कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

इलाका प्रशासनबाट नागरिकता

छपाल लामा

हुम्ला — सर्केगाडस्थित इलाका प्रशासन कार्यालयबाट ५ वर्षपछि नागरिकता वितरण फेरि सुरु भएको छ । कर्मचारी जान नमान्दा कार्यालयको सेवा प्रवाह बन्द थियो । 

इलाका प्रशासनबाट नागरिकता

हुम्लाका चार गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गर्दै सर्केगाडमा २०७३ असार ३० गते इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । स्थापनाको झन्डै १ वर्ष अधिकृतस्तरका कर्मचारी बसे पनि त्यसयता कार्यालय कर्मचारीविहीन भएको थियो ।

कार्यालयमा नायब सुब्बा भीमबहादुर रोकायाले कायमुकायम अधिकृतको जिम्मेवारी सम्हालेपछि आइतबारबाट नागरिकता वितरण सुरु भएको छ । सर्केगाडसहित चंखेली, अदानचुली र नाम्खा गाउँपालिकाका स्थानीयलाई नागरिकताका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता पनि हटेको छ । ‘अब कर्मचारी अभावकै कारण सेवाप्रवाह रोकिन्न,’ रोकायाले भने, ‘हाम्रो अधिकारभित्रका सबै सेवा यहीबाट सञ्चालन हुनेछन् ।’ उनले आइतबार ६ जनालाई नयाँ नागरिकता र एउटा प्रतिलिपि वितरण गरिएको जानकारी दिए ।

कार्यालयले राहदानीसहित अन्य कागजात पनि सिफारिस गर्छ । इलाका प्रशासनबाटै नागरिकता पाउँदा सदरमुकाम पुग्नुपर्ने बाध्यताबाट मुक्ति पाइएको सर्केगाड गाउँपालिका–२ की ३० वर्षीया बाटुली विकले बताइन् । ‘सदरमुकाम जान नसक्दा नागरिकताबाट वञ्चित थिए,’ उनले भनिन्, ‘उमेर पुगेको १४ वर्षपछि गाउँबाटै नागरिकता पाइयो ।’ आइतबार नागरिकता पाएपछि उनले बैंक खातासमेत खोलेको बताइन् ।

सिमकोट आउजाउ गर्न दुई दिन लाग्ने भएकाले स्थानीयले लामो समयदेखि नागरिकता बनाएका छैनन् । सर्केगाड आसपासका बासिन्दालाई सदरमुकाम आई नागरिकता बनाउँदा एक जनाले कम्तीमा पनि १० हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ । ‘सदरमुकाम आउजाउ गर्दा खर्च पनि धेरै लाग्ने र भौगोलिक विकटताका कारण सास्ती भोग्नुपर्ने बाध्यता छ,’ विकले भनिन्, ‘नागरिकता पाएसँगै विभिन्न सरकारी सेवा सुविधामा जोडिएकी छु ।’ कर्मचारी अभावकै कारण ५ वर्षसम्म सेवा प्रवाहमा ठूलो सास्ती भोगेको चंखेली गाउँपालिकाकी निशासिंह शाहीले बताइन् । ‘सामान्य सिफारिसका लागि पनि ठूलो सास्ती भोग्यौं,’ उनले भनिन्, ‘अब नागरिकता बनाउन सदरमुकाम जानु नपर्ने भयो ।’

प्रकाशित : भाद्र २, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?