खुल्‍न थाले सल्यानका विद्यालय

विप्लव महर्जन

सल्यान — कोरोना संक्रमण दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै जिल्लाका स्थानीय तहले भौतिक उपस्थिती गराएर विद्यालय सञ्चालन गरेका छन् । कोरोना जोखिम उत्तिकै भएपनि स्वास्थ्य मापदण्ड पालना गरी स्थानीय तहले भौतिक रुपमा विद्यालय खोल्न थालेका हुन । 

खुल्‍न थाले सल्यानका विद्यालय

जिल्लाका १० स्थानीय तहमा सामुदायिक र निजी गरेर ५ सयभन्दा बढी विद्यालय छन् । अहिलेसम्म त्रिवेणी गाउँपालिका र छत्रेस्वरी गाउँपालिकाका ७७ विद्यालय स्वास्थ्य मापदण्ड अपनाउँदै भौतिक रुपमा सञ्चालनमा आइसकेका छन् ।

शारदा नगरपालिकाभित्रका विद्यालय भदौ २२ गतेदेखि सञ्चालनमा आउने भएका छन् भने अन्य स्थानीय तहले तीजलगत्तै विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेका छन ।

त्रिवेणी गाउँपालिकाकाले चारदिन पहिला गरेको निर्णय अनुसार भदौ १८ गतेदेखि नै पालिकाका सबै ३५ विद्यालय भौतिक उपस्थितीमा सञ्चालनमा आएको शिक्षा संयोजक दलबहादुर रानाले बताए । छत्रेस्वरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशर ओलीले विभागले गरेको निर्णय अनुसार पालिकाका ४० सामुदायिक र दुई निजी गरी ४२ विद्यालय आइतबारदेखि भौतिक रुपमा सञ्चालन गरिएको बताए । उनले योभन्दा अघि नेपाल टेलिकमले उपलब्ध गराएको सीयूजी सिमको आधारमा वैकल्पिक कक्षा सञ्चालन गर्दै आएको जानकारी दिए ।

शारदा नगरपालिका सल्यानका स्वास्थ्य संयोजक लिलाधर बबालले नगरपालिकाले गरेको निर्णय अनुसार यहि २२ गतेदेखि पालिकाका सबै ७० विद्यालय सञ्चालनमा आउने बताए ।

कपुरकोट गाउँपालिकाका शिक्षा सहसंयोजक रमेश आचार्यले पालिकाले आधिकारिक निर्णय नगरेपनि छिट्टै बैठक बसेर तीजपछि विद्यालय सञ्चालन गरिने बताए । ५१ विद्यालय रहेको कालिमाटी गाउँपालिकाका केहीले आलापालो गरी भौतिक रुपमा र केहीले वैकल्पिक कक्षा सञ्चालन गरेपनि पालिकाको निर्णय नभएकाले भौतिक रुपमा विद्यालय सञ्चालन गर्न कठिनाइ भएको शिक्षा संयोजक बिन्दुर केसीले बताए ।

प्रकाशित : भाद्र २०, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?