२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

थपिँदै २० अक्सिजन प्लान्ट

दिनमा ४० सिलिन्डर भर्न सकिने, जाजरकोट र डोल्पामा निर्माण प्रक्रियै अघि बढेन
चाँदनी कठायत

वीरेन्द्रनगर — दोस्रो लहरको कोरोनाका बेला अक्सिजनको चरम अभाव भोगेको कर्णालीमा अक्सिजन प्लान्ट थपिँदै गएका छन् । कोरोनाको तेस्रो लहरको जोखिम आउने भन्दै कर्णालीका अस्पतालहरूमा अक्सिजन प्लान्ट थपिएका हुन् ।

थपिँदै २० अक्सिजन प्लान्ट

संघीय तथा प्रदेश सरकार, स्थानीय तह र विभिन्न दातृ निकायको बजेटबाट अक्सिजन प्लान्ट खरिद गरी ल्याइएको हो । प्रदेशभरका विभिन्न अस्पतालमा ११ ठूला र ९ साना अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने तयारी थालिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जसमध्ये दुई वटा ठूला तथा नयाँ अक्सिजन प्लान्ट रुकुम पश्चिम र कालीकोटमा जडान गरी सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार १७ वटा अक्सिजन जडान हुने प्रक्रियामा छन् । सञ्चालनमा ल्याइएका ठूला क्षमताका अक्सिजन प्लान्टले २४ घण्टामा ४० वटा अक्सिजन सिलिन्डर भर्न सक्ने उनले जानकारी दिए ।

जाजरकोट र डोल्पामा भने अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढेको छैन । संघीय सरकारको अर्थ मन्त्रालयले कर्णालीका तीन अस्पताललाई अक्सिजन प्लान्ट र हाई डिपेन्डेन्सी युनिट (एचडीयू) खरिद तथा जडानका लागि २० करोड ६५ लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिमका लागि उक्त प्रक्रिया अगाडि बढाउन बजेटसहित गत जेठमा सहमति दिएको हो ।

प्रदेश अस्पतालका लागि मन्त्रालयले अक्सिजन प्लान्ट खरिद र एचडीयू जडान खरिद गर्न ६ करोड २५ लाख ४० हजार तथा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माण गर्नका लागि १२ करोड ८० लाख रुपैयाँ बजेट आएको छ । अस्पतालमा थप दुई वटा अक्सिजन प्लान्ट निर्माणको तयारी गरिएको तथ्यांक रेकर्डर अधिकृत विनोद बस्नेतले बताए । उनका अनुसार अस्पतालमा एउटा अक्सिजन प्लान्ट सञ्चालनमा छ । निर्देशनालयका अनुसार अहिले कर्णालीमा ३ हजार १ सय ४७ वटा अक्सिजन सिलिन्डर छन् ।

१ हजार १९ अक्सिजन कन्सन्ट्रेटर, १ सय ८५ वटा एचडीयू बेड १८ वटा एनआईसीयू बेड र आठ वटा पीआईसीयू बेड तयारी अवस्थामा रहेको निर्देशनालयले जनाएको छ । अर्थ मन्त्रालयले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडानका लागि २ करोड ८० लाख र एचडीयू जडानका लागि ३ करोड रुपैयाँ बजेट पठाएको छ । अस्पतालका लेखा प्रमुख मकेन्द्र शाहीले उक्त बजेटबाट गत आर्थिक वर्षमा नै टेन्डर प्रक्रिया पूरा गरिसकिएको जनाए । उनका अनुसार प्रतिष्ठानले २ करोड ५५ लाख ६ हजार ३ सय ६० रुपैयाँमा टेन्डर गरी एचडीयू जडान गर्दै छ । यस्तै, २ करोड ४८ लाख बजेटमा अक्सिजन प्लान्ट जडानका लागि टेन्डर गरिएको उनले जानकारी दिए ।

प्रतिष्ठानमा एक मिनेटमा एक हजार लिटर अक्सिजन उत्पादन हुने ठूलो क्षमताको अक्सिजन प्लान्ट जडानको प्रक्रिया थालिएको छ । अहिले एउटा मिनी अक्सिजन प्लान्ट सञ्चालनमा रहेको शाहीले बताए । उक्त प्लान्टबाट दैनिक आठ वटासम्म सिलिन्डर भर्न मिल्छ । अस्पतालका ३२ वटा बेडमा पाइपलाइनमार्फत नै अक्सिजन सप्लाइ गरिएको छ ।

रुकुम पश्चिमको चौरजहारी अस्पताललाई अक्सिजन प्लान्ट खरिद र जडानका लागि अर्थ मन्त्रालयले ७५ लाख रुपैयाँको बजेट सहमति दिएको छ । तर अस्पतालले भने प्रदेश सरकारको १ करोड र नगरपालिकाको १२ लाख ५० हजार रुपैयाँ बजेटले अक्सिजन प्लान्ट खरिद गरी जडान गरिसकेको छ । उक्त प्लान्टले दैनिक ३० देखि ४० वटा सिलिन्डर अक्सिजन भर्न मिल्छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कटकुवा नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउँदै छ । अक्सिजन प्लान्टको संरचना निर्माण र मेसिन जडानको काम सकिएको नगरपालिकाले जनाएको छ । उक्त प्लान्टले एक दिनमा एक सय ५० देखि एक सय ७० वटासम्म सिलिन्डर भर्न सक्छ ।

संघीय सरकारले देशभरका २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माण गर्न गत जेठ २ गते २ अर्ब ९५ करोड २० लाख रुपैयाँ छुट्याउने निर्णय गरेको थियो । यस्तै, मन्त्रालयले अक्सिजन प्लान्ट र एचडीयू खरिद तथा जडानका लागि १७ करोड ८७ लाख ७० हजार बजेटसहित प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरेको थियो ।

प्रकाशित : भाद्र २१, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?