दूधबाट रुकुम पश्चिममा भित्रियो ४० लाख- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूधबाट रुकुम पश्चिममा भित्रियो ४० लाख

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — गत आर्थिक वर्षमा जिल्लाबाट झन्डै ७४ हजार लिटर दूध जिल्ला बाहिर गएको छ । एक वर्षमा जिल्लाबाट ७३ हजार ९ सय ९४ लिटर दूध नेपालगन्ज गएको हो । 

दुई वर्षदेखि मुसीकोट नगरपालिका–४ स्थित नागरिक दुग्ध सहकारी संस्थाले दुग्ध विकास संस्थान नेपालगन्जमा दूध पठाउने गरेको छ ।

संस्थाका अनुसार गत आर्थिक वर्षमा दूधबाट जिल्लामा ४० लाख ६७ हजार रुपैयाँ भित्रिएको छ । आर्थिक वर्ष २०७६/०७६ को तुलनामा भने गत आर्थिक वर्षमा दूधको निर्यात घटेको हो । ०७६/०७७ मा १ लाख १४ हजार ८ सय ८० लिटर दूध निर्यात भएको थियो । जसबाट जिल्लामा ६१ लाख रुपैयाँ आम्दानी भएको संस्थाले जनाएको छ । गत आर्थिक वर्षमा कोरोना महामारीका कारण दूधको निर्यात घटेको नागरिक दुग्ध सहकारी संस्थाका अध्यक्ष धिरण शेपालीले बताए । ‘कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लामो समय निषेधाज्ञा हुँदा बढी दूध बाहिर पठाउन सकिएन,’ उनले भने ।

जिल्लाबाट गत आर्थिक वर्षमा ७४ हजार लिटर दूध बाहिर गएको छ भने जिल्ला भित्रै १४ हजार ७ सय २८ लिटर दूध बिक्री गरेको सहकारीले जनाएको छ । दहीलगायतको दुग्धजन्य पदार्थ उत्पादनमा दूध खपत भएको सेर्पालीले बताए । उनका अनुसार सहकारीले बितेको वर्ष १ हजार ६ सय ५७ लिटर दही, ४४ किलो पनिर, ३५ किलो र २८ किलो घ्यू बिक्री गरेको छ ।

सहकारीले किसानले उत्पादन गरेको दही र घ्यू पनि खरिद गरिरहेको छ । एक वर्षमा ५३ लाख रुपैयाँको कारोबार गरिएको संस्थाले जनाएको छ । त्यसमध्ये ३८ लाख ७१ हजार रुपैयाँ किसानलाई भुक्तानी दिइएको अध्यक्ष सेर्पालीले बताए ।

प्रकाशित : भाद्र २, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्

४७ वर्षपछि कराँची जेलमा भेटिए बलबहादुर

उनीसँग न नागरिकता थियो, न राम्ररी नेपाली बोल्न जान्दथे
देवेन्द्र भट्टराई

काठमाडौँ — आजभन्दा ४७ वर्षअघि बर्दियाको सीतापुरबाट एक ८ वर्षे बालक कोही चिनारुको घरमा काम गर्ने र पढाइसमेत गर्ने गरी घरबाट निकालिए । समयको अन्तरमा हुर्काइबढाइसँगै ती बालक कता पुगे, कता हराए– कहिल्यै ख्याल भएन ।

आज ती बालक मन भनिने बलबहादुर भण्डारी बुढ्यौली छेकको उमेरमा पाकिस्तानको कराँची जेलमा भेटिएका छन्, जो आफ्नो जन्मस्थल र बाबुको नाम मात्रै सम्झिरहेका छन् ।

‘ठूल्दाइ अझै यो दुनियाँमा होलान् भन्ने लागेको थिएन, सपनामा पनि सोचिएन,’ ५२ वर्षीय भाइ गुमानसिंहले बाँकेको भित्री गाउँ हल्दारपुरबाट फोनमा सुनाए, ‘पाकिस्तानबाट पठाएको ठूल्दाइको फोटो पाइयो, अनुहार मोबाइलमै छामिहेर्‍यौं । सबै सपनाजस्तै लागिरहेको छ ।’

बलबहादुरका ७९ वर्षीय बाबु पनि वर्षौंवर्षदेखि बेपत्ता रहेको जेठो छोराका बारे ‘बाँचेकै छ’ भन्ने खबर पाएपछि र उसको तस्बिरसमेत हेर्न पाएपछि छोरो घर फिर्ने आसमा छन् । ‘केटाकेटी अनुहार मात्रै सम्झन्छु, दुनियाँमै छ होला भन्नेसम्म पनि थिएन । बिचरो, जेलमा पो रहेछ, अहिले थाहा भयो,’ कान कमै सुन्ने बाबु बलबहादुरले अरूकै सहारामा फोनमा भने ।

