सिँचाइ नहुँदा खेत बाँझै

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका–१ नाम्राका ५५ वर्षीय पृथ्वीलाल शर्माले १० वर्षअघि वर्षभरि पुग्ने अन्न उत्पादन गर्थे । उनको बारीमा वर्षाको समयमा धान र मकै तथा हिउँदमा गहुँ र तोरी गरी ३ बाली फल्थ्यो । छिपछिपे सिँचाइ योजनाको पानी अन्यत्र लगिएपछि उनले दशकयता धानबाली लगाउन पाएका छैनन् भने आधा जग्गा बाँझो बनेको छ । 

सिँचाइ नहुँदा खेत बाँझै

उनी मात्र होइन, गाउँका अधिकांश किसानको घरमा अहिले वर्षभरि पुग्ने अन्न फल्दैन । बन्गाडकुपिण्डे नगरपालिका–३ स्थित इरोखोला मुहानको सिँचाइको पानी पोखरीका स्थानीयले नयाँ योजनामार्फत लिएपछि नाम्राका अधिकांश जग्गा बाँझै बनेका हुन् । सिँचाइ अभावमा करिब १ हजार २ सय रोपनी खेतीयोग्य जग्गा बाँझो बनेको उनले बताए । उनका अनुसार गाउँका ४ सय घरधुरीमा सिँचाइ समस्या छ ।

वर्षभरि खान पुग्ने खेत बाँझै भएपछि जीविकोपार्जनमा समस्या भएको अर्का किसान खुम ओलीले बताए । ‘परम्परागत खेतीमा निर्भर भए पनि बर्सेनि जीविकोपार्जनको चिन्ता हुन्छ,’ उनले भने, ‘सिँचाइ भए व्यावसायिक तरकारी खेती पनि गर्न सकिन्थ्यो ।’ उनका अनुसार स्थानीयको जनश्रमदानबाट २०४२ मा सिँचाइ योजना निर्माण गरिएको थियो । राजनीतिक पहुँच नहुँदा सिँचाइ योजना अलपत्र परेको उनको गुनासो छ ।

सिँचाइको अभावमा बर्षेनि खाद्यान्न अभावको समस्या भोग्नुपरेको स्थानीय पूर्णबहादुर केसीले बताए । ‘सिँचाइ सुविधा भए गाउँ आसपासका जग्गामा वर्षमा ३ बाली लगाउन सकिन्थ्यो, अहिले सबै खेतहरू पाखोबारीमा परिणत भएका छन्,’ उनले भने, ‘लामो समयदेखि सिँचाइ हुन छाडेपछि अधिकांश खेतमा घाँस उम्रिन थालेको छ ।’ उनले आकाशे पानीको भरमा मात्र गाउँमा खेती भइरहेको बताए । सिँचाइकै कारण उर्वर फाँट बाँझो राख्नुपर्ने बाध्यता भएको उनको गुनासो छ ।

बन्गाडकुपिण्डे नगरपालिकामा पानीको स्रोत कम भएकाले सिँचाइ र खानेपानी योजनामा वर्षौदेखि बिवाद हुँदै आएको वडाध्यक्ष शान्तकुमार यरीले बताए । ‘बजेट अभावमा सिँचाइ योजना सुचारु गर्न सकिएको छैन,’ उनले भने, ‘गाउँमा लिप्ट सिँचाइबाहेक अरू योजनाको विकल्प छैन, स्थानीय सरकारको सीमित बजेटले सबै ठाउँमा सिँचाइ सुविधा पुर्‍याउन समस्या भयो ।’ उनका अनुसार मुहानबाट पानी लैजाने विषयमा दुवै गाउँबीच २०४३ सालदेखि विवाद थियो ।

प्रकाशित : भाद्र २८, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?