धमाधम खुल्दै विद्यालय

छपाल लामा

हुम्ला — दिनहुँ कोरोना संक्रमित थपिने क्रम घटेसँगै हुम्लामा विद्यालयहरू धमाधम खुल्न थालेका छन् । जिल्लाका ७ मध्ये ५ स्थानीय तहमा विद्यालय खोलेर विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन थालिएको छ । 

धमाधम खुल्दै विद्यालय

सिमकोट, नाम्खा, खार्पुनाथ, ताजाकोट र अदानचुली गाउँपालिकाका विद्यालय खुलेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रको भदौ १४ मा बसेको बैठकले संक्रमणको अवस्था हेरी जिल्लाभरि विद्यालय खोल्न सकिने निर्णय गरेको थियो । स्थानीय तहले कार्यपालिकाबाट निर्णय गराई विद्यालय सञ्चालन गरेका हुन् ।

लामो समयपछि विद्यालय खुलेपछि बालबालिकासमेत खुसी भएका छन् । चैतदेखि छुट्टिएका साथीहरूसँग भेट भएको बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत कमला रोकायाले बताइन् । ‘घर बसिरहँदा कहिले विद्यालय जाउँला भन्ने छटपटी हुन्थ्यो,’ उनले भनिन्, ‘विद्यालय खुल्यो, अब नियमित पढ्न पाइने भयो ।’ उनीसँगै पढ्ने सन्ध्या महतारा पनि विद्यालय आउन पाएकोमा खुसी छिन्  । ‘घर बस्दा पनि पढ्न पाइएन, चुलोचौको र घरको काम मात्रै गर्नुप‍र्‍यो,’ उनले भनिन्, ‘अब त होमवर्कको बहानाले पनि घरमा पढ्न पाइन्छ ।’

आलोपालोमा कक्षा सञ्चालन गर्ने, मास्क, सेनिटाइजर र साबुनपानीले हात धुने व्यवस्था गर्नेलगायत मापदण्ड अपनाएर विद्यालय खोलिएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । ‘गत वैशाखदेखिको निषेधाज्ञाले विद्यालय बन्द भएपछि वैकल्पिक तरिकाले पठनपाठन गर्न पनि सकिएन,’ उनले भने, ‘टेलिफोन नेटवर्क नै राम्रो नभएपछि वैकल्पिक विधि अपनाउन सकेका थिएनौं, विद्यार्थीको सिकाइस्तर कमजोर हुन थालेपछि विद्यालय खोलेका हौं ।’ सिमकोटका २८ वटै विद्यालय आइतबारबाट खुलेको गाउँपालिकाले जनाएको छ ।

खार्पुनाथमा पनि १७ वटा विद्यालय खोलिएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए । उनका अनुसार राजनीतिक भेला, विभिन्न धार्मिक गतिविधि रोकिए पनि स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको छ । नाम्खा, अदाचुली र ताजाकोट गाउँपालिकाले एक महिनाअघिदेखि नै विद्यालय सञ्चालनमा ल्याएका थिए । सर्केगाडले ३२ विद्यालयमा असोज १ बाट पठनपाठन गर्ने निर्णय गरेको छ भने चंखेलीले पठनपाठनको टुंगो अझै लगाएको छैन । हुम्लामा १ सय ४८ विद्यालय छन् ।

प्रकाशित : भाद्र २९, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?