५० घर पहिरोको जोखिममा

पहिरोले ३७ किलोवाट क्षमताको भेरीखोला लघु जलविद्युत् आयोजनामा पनि ठूलो क्षति पुर्‍याएको छ
हरि गौतम

रुकुम पश्चिम — निरन्तरको पहिरोले नगरपालिका–१० का ३ बस्ती जोखिममा परेका छन् । पहिरोका कारण ३ बस्तीका झण्डै ५० घरपरिवार उच्च जोखिममा परेका हुन् । 

५० घर पहिरोको जोखिममा

साउनेपानीदेखि माथिको गाउँ, गलमपाटी र झ्याङ बस्ती पहिरोको उच्च जोखिम परेको वडा सदस्य धनबहादुर खड्काले बताए । उनका अनुसार यी ३ बस्ती र अरू वडाका ११ घरमा पनि पहिरोको जोखिम छ । पहिरोले सडक र घोडेटो बाटो, खानेपानीका योजनालगायतका संरचना बगाइदिएको उनले जानकारी दिए । ‘निरन्तर पहिरो खसिरहन थालेपछि स्थानीय त्रसित भएका छन्,’ उनले भने, ‘केही मान्छे घर छाडेर पनि अन्यत्र गइसकेका छन् ।’

पहिरोले ३७ किलोवाट क्षमताको भेरीखोला लघु जलविद्युत् आयोजनामा पनि ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म टीकाराम बुढा, पलबहादुर बुढा र भोलाप्रसाद बुढाको घर भत्किएको वडा कार्यालयले जनाएको छ । ३ बस्ती र आसपासका गाउँका झन्डै २ दर्जन परिवारले घर छाडेको वडा सदस्य खड्काले बताए । ‘अन्यत्र घर हुनेहरू आफ्नै घरमा बसेका छन् भने कति अरूकै घरमा बसेका छन्,’ उनले भने, ‘सबैतिर पहिरो झरिरहेकाले अरू घरपरिवार पनि बसाइँ सर्ने तयारीमा छन् ।’ स्थानीय लोकेन्द्र कठायतले निरन्तर पहिरो झरिरहेका कारण ठूलो समस्या भइरहेको बताए । ‘यहाँ दिनरात पहिरो झरिरहेको छ, खानेपानी, सडक र विद्युत् पनि बन्द छ,’ उनले भने, ‘जोखिममा परेका बस्तीमा बस्न सकिने अवस्था छैन ।’ उनले सुरक्षित विकल्पका बारे कसैले ध्यान नदिएको गुनासो गरे ।

पहिरोबाट सबैलाई सुरक्षित राख्ने गरी आवश्यक तयारी थालिएको वडाध्यक्ष गोपेश्वर केसीले बताए । उनका अनुसार जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको छ । ‘निरन्तर पहिरो आइरहेको छ, सबैतिर पहिरै पहिरो छ,’ उनले भने, ‘सबैलाई पहिरोबाट सुरक्षित राख्न आवश्यक पूर्वतयारी थालेका छौं ।’ उनका अनुसार गत वर्ष साउनको अन्तिम साताबाट पहिरो झर्न थालेको थियो ।

यो वडा भौगोलिक रूपमा कमजोर मानिन्छ । स्थानीयले यसअघि नै यहाँको बस्ती सार्न माग गरेका थिए । जतिखेर जे पनि हुन सक्छ भन्दै बस्ती सार्न प्रस्ताव गरिएको स्थानीय शिक्षक खडकसिंह कठायतले बताए । उनका अनुसार पछिल्लो समय सबैतिर सडक निर्माण गर्दा भूगोल खुकुलिएको छ । यही वडालाई छोएर जिल्लामै पहिलोपल्ट आस्फाल्ट कंक्रिटवाला सडक निर्माण भइरहेको उनले जानकारी दिए । ‘उच्च प्रविधिको सडकले पनि पहिरो झर्नमा सहयोग पुग्यो,’ उनले भने, ‘विकाससँगै विनाश न्यूनीकरणका लागि सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।’

प्रकाशित : भाद्र ३, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?