रित्तिए हुम्ला र मुगुका खाद्य डिपो

स्थानीयलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता
राजबहादुर शाही

मुगु — खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा मुगु र हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । मुगुको श्रीकोट, पूलु, सोरुकोट, कालै र रातापानी खाद्य डिपो रित्तिएका हुन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चंखेली, याङचु र याल्वाङमा पनि चामल छैन ।

रित्तिए हुम्ला र मुगुका खाद्य डिपो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग गर्नुपरेको मुगमकार्मारोङ गाउँपालिकास्थित पुलुका छेवाङछेजुङ लामाले बताए ।

‘घण्टौं हिँडेर डिपोमा चामल लिन गयो, कहिल्यै पाइँदैन,’ उनले भने, ‘डिपोमा चामल नपाइएपछि दोब्बर महँगोमा बजारको चामल लिनुपरेको छ ।’ उनका अनुसार सोरु र मुगुमकार्मारोङ गाउँपालिकामा खडेरीका कारण यो वर्ष गहुँ बालीको उत्पादन न्यून भयो । अहिले बजारको चामलको भरमा गुजारा चलाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

खाद्य गोदाममा चामल नभएपछि सोरु गाउँपालिकाको कालै, जिमा, पुरुमुरु, सोरुकोट, नार्थपु भिई र मुगुमकार्मारोङ गाउँपालिकाका १२ वटै बस्तीमा खाद्यान्न अभाव देखिएको छ । खाद्य डिपोमा २५ केजी चामल १५ सय रुपैयाँमा पाइने भए पनि व्यापारीसँग २ हजार रुपैयाँमा किन्नुपर्ने बाध्यता भएको सोरु गाउँपालिका–४ का चन्द्र नेपालीले बताए । ‘डिपोमा एक दाना चामल छैन,’ उनले भने, ‘ऋण कारेर भए पनि बजारको चामल किन्नुपर्ने बाध्यता छ ।’

खाद्य गोदाममा चामल नहुँदा साउने सक्रान्ति मेला र जनैपूर्णिमा मनाउन समस्या भएको उनले गुनासो गरे । खाद्यको चामल नपाइने समस्या वर्षौंदेखि रहेको सोरु गाउापालिका–६ का पदमबहादुर शाहीले बताए । उनका अनुसार अन्न उत्पादन कम हुँदा अधिकांश बासिन्दालाई बाहिरको चामल किन्नुपर्ने बाध्यता छ । ‘पुरानो अन्न सकियो,’ उनले भने, ‘नयाँ अन्न पाकेको छैन ।’ उनले सोरुकोट डिपोमा चामल नहुादा भीई, नार्थपु, जिमालगायत गाउँका बासिन्दा सदरमुकाममा चामल लिन आउनुपर्ने बाध्यता रहेको बताए । सोरुका अधिकांश गाउँमा वर्षमा एक बाली मात्र अन्न उत्पादन हुन्छ ।

मुगुमकार्मारोङ गाउँपालिकाको पुलु खाद्य डिपोमा गत वर्ष १ हजार ७ सय क्विन्टल चामल ढुवानी भएको थियो । तर नयाँ आर्थिक वर्ष सुरु भएसँगै खाद्य डिपो खाली छ । डिपोमा खाद्यान्न नहुँदा चितै, मुगु, डोल्फू, ताख, खारी, कार्ती, किम्री, महलगायत हिमाली बस्तीका स्थानीयलाई छाक कटाउन गाह्रो भएको छ । ‘कोभिडका कारण दुई वर्षदेखि तिब्बती नाका बन्द छ,’ किम्री गाउँका छिर्मेटाप्का तामाङले भने, ‘टाढा भएकाले सदरमुकाम गएर चामल ल्याउन सकिँदैन, बजारकै चामल किनेर छाक टार्नुपर्ने बाध्यता भयो ।’ गाउँमा २५ किलोको एक बोरा चामल ३ हजार रुपैयाँ तिरेर किन्नुपर्ने बाध्यता भएको उनले बताए ।

सरकारले छिटो नयाँ खाद्य कोटा स्वीकृत गरी चाँडो चामल ढुवानीको व्यवस्था मिलाउनुपर्ने मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘स्थानीयवासी खाद्यान्न अभावको चपेटामा छन्,’ उनले भने, ‘संघीय सरकारलाई पटकपटक आग्रह गरे पनि चामल पठाउन बेवास्ता भइरहेको छ ।’

मुगुमा गमगढीस्थित मुख्य खाद्य गोदाममा १४ सय क्विन्टल चामल मात्र मौज्दात छ । गत वर्ष ११ हजार क्विन्टल चामल ढुवानी भएको कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताए । उनका अनुसार यो वर्ष जिल्लाभरिका लागि १७ हजार २ सय क्विन्टल खाद्यान्नको कोटा स्वीकृत भएको छ । ‘ढुवानीका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘स्वीकृत भएलगत्तै ढुवानीको काम सुरु हुनेछ ।’

हुम्लामा पनि चालु आर्थिक वर्षको चामल ढुवानी नहुँदा खाद्य गोदाम रित्तिएका हुन् । ढुवानी नहुँदा सर्केगार्ड, श्रीनगर, चंखेली, अदानचुली, याङ्चु र याल्वाङका खाद्य गोदाम खाली बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

प्रकाशित : श्रावण २३, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?