कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साक्षर अभियान अलपत्र

चाँदनी कठायत

वीरेन्द्रनगर — संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित साक्षर अभियान सुरु गर्‍यो । तर १३ वर्ष बितिसक्दा पनि कर्णालीका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी छन् । मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पाका ३६ स्थानीय तह साक्षर घोषणा गर्न बाँकी छ ।

साक्षर अभियान अलपत्र

आव ०७५/०७६ मा कर्णाली प्रदेश सरकारले तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने भन्दै दुई करोड रुपैयाँ बजेट विनियोजन गर्‍यो । विद्यालय नजाने तथा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न बालबालिकालाई ‘विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ’ भन्ने नाराका साथ अभियान पनि चल्यो । तर उक्त अभियान अहिले अलपत्र परेको छ ।

अभियान सुरु भएको पहिलो वर्ष प्रदेश सरकारले प्रदेशभरका ७९ स्थानीय तहलाई प्रोत्साहन स्वरुप एक करोड ७० लाख बजेट दियो । तर कार्यक्रमले सार्थकता पाएन । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारले पुनः दुई वर्षभित्र प्रदेशलाई साक्षर घोषणा गर्ने घोषणा गर्‍यो । तर उक्त कार्यक्रम पनि अघि बढ्न सकेन । कर्णाली प्रदेश योजना आयोगको प्रथम पञ्चवर्षीय योजनाअनुसार कर्णालीको साक्षरता दर ६६ प्रतिशत रहेको छ । योजना आयोगले आव ०८०/८१ सम्म कर्णालीको साक्षरता दर ९५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार साक्षर घोषणा हुन बाँकी ३६ स्थानीय तहमा अझै चार लाख ७७ हजार आठ सय ४१ जना नागरिक निरक्षर छन् । तथ्याङ्क अनुसार १५ देखि ६० वर्ष उमेर समूहका १२ हजार ६ सय ४८ जना नागरिक निरक्षर छन् । यीमध्ये सबैभन्दा धेरै १५ वर्षदेखि ६० वर्ष उमेर समूहका कालिकोटमा चार हजार दुई सय ७० जना नागरिक निरक्षर छन् । मुगुमा तीन हजार दुई सय, जुम्लामा दुई हजार आठ ६०, हुम्लामा एक हजार सात सय ६३ र डोल्पामा पाँच सय ५५ जना नागरिक निरक्षर छन् ।

कोरोना महामारीका कारण भएको लकडाउन र निषेधाज्ञाले अभियानमा धक्का पुगेको सामाजिक विकास मन्त्रालयको शैक्षिक विकास तथा परीक्षा व्यवस्था शाखाका अधिकृत बलवीर सुनारले बताए । उनका अनुसार अभियानलाई सार्थकता दिलाउन स्थानीय तहलाई बलियो बनाउने भन्दै सरकारले नयाँ योजना अघि सारेको छ । ‘कोरोनाका कारण साक्षरता अभियानले पूर्णता पाउन सकेन’ उनले भने, ‘अब अभियानलाई निरन्तरता दिइनेछ ।’

प्रकाशित : भाद्र १९, २०७८ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?