कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

३ नम्बर सीमास्तम्भमा सुरक्षाकर्मी

छपाल लामा

हुम्ला — नेपाल–चीन सीमास्थित नाम्खा गाउँपालिका–५ चिमलाभञ्ज्याङको ३ नम्बर सीमास्तम्भमा नेपाली सुरक्षाकर्मीको टोली पुगेको छ । सीमास्तम्भबारे अध्ययन गर्न सशस्त्र प्रहरी बलको टोली ३ नम्बर सीमास्तम्भ पुगेको हो । 

३ नम्बर सीमास्तम्भमा सुरक्षाकर्मी

सरकारी स्तरबाट सीमास्तम्भको अनुगमन नभएको बेला ठूलो सास्ती खेपेर सीमास्तम्भ पुगेको सशस्त्र प्रहरी बलको ४४ नम्बर गुल्मका डीएसपी गेहेन्द्र भण्डारीले बताए । उनी नेतृत्वको टोली ५ हजार १ सय ८ मिटर अग्लो स्थानमा रहेको सीमास्तम्भमा पुगेको हो । ‘कतै पाटन, कतै उकालो र भीरपाखा छिचोलेर पुग्न सफल भइयो,’ उनले भने, ‘सीमास्तम्भ सुरक्षित र राम्रै अवस्थामा छ ।’

सदरमुकाम सिमकोटबाट नाम्खा गाउँपालिकास्थित यारीसम्म कर्णाली करिडोरको बाटो हुँदै टोली ३ नम्बर सीमास्तम्भ पुगेको हो । गाडी र पैदल गरी ३ दिनमा सीमास्तम्भ पुगिएको डीएसपी भण्डारीले बताए । उनका अनुसार पहिलो दिन नेममा बास बसेको टोली दोस्रो दिन ह्याङ्सी हुँदै घी खर्क पुगेको थियो । तेस्रो दिन याङ्जोपोखरी र चिलिमे हुँदै ३ नम्बर सीमा स्तम्भमा पुगिएको उनले जानकारी दिए । ‘हिँड्ने बाटो नहुँदा अग्ला पाटनमा जीपीएसको भरमा हिँड्यौं,’ उनले भने, ‘जीपीएसकै भरमा स्तम्भको पहिचान गर्न सफल भइयो ।’

अक्सिजन कम भएको क्षेत्र भएकाले सावधानीसाथ यात्रा गरिएको उनले बताए । टोली सीमास्तम्भ पुगेको झण्डै १० मिनेटपछि सबै भाग कुहिरोले ढाकिएको डीएसपी भण्डारीले बताए । ‘झण्डै १० महिना हिउँले ढाकिने उक्त क्षेत्रमा पुगी सीमा स्तम्भ पहिचान गर्न पाउँदा निकै खुसी लाग्यो,’ उनले भने, ‘बाटोमा बस्ती नै नहुँदा बास बस्न भने समस्या भयो ।’ उनले एउटा खर्कमा बाहेक अन्यत्र कतै मानिसहरूसँग भेटघाट हुन नपाएको बताए । उनी नेतृत्वको टोलीमा ११ जना सशस्त्र प्रहरी थिए ।

४ नम्बर स्तम्भ पहिचान गर्न बाँकी

अब नेपाल–चीन सीमको ४ नम्बर सीमास्तम्भ मात्र पहिचान गर्न बाँकी छ । झण्डै ५ महिनाअघि हिल्सास्थित सीमा सुरक्षा चौकीको टोली ४ नम्बर सीमास्तम्भ पहिचान गर्न गए पनि हिउँ नपग्लिएका कारण पहिचान हुन सकेन ।

एक महिना भित्रै उक्त स्तम्भ पहिचान गर्ने गरी टोली खटाउन थालिएको डीएसपी भण्डारीले बताए । ‘भदौसम्म पहिचान गर्न नसके बाक्लो हिमपातका कारण पहिचान गर्न झन समस्या हुन्छ,’ उनले भने, ‘त्यसैले जतिसक्दो छिटो टोली पठाइनेछ ।’ उनका अनुसार हुम्लामा नेपाल–चीन सीमाका ३ देखि १२ नम्बरसम्मका १५ वटा सीमास्तम्भ छन् । ४ नम्बर बाहेक अन्य १४ वटा स्तम्भमा सशस्त्र प्रहरीको टोली पुगिसकेको छ ।

प्रकाशित : श्रावण २९, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?