पुल नहुँदा आउजाउ जोखिम

छपाल लामा

हुम्ला — उत्तरी चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका– ६ लिमी जाने बाटोमा पर्ने कर्णाली नदीमा पुल नहुँदा स्थानीयबासी जोखिम मोलेर आउजाउ गर्न बाध्य छन् । पुल नहुँदा स्थानीयलाई पुस्तौंदेखि जोखिम मोलेर सदरमुकाम आउनुपर्ने बाध्यता भएको हो ।


नाम्खा गाउँपालिका–६ स्थित लिमी जान दुई बाटो छन् । दुवै बाटोबाट आउजाउ गर्दा पनि हिमनदी तर्नुपर्ने बाध्यता भएको लिमीको हल्जीगाउँका गिमेत तामाङले बताए । ‘हिउँदमा त जसोतसो हिमनदी तरिन्छ,’ उनले भने, ‘वर्षामा भने भगवानको नाम पुकार्दै नदी तर्नुपर्ने बाध्यता छ ।’

न्यालु लेकबाट लिमी जाने बाटो अप्ठेरो भएकाले अधिकांश स्थानीयले कर्णाली नदीको बाटो भएर सदरमुकाम आउजाउ गर्ने गरेका छन् । ‘तुम्लिङमा पुल बने हामीलाई धेरै सुविधा हुन्थ्यो,’ उनले भने, ‘तर पुल नबन्दा बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई सदरमुकाम आउजाउ गर्न समस्या छ ।’ उनले बाटोमा पर्ने लिङखोलामा पनि पुल नबनेको बताए ।

पुल नहुँदा ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता भएको लिमीकी पासाङ तामाङले बताइन । ‘मानिस एक्लै हुँदा नदी तर्न सकिँदैन,’ उनले भनिन्, ‘चार/पाँच जना मानिस जम्मा भएर मात्र नदी तर्ने गरेका छौं ।’ पुल निर्माण गर्न पटकपटक विभिन्न निकायमा आग्रह गरिए पनि बेवास्ता भएको उनको गुनासो छ ।

लिमीमा सामाजिक सुरक्षा भत्ता बुझाउन गएकी वडा सचिव हिरा शर्माले तीन जना साथीसँग मिलेर मात्र नदी तर्न सकिएको बताइन् । ‘सदरमुकाम आउने र लिमी जानेहरू ठूलो कष्ट व्यहोरेर नदी तर्न बाध्य छन्,’ उनले भनिन्, ‘नदी तर्न नसक्नेहरू सदरमुकाम आउन पनि वञ्चित छन् ।’ नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले मंसिरमा पानी कम भएपछि मात्र नदी तर्न सकिने बताए । ‘जरुरी काम हुनेहरूलाई ज्यानको माया मारेर नदी तर्नुको विकल्प छैन,’ उनले भने, ‘वर्षामा पानीको बहाब बढेपछि लिमीसँग अन्य गाउँको आउजाउसमेत रोकिएको छ ।’

कर्णाली नदीस्थित तुम्लिङमा पुल आग्रह गर्दै प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराइए पनि बेवास्ता भएको वडाध्यक्ष तामाङले बताए । उनका अनुसार यो मौसममा हिमालको हिउँ पग्लिने भएकाले चिसोका कारण पनि नदी तर्न समस्या भएको हो । ‘वडा र पालिकासँग पुल बनाउने पर्याप्त बजेट हुँदैन,’ उनले भने, ‘माथिल्ला सरकारले सुन्दैनन् ।’ तिल, जाङ र हल्जीगाउँ मिलेर बनेको लिमीको जनसंख्या १ हजार १ सय छ ।

प्रकाशित : श्रावण ३१, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा सम्भावनाको कमी छैन : अग्रवाल 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन् । 'कान्तिपुर इकोनोमिक समिट, २०२१' को पहिलो सत्र 'पैसा कहाँ छ ?' सेसनको वक्ता उनले कृषि, सूचना प्रविधि, पर्यटन, पूर्वाधार र म्यानिफ्याक्चरिङको क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए । 

नेपालका कुनै पनि क्षेत्रमा लगानी गर्दा पनि त्यसको प्रतिफल राम्रो प्राप्त हुने अग्रवालको भनाइ थियो ।

कृषि क्षेत्रमा लगानी गर्दा पर्याप्त उत्पादन हुने र नाफा कमाउने सम्भावना रहेको उनले बताए । नेपालमा वर्षेनी अर्बौंको कृषि उत्पादन आयात गरिरहेकाले पनि यसको आन्तरिक र बाह्य बजार रहेको उनको धारणा थियो । कृषिमा प्रविधिको प्रयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । कृषि नीतिमा परिवर्तन ल्याएर प्रविधिको प्रयोग गरी लगानी गरेमा सम्भावना प्रचुर रहेको उनले बताए ।

सूचना प्रविधिको क्षेत्रमा पनि नेपालमा त्यति धेरै काम नभएकाले लगानीको राम्रो सम्भावना रहेको अग्रवालले बताए ।

म्यानिफ्याक्चरिङको क्षेत्रमा सम्भावना हुनुको कारण नेपाल विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र भारतको बीचमा अवस्थित हुनु रहेको पनि उनको भनाइ थियो । 'म्यानिफ्याक्चरिङको क्षेत्रमा ठूलो सम्भावना छ । भारत र चीनको बीचमा नेपाल हुनुको फाइदा हामी लिन सक्छौं,' उनले भने ।

नेपालमा लगानी गरेर विश्वका यी दुई ठूला बजारमा निर्यातको सम्भावना रहेको अग्रवालले बताए । उनले त्यसमा रहेका बाधा फुकाउनका लागि सरकारले भूमिका खेल्नुपर्ने सुझाव दिए ।

लगानीमा रहेका चुनौतीको सरकारले सम्बोधन गर्नुपर्ने अग्रवालको भनाइ छ ।

सार्वजनिक निजी साझेदारी (पीपीपी)को अवधारणा आइरहेको र त्यसलाई कार्यान्वयनमा लगेर गएमा लगानी बढ्ने र त्यसबाट प्राप्त हुने प्रतिफल पनि राम्रो हुने अग्रवालको बुझाइ थियो ।

पीपीपी अवधारणा संघीय निकायमा मात्रै नभएर स्थानीय र प्रदेश स्तरमा पनि लगेर सबैतिर लगानीको वातावरण बनाउन सकिने उनले बताए ।

त्यस्तै, पुँजी बजारमा पनि राम्रो सम्भावना रहेको अग्रवालले बताए ।

समग्रमा लगानीका क्षेत्रलाई सही दिशामा लगेमा नेपालमा लगानीको सम्भावना प्रचुर रहेको अग्रवालको भनाइ थियो ।

भिडियोः

प्रकाशित : श्रावण ३१, २०७८ १२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×