‘म त मेरो दाइ रहेछ भनेर कल्पना पनि गर्न सकिरहेको छैन । म आफैं पनि १८ वर्षजति भारतको आग्रामा बसेर मजदुरी गर्दै घर फिरेको हुँ,’ बलबहादुरका ४३ वर्षीय कान्छा भाइ सुरेन्द्र भण्डारीले बर्दियाबाट फोनमा भने, ‘कराँची जेलमा रहेका जेठा दाइको फोटो सबैले हेर्‍यौं तर कसैले चिनेनौं । कहिल्यै देखेको भए पो चिन्नू !’ परिवारका कान्छा सुरेन्द्र नजन्मँदै जेठा बलबहादुर परिवारबाट टाढिएका थिए, जसको बाल्यकालीन फोटो वा चिनासम्म पनि घरमा थिएन ।

त्यो बेला टिम्बर कर्पोरेसनमा काम गर्ने एक जना शाही थरका नेपालगन्जका हाकिमले ८ वर्षे उमेरमा लिएर गएका बलबहादुर त्यसपछिको ७/८ वर्षसम्म उनैकहाँ घरेलु कामदारझैं बनेर रहे, बसे । त्यसबीचमा घरपरिवारको कहिल्यै कहीं सम्पर्क भएन, ती नाबालकलाई समेत ‘लाहुर गएको छोरो’ झैं गरियो । ती शाहीको घरबाट निस्किएपछि नेपालगन्जका एक जना सुरज राना नामका व्यक्तिले आफ्ना दाइलाई भारत, गुजरात लगेकोबारे सुनेको भए पनि यसबारे फेरि कहिल्यै पुष्टि नभएको गुमानसिंहले सुनाए । गुजरातको सुरत भन्ने ठाउँमा दाइ बलबहादुरले चौकीदारी गर्छन्, होटलमा सानोतिनो काम गर्छन् र फुर्सदमा समुद्रतिर माछा मार्न जान्छन् रे भनेर आफूले धेरैअघि सुनेको भए पनि यसको पुष्टि हुनै सकेन । अथवा, दाइलाई खोज्न जाने उपाय र अवस्था पनि कहिल्यै जुरेन ।

ठूल्दाइ बमबहादुर बेपत्ता भएको घटना बिर्सनु त्यति सजिलो थिएन, तर अचम्मलाग्दो पनि थिएन । किनभने भण्डारी परिवारमा सबैजसो छोराहरू ‘भारत जाँदै हराउँदै’ गरिरहेका थिए । बलबहादुरका बाबु ४० वर्षजति भारतमै हराएर उनलाई गुजराततिरबाट खोजबिन गर्दै घरफिर्ता ल्याइएको थियो । ८ वर्षे उमेरमा जेठो छोराले घर छाडेपछि र अरू ससाना छोराछोरी छँदै श्रीमती बितेपछि बाबु एक प्रकारले मानसिक तनाव खेप्न नसकेरै भारत छिरेका थिए । अर्का भाइ सुरेन्द्र पनि वर्षौंवर्षदेखि भारतमै हराएपछि झन्डै १८ वर्षपछि घर फर्किएका थिए ।

‘हामीलाई धेरैजसोले हराउने र भेटिने भण्डारी परिवार भनेर चिन्छन् । यहीबीच झन्डै ८ महिनाअघि स्थानीय प्रहरी–प्रशासनका मान्छे बर्दिया (सीतापुर) मा मेरो पुरानो थातथलो र बसाइँसराइको नयाँ ठाउँ खोज्दै यहाँ नेपालगन्ज (हल्दारपुर) सम्मै आइपुगे,’ उनले भने, ‘पाकिस्तानको कराँची जेलमा रहेको एक जनाले आफ्नो नाम बलबहादुर भण्डारी र आफ्नो घर बर्दियामा रहेको भनेपछि त्यसको खोजबिन र सर्जमिनमा प्रहरी आएको रहेछ । नभन्दै हो रहेछ । ४७ वर्षअघि परिवारबाट टाढिएका आफ्नै दाइ पो कराँची जेलमा रहेछन् ।’

यसअघि गुल्मी, बडागाउँका यमबहादुर सार्की पनि यसैगरी ६ वर्षअघि भारतको पञ्जावबाट मछुवारको भरिया बनेर जहाजमा हिँडिरहेकै बेला पाकिस्तान छिरेका थिए । कराँचीको ल्यान्डी जेलमा डेढ वर्ष थुनिएर मात्रै उनी घर फिरेका थिए । यस्तै, बडागाउँकै मीनबहादुर सर्तुङ्गे मगर पनि सन् २०१२ मा ‘माछा भरिया’ बनेकै भरमा कराँची जेलमा २९ महिना थुनिएका थिए ।

