२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कारागार नहुँदा कैदीबन्दी जिल्लाबाहिर

‘एक जना कैदीलाई जुम्ला लैजान पनि कम्तीमा ९ जना सुरक्षाकर्मी खटाउनुपर्ने बाध्यता छ’
राजबहादुर शाही

काठमाडौँ — जिल्लामा कारागार नहुँदा कैदीबन्दीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता भएको छ । कारागार नहुँदा मुगुका कैदीलाई जुम्ला, सुर्खेत, कालीकोटलगायत ठाउँमा पठाउनुपर्ने बाध्यता छ ।

कारागार नहुँदा कैदीबन्दी जिल्लाबाहिर

कारागार नहुँदा कैदीबन्दीलाई जोखिमसाथ जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता भएको प्रहरीको गुनासो छ । कारागार नहुँदा प्रहरी–प्रशासनले मात्र होइन कैदीबन्दीका आफन्तले समेत सास्ती भोगिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकबहादुर धामीले बताए । उनका अनुसार कर्णालीका सबै जिल्लामा भए पनि मुगुमा मात्र कारागार छैन । अधिकांश कैदीलाई जुम्ला पठाउने गरिएको छ । ‘एक जना कैदीबन्दीलाई जुम्ला लैजान पनि कम्तीमा ९ जना सुरक्षाकर्मी लैजानुपर्ने बाध्यता छ,’ उनले भने, ‘जिल्ला प्रहरीमा एउटा मात्र गाडी हुँदा निजी गाडी रिजर्भ गरी कैदीबन्दी लैजानुपर्ने अवस्था छ ।’ उनले एक जना कैदीबन्दीलाई जुम्ला लैजान पनि एक लाख रुपैयाँसम्म खर्च हुने उनले बताए ।

मुगुमा कारागार नहुँदा कैद सजाय भोगिरहेका आफन्तलाई भेट्न मुस्किल भएको कैदीबन्दीका आफन्तको गुनासो छ । आफ्ना छोराले जुम्ला कारागारमा चार वर्षदेखि सजाय भोगिरहेको भए पनि अहिलेसम्म भेट्न नपाएको छायानाथरारा नगरपालिकाकी रत्नदेवी मल्लले बताइन् । ‘जिल्लामै थुनिएको भए बेलाबखत भेटघाट हुन्थ्यो, चाडपर्वमा मिठोमसिनो खानेकुरा पुर्‍याउन पाइन्थ्यो,’ उनले भनिन्, ‘छोरा टाढा हुँदा भेट्न समस्या छ ।’

कारागार भवन नबन्दा कैदीबन्दीलाई जिल्ला बाहिर पठाउनुपरेको कारागार प्रमुख दत्त लामाले बताए । ‘कैदीहरूलाई त समस्या छ नै,’ उनले भने, ‘बन्दीहरूलाई बाहिरबाट ल्याएर जिल्ला अदालतमा बहसका लागि उपस्थित गराउनुपर्ने बाध्यता छ ।’ उनले अधिकांश बन्दीलाई ल्याउन समस्या हुँदा उनीहरू आफ्नो बहस सुन्नबाट वञ्चित भएको बताए । भवन नहुँदा कारागारका काम जिल्ला प्रशासन कार्यालयको एउटा कोठाबाट भइरहेको उनले बताए । जिल्लामा कारागार भवन सञ्चालनमा सरकारले बेवास्ता गरेको उनको गुनासो छ । जिल्ला कारागार कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २१ र आर्थिक वर्ष २०७७/७८ मा १२ पुरुष कैदीलाई जुम्ला कारागार पठाइएको छ ।

जुम्ला कारागारमा पनि कैदीबन्दीको चाप बढेपछि थप कैदीबन्दी राख्न मुस्किल भएको लामाले बताए । उनका अनुसार १ सय २० जनाको क्षमता रहेको जुम्ला कारागारमा अहिले १ सय २६ जना कैदीबन्दी राखिएको छ । ‘जुम्ला कारागारमा पनि ठाउँको अभाव भएपछि कैदीलाई अरू जिल्ला पठाउनुपर्ने बाध्यता भयो,’ उनले भने, ‘हिरासतमा राखेका थुनुवालