कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बालबालिकामा ज्वरो र निमोनिया

जिल्ला अस्पतालका सबै बेड बालबालिकाले भरिए
औषधिको मौज्दात पनि सकिँदै
राजबहादुर शाही

मुगु — जिल्लाका गाउँगाउँमा ज्वरो र निमोनियाको प्रकोप फैलिएको छ । यस्ता बिरामीमध्ये अधिकांश बालबालिका छन् । बिरामी बढेसँगै जिल्ला अस्पताल र स्वास्थ्यचौकीमा उपचार गराउन आउने बालबालिकाको संख्या बढेको छ ।

बालबालिकामा ज्वरो र निमोनिया

जिल्ला अस्पतालमा दिनमा ७० जनासम्म बिरामी आउने गरेकामा ५० जना बालबालिका छन् । जसमध्ये ५० प्रतिशत बालबालिकालाई ज्वरो र निमोनियाको लक्षण रहेको डा. डबल मल्लले बताए ।

‘एक्कासि बालबालिकाहरू धमाधम बिरामी पर्न थालेका छन्,’ उनले भने, ‘उपचारका लागि आएकामध्ये सबैजसो ज्वरो र निमोनियाका छन् ।’ उनले ५ वर्षमुनिका बालबालिका यी समस्याबाट बढी प्रभावित भएको पाइएको बताए । पछिल्लो समय वर्षासँगै चिसो बढेपछि बिरामी बढेको उनको भनाइ छ । धमाधम बालबालिका बिरामी हुन थालेपछि उपचारमा चुनौती देखिएको छ ।

केही बालबालिकामा रुघाखोकी, टाउको दुख्ने, शरीर दुख्नेलगायत समस्या पनि देखिएको जिल्ला अस्पतालले जनाएको छ । एक साताअघि अस्पतालमा भर्ना गरिएका एक ५ महिने शिशुको ज्यान गएको थियो । १० महिने शिशुलाई नियोनिया भएपछि जिल्ला अस्पताल ल्याएको सोरु गाउँपालिका कालैकी बाँचु सुनारले बताइन् । ‘चार दिनसम्म अस्पतालको इमर्जेन्सीमा राखिए पनि अझै स्वास्थ्यमा सुधार आएको छैन,’ उनले भनिन्, ‘गाउँमा पनि घरैपिच्छे बालबालिका बिरामी छन् ।’ उनले गाउँमा ज्येष्ठ नागरिक र युवा पनि ज्वरोले थलिएको बताइन् ।

भदौ लागेदेखि सबै शय्या बालबालिकाले भरिएको जिल्ला अस्पतालले जनाएको छ । मुगु अस्पतालमा अहिले १५ शय्यामा बिरामीको उपचार भइरहेको छ । ‘बेडमा ठूला मान्छे बिरामी छैनन्,’ डा. मल्लले भने, ‘सबै बेड बालबालिकाले नै भरिएका छन् ।’ बिरामी बालबालिकाको संख्या बढेपछि अस्पतालमा औषधिको अभाव हुन थालेको अस्पतालकी अनमी सावित्रा मल्लले बताइन् । ‘दिनदिनै औषधिको मौज्दात सकिँदै गएको छ,’ उनले भनिन्, ‘यस्तै बिरामी थपिए एक हप्तामै अस्पताल औषधिविहीन हुन्छ ।’

बालबालिकामा ज्वरो र निमोनिया बढेपछि एक साताअघि करिब ५ लाख रुपैयाँको औषधि खरिद गरिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताए । ‘यो पटक निमोनिया र भाइरल ज्वरोले अधिकांश बालबालिका थलिएका छन्,’ उनले भने, ‘विगतका वर्षहरूमा यसरी बालबालिका ठूलो संख्यामा बिरामी भएको रेकर्ड नै थिएन ।’ बिरामी बालबालिका बढ्दै गएकाले तत्काल विद्यालय सञ्चालन गर्दा अवस्था जटिल हुन सक्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र २९, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?