्षौंदेखि स्वास्थ्यकर्मीको अभाव छ,’ उनले भने, ‘तत्काल दुई दर्जन स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति नभए उपचार सेवा नै लथालिंग हुने देखियो ।’ उनले दरबन्दी पूर्तिका लागि पटकपटक प्रदेश सरकारसँग माग गरे पनि बेवास्ता भएको गुनासो गरे । अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भए पनि बिरामीको संख्या भने दैनिकजसो बढिरहेको उनी बताउँछन् । ‘भर्ना हुने बिरामी र सुत्केरी हुन आउने गर्भवतीकै स्याहारसुसारमा समस्या भयो,’ उनले भने, ‘दुई/चार जना नर्सले इमरजेन्सी भ्याउनु कि डेलिभरी रुम ? ’ अस्पतालमा दैनिक करिब १ सय ५० बिरामी उपचारका लागि आउने गरेको तथ्यांक छ । त्यसमध्ये दैनिक त्यसमध्ये ८/१० जना भर्ना हुने गरेका अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार दैनिक १० देखि १५ जनासम्म गर्भवती प्रसूति सेवाका लागि आउने गरेका छन् । ‘बिरामी बढेका बढ्यै छन्,’ स्वास्थ्यकर्मी कोपिला रानाले भनिन्, ‘इमर्जेन्सीमा मात्रै कम्तीमा ५ जना नर्स चाहिन्छ, हामी २ जनाले कहाँकहाँ हेर्ने ? ’ थोरै जनशक्ति हुँदा एकछिन पनि फुर्सद नहुने उनले गुनासो गरिन् । बिहान, दिउँसो र रातिको ड्युटी २ जनाले भ्याउनुपर्ने बाध्यता भएको उनको भनाइ छ । स्वास्थ्यकर्मीको अभावमा बिरामीलाई सेवा दिन समस्या भएको अर्की स्वास्थ्यकर्मी तारा शाहीले बताइन् । उनका अनुसार मौसममा आएको परिवर्तनका कारण ज्वरो र रुघाखोकीका बिरामी बढेपछि अस्पतालमा बिरामीको चाप बढेको हो । ज्वरोका बिरामी मात्रै दैनिक १० जनासम्म अस्पतालमा भर्ना हुने गरेको बताइन् । उनका अनुसार दुर्घटनाका बिरामीलाई २४ घण्टा हेर्नुपर्ने बाध्यता हुन्छ । ‘अरु पनि बिरामी बढिरहेका छन्, सुत्केरी हुन आउनेको चाप पनि धेरै छ,’ उनले भनिन् ।


प्रकाशित : भाद्र ३१, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?