२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जुम्ला विमानस्थल : डीपीआर बन्यो, कार्यान्वयन भएन

विमानस्थल स्तरोन्नतिका लागि करिब एक करोड रुपैयाँ लाग्ने
एलपी देवकोटा

जुम्ला — जुम्ला विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि बजेट अभावले कार्यान्वयन हुन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले दुई वर्षअघि विमानस्थल स्तरोन्नतिका लागि डीपीआर तयार गरे पनि कार्यान्वयमा बजेट अभाव भएको हो । 

जुम्ला विमानस्थल : डीपीआर बन्यो, कार्यान्वयन भएन

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जुम्ला पुगेको बेला जुम्ला विमानस्थलमा ४० सिटे जहाज अवतरण गर्न मिल्ने गरी स्तर वृद्धि गर्ने बताएका थिए । सोहीअनुरूप विमानस्थलको स्तरोन्नतिका लागि डीपीआर गरिएको थियो । स्तरोन्नतिका लागि करिब एक करोड रुपैयाँ लाग्ने डीपीआरमा उल्लेख छ । डीपीआर तयार भएको दुई वर्ष बितिसक्दा पनि सरकारले बेवास्ता गरेको नागरिक अगुवा राजबहादुर महतले बताए ।

‘जुम्लामा दैनिकजसो चार्टर उडान हुने गरेको छ, विमानस्थल स्तरोन्नति भए नियमित उडान भर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘अहिले विमानस्थल सानो हुँदा चार्टर उडानका नाममा निजी विमान कम्पनीले महँगो भाडा लिइरहेका छन् ।’

चार्टर उडान बन्द गरी नियमित उडानको व्यवस्था मिलाउन विभिन्न निकायको ध्यानाकर्षण गराए पनि बेवास्ता भएको उनले गुनासो गरे । साँघुरो धावनमार्गका कारण विमानस्थलमा जोखिमपूर्ण तरिकाले जहाज अवतरण गराउनुपर्ने बाध्यता छ । पछिल्लो पटक २०७५ साल जेठ २६ मा तारा एयरको जहाज विमानस्थकै धावनमार्गमा दुर्घटनामा परेको थियो । त्यो दुर्घटनामा मानवीय क्षति भने हुन पाएन । त्यसभन्दा अघि पनि पटकपटक जहाज अवतरणका क्रममा धावनमार्गबाट बाहिर जाने गरेको थियो । जहाज दुर्घटना बढेपछि प्राधिकरणले स्तरोन्नतिका लागि पहल थालेको हो ।

जुम्ला विमानस्थलमा दैनिक ३ देखि ५ वटासम्म उडान हुने गरेको छ । यात्रु चापलाई मध्यनजर गर्दै ठूलो जहाजको उडान सम्भव देखिएपछि स्तर वृद्धिका लागि पहल थालिएको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताइन् । ‘ठूलो जहाज चल्न थालेपछि यात्रुलाई सहज र सरल हुने देखिन्छ,’ उनले भनिन्, ‘त्यसका लागि विमानस्थलको स्तर वृद्धि आवश्यक छ ।’ उनले नगरपालिकाकै पहलमा डीपीआर बनाइएको बताइन् ।

जुम्लामा अहिले १८ सिटे ट्वीनअटर र डोनियर जहाजले उडान भर्ने गरेका छन् । तर साना जहाज मात्र सञ्चालन हुँदा यात्रुको चाप थेग्न समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ । दुई वर्ष पहिले डीपीआर भए पनि सरकारी बेवास्ताले विमानस्थलको विस्तार हुन नसकेको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा वुढाले बताए । ‘विमानस्थल स्तरोन्नति गरे मात्र यहाँका यात्रुको चाप व्यवस्थापन हुनसक्छ, यात्रुले सहज टिकट पाउँछन्,’ उनले भने, ‘विमानस्थल विस्तारले जुम्लाको पर्यटन विकासको ढोका खुल्नेछ ।’

अहिले जुम्लाबाट नेपालगन्जसम्म चार्टर उडान हुने गरेको छ । फाट्टफुट्ट रूपमा सुर्खेत पनि उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । तर नियमित उडान नभएपछि यात्रुलाई टिकट पाउन समस्या छ । अहिले विमानस्थलमा तारा, सीता र समिट एयरले उडान भरिरहेका छन् ।

प्रकाशित : श्रावण २६, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?