कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

कान्तिपुर संवाददाता

जुम्ला — जुम्ला सदरमुकाम खलंगा आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्‍याएसँगै खलंगासहित आसपासका गाउँका दुई हजार एक सय घरमा एकैसाथ बिजुली बलेको हो ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

घुघुतिस्थित साना जलविद्युत् आयोजनाले वितरण गरेको विद्युत् लाइनमा राष्ट्रिय प्रशारण लाइन जोडिएको हो । घुघुतिबाट उत्पादित विद्युत् नियमित नहुँदा जुम्लावासी दैनिक १५ घण्टे लोडसेडिङ भोग्न बाध्य थिए ।

‘केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण भएसँगै यहाँका उपभोक्ताले अँध्यारोमा बिताउनुपर्ने बाध्यता हटेको छ,’ प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले भने, ‘अब स्थानीयस्तरमा उद्योग कलकारखाना र इलेक्ट्रोनिक्ससम्बन्धीका सबै काम सहजै हुनेछन् ।’ उनका अनुसार चालु आर्थिक वर्षभित्र ४ हजार ५ सय घरमा विद्युत् सेवा पुर्‍याउने प्राधिकरणको लक्ष्य छ । अहिले सदरमुकाम खलंगाभित्रै जुगाडखोला लघुजलविद्युत् आयोजना र ठिन्के जलविद्युत् आयोजना पनि सञ्चालनमा छन् ।

सबै साना जलविद्युत् आयोजनाको विद्युत् केन्द्रित गरी बिजुलीको दिगो समाधान निकालिने कर्णाली प्रदेशका सिचाइँ विकास तथा ऊर्जामन्त्री दिनबन्धु श्रेष्ठले बताए । ‘वर्षौंदेखिको सास्तीबाट उपभोक्ताले बल्ल मुक्ति पाएका छन्,’ उनले भने, ‘अब गाउँगाउँमा विद्युत् विस्तारलाई तीव्र बनाइनेछ ।’ राष्ट्रिय प्रसारण लाइनसँग जोडिएपछि स्थानीय पनि खुसी छन् । अब जुम्लामा अन्य पूर्वाधार विकासको ढोका खुलेको कमल देवकोटाले बताए । ‘२४ सै घण्टा विद्युत् आपूर्ति भए स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना हुनेछन्,’ उनले भने ।

प्रकाशित : श्रावण १९, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?