भारतको गुजरात क्षेत्रमा माछा मार्दै जाँदा सामुद्रिक जलक्षेत्र सीमा (लाइन अफ कन्ट्रोल) नाघेर थाहै नपाई अर्को भूभागमा पुगेपछि कहिले भारतीय र कहिले पाकिस्तानीले एकअर्का देशका नागरिकलाई थुनामा राख्ने गरिँदै आएको छ । यही क्रममा सन् २०१७ मे/जुनमा पाकिस्तानी सामुद्रिक जलक्षेत्रमा भेटिएका भारतीय एक दर्जन मछुवारको टोलीमा जोडिएर कराँची जेलमा (डिस्टिक प्रिजन एन्ड करेक्सनल फ्यासिलटी) बलबहादुर पनि थुनिएका थिए । झन्डै ६ महिनाअघि थुनामुक्त प्रक्रिया सुरु हुँदा अरू भारतीय मछुवार घर फर्किए पनि बलबहादुरले आफूलाई ‘नेपाली’ भनेर चिनाएपछि उनी फेरि पनि त्यहीं थन्किएका थिए । त्यसपछि उनको थातथलो बर्दिया (सीतापुर) मा रहेको र बाबुको नामसमेत पुष्टि भएपछि इस्लामाबादस्थित नेपाली दूतावासले बलबहादुरलाई घर फर्काउने पहल थालेको हो । यो स्वाभाविक थियो– नागरिकता न जन्मदर्ता रहेका मनबहादुरले कहींकतै आफूले आफूलाई नेपाली ‘भनाएर’ पनि तत्कालै हुनेवाला केही थिएन ।

‘६ महिनाअघि बलबहादुर भण्डारीको थातथलो र आफन्तको पहिचान भएपछि तथा उनको परिचयपत्र बनाउन सम्भव भएपछि उनलाई थुनामुक्त गरिएको छ । अहिले उनलाई घरफिर्ती केन्द्रजस्तो सेल्टर हाउसमा राखिएको छ,’ इस्लामाबादबाट राजदूत तापस अधिकारीले कान्तिपुरसँग फोनमा भने, ‘उनी यसैसाता काठमाडौं फर्कनेछन् । काठमाडौंमा वैदेशिक रोजगार बोर्डको सहयोगमा बलबहादुरलाई बाँके–बर्दिया घरसम्मै गाडी सुविधामा पुर्‍याइने प्रबन्ध भएको छ ।’ राजदूत अधिकारीका अनुसार, लामो समय नेपाली बोलचालमा बानी नपरेकाले बलबहादुर मुस्किलले मात्रै नेपाली बोल्न सक्छन् । बाल्यकालीन बाँके–बर्दियाको जीवनबारेमा पनि उनलाई त्यति सम्झना छैन ।

कराँची जेल प्रशासनको सहयोगमा दूतावासका अधिकारीले ‘भर्चुअल’ कुराकानी गर्ने क्रममा उनले आफ्नो नाम ‘बलबहादुर’ बताए पनि उनको सानाको नाम मनबहादुर रहेको दाजु गुमानसिंहले बताए । ‘बलबहादुर त हाम्रो ७९ वर्षे बाबुको नाम हो, ठूल्दाइको नाम भने मनबहादुर हो,’ गुमानसिंहले भने । ४६ वर्षपछि घर फिर्दै गरेका ठूल्दाइले बर्दियामा बाबुका साथमा बस्न चाहेमा अथवा बाँकेमा आफूसँगै बस्न चाहे पनि बसोबासको प्रबन्ध गरिने उनले सुनाए । ‘बरु अबको जीवनमा गरिखाने जोहो कसरी जुटाउने होला, दाइले माछा मार्ने र माछाको भरिया बन्नेबाहेक अरू के काम सिकेको होला भन्ने हामी सबैलाई लागिरहेको छ,’ उनले थपे ।

तस्बिरमा समेत आफ्नो दाइ भनेर चिन्न नसकिरहेको र बाल्यकालीन कुनै स्मृति नजोडिएका रगत साइनोका ठूल्दाइलाई लिन गुमानसिंह आफैं काठमाडौं आउँदै छन् । ‘यो सबै कुरा साँच्चै हो कि होइन जस्तो लागिरहेको छ,’ उनले भने, ‘इस्लामाबादको दूतावासबाट तारन्तार फोन आएपछि र यहाँ पनि जिल्ला प्रशासन, प्रहरी सबैतिरबाट सोधखोज बढेपछि होला कि जस्तो भइरहेको छ ।’

सम्बन्धित समाचार

– भारतमा माछा मार्दामार्दै पाकिस्तान पुगेपछि...

प्रकाशित : भाद्र २, २०७८ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×