२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

स्वास्थ्य केन्द्र ३ वर्षदेखि डाक्टरविहीन

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका–४ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्र ३ वर्षदेखि डाक्टरविहीन हुँदा बिरामीहरू उपचारका लागि सदरमुकाम आउन बाध्य छन् । प्राथमिक स्वास्थ्य केन्द्र लामो समयदेखि अहेवको भरमा छ । 

स्वास्थ्य केन्द्र ३ वर्षदेखि डाक्टरविहीन

छत्रेश्वरी, दमाचौर, झिम्पे र शारदा नगरपालिका–१३ स्यानीखालका स्थानीयलाई उपचार सुविधा दिन लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो ।

२०६४ मा केन्द्र स्थापना गरिएको हो । केन्द्रमा कार्यरत डाक्टर अध्ययन बिदामा गएपछि ३ वर्षदेखि अहेवको भरमा रहेको स्थानीय शेरबहादुर बस्नेतले बताए । उनका अनुसार केन्द्रमा एक्सरे मेसिन जडान गरेको ३ वर्ष पुगे पनि सञ्चालनमा आउन सकेको छैन । ‘एक्सरे सञ्चालनमा नआउँदा निजी मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्वास्थ्यचौकी सरहको सुविधासमेत नहुँदा सामान्य बिरामी हुँदा पनि सदरमुकाम जानुपर्ने बाध्यता भएको हो ।’

उनले प्रसूति सेवा पनि भरपर्दो नभएको गुनासो गरे । डाक्टरको दरबन्दी पूर्ति नहुँदा विभिन्न उपकरण थन्किएको स्थानीय दिलाराम बोहराले बताए । ‘सामान्य औषधिसमेत पाइँदैन,’ उनले भने, ‘केन्द्रभन्दा मेडिकलकै भर छ ।’ केन्द्र स्थापनाका लागि लामो संघर्ष गरेको उनले बताए । केन्द्र त्रिवेणी गाउँपालिकाको लुहाममा स्थापना गर्ने कुरा चलेपछि स्थानीयले आन्दोलन नै गरेका थिए ।

केन्द्रमा उपचारका लागि गए पनि पर्याप्त औषधि, उपकरण र डाक्टर नहुँदा समस्या हुने गरेको स्थानीय धनबहादुर पुनले बताए । ‘स्वास्थ्यकर्मीले रुघाखोकी र ज्वरोबाहेक अरू रोगको स्वास्थ्य परीक्षण नै गर्दैनन्,’ उनले भने, ‘न अस्पतालमा औषधि हुन्छ ।’

केन्द्रमा बल्लबल्ल १० वर्षपछि आएका डाक्टर पनि अध्ययन बिदामा गएपछि उपचारमा समस्या भएको उनको गुनासो छ । उनले नाम मात्रको केन्द्र हुँदा बिरामीले सहज उपचार पाउन नसकेको बताए । उनका अनुसार गर्भवती महिलाहरू पनि सुत्केरी हुन जिल्ला अस्पताल पुग्न बाध्य छन् । केन्द्रका निमित्त इन्चार्ज वीरबहादुर ओलीले डाक्टरसहित ९ जनाको दरबन्दी रहेको पनि एचए र स्टार्फ नर्सकै दरबन्दी पूर्ति हुन नसकेको बताए । उनका अनुसार अहिले केन्द्रबाट बिरामीको स्वास्थ्य परीक्षण, प्रसूति र ल्याव सेवा सञ्चालन भइरहेको छ ।

‘विकट क्षेत्र भएकाले डाक्टर आउनै मान्दैनन्,’ उनले भने, ‘गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माणको प्रक्रिया अघि बढाएको छ, पूरा भए यही गुणस्तरीय उपचार पाइनेछ ।’ केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं ४ नम्बर वडाध्यक्ष लीलाधर घर्तीले डाक्टरको माग गर्दै विभिन्न निकायको ध्यानाकर्षण गराए पनि बेवास्ता भइरहेको बताए ।

प्रकाशित : भाद्र २४, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?