राप्ती लोकमार्गमा सधैं सास्ती

हरि गौतम

रुकुम पश्चिम — ढाँरेगैरा र पितिबाङ खोलाका कारण राप्ती लोकमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि ठूलो सास्ती भोग्दै आएका छन् । ढाँरेगैरामा त यात्रुले हिउँदमा पनि दुःख झेल्नुपर्ने बाध्यता छ । ढाँरेगैरामा वर्षामा हिलो र हिउँदमा धूलोका कारण यात्रुले सास्ती भोग्ने गरेका हुन् ।

राप्ती लोकमार्गमा सधैं सास्ती

पितिबाङ खोलामा पुल नबन्दा यात्रुको दुःख थपिएको हो । पहिरो झरिरहने र हिलाम्मे हुने ढाँरेगैरामा सधैं गाडी फस्ने गरेको स्थानीय कमल केसीले बताए । उनका अनुसार पितिबाङमा सानो पानी पर्दा पनि खोला बढेर यात्रा गर्न कठिन हुने गरेको छ । ‘सानो खोलो देखेर तर्न खोज्दा कतिपय गाडी नै खोलाले बगाएको छ,’ उनले भने, ‘सडक बनेको लामो समय भइसक्दा पनि पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा छौं ।’

ढाँरेगैरामा हरेक वर्ष बनाइएको सडक तल झर्छ । माटो मात्रै भएकाले हरेक वर्ष सडक पनि पहिलाको भन्दा माथि बनाइने स्थानीय प्रमिला ओलीले बताइन् । ‘भगवान् भरोसामा यात्रा गरिरहेका छौं,’ उनले भनिन्, ‘सडककै दुरवस्थाले घण्टौं अलपत्र पर्नुपर्ने बाध्यता छ ।’ ढाँरेगैराको सडकको विकल्प खोजिए पनि सम्भव नभएको त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष राजेन्द्र पुनले बताए । ‘वातावरणीय अध्ययन तथा अरू प्राविधिक कारणले पनि अर्को सडक बनाउन सकिएको छैन,’ उनले भने, ‘अरू ठाउँमा पनि त्यस्तै समस्या हुने देखिएपछि सडक बनाउन समस्या भएको हो ।’ दुई वर्षअघि उक्त सडकको विकल्प खोज्न भन्दै जिल्लास्तरीय टोलीले अनुममन गरेको थियो । तर समितिको प्रतिवेदन कागजमै सीमित भएको छ ।

राजमार्ग खुलेको १७ वर्षपछि पितिबाङखोलामा पुल निर्माणको काम सुरु भए पनि निर्माणले गति लिन सकेको छैन । सडक डिभिजन कार्यालय चौरजहारीले पुल निर्माणका लागि ५ करोड २८ लाख रुपैयाँमा संरक्षण निर्माण सेवासँग सम्झौता गरेको छ । कम्पनीले २०७८ को वैशाख ८ गतेभित्र पुल निर्माण गर्ने गरी सम्झौता गरे पनि बेवास्ता गरेको हो । लकडाउन र कोरोना महामारीको निहुँमा निर्माण कम्पनी पन्छिएको मुसीकोट नगरप्रमुख देवीलाल गौतमले बताए । ‘अहिलेसम्म एकापट्टिको पिलर मात्र निर्माण गरिएको छ,’ उनले भने, ‘छिटो काम सक्न ठेकेदार कम्पनीलाई ताकेता गरिरहेका छौं ।’


प्रकाशित : भाद्र २८, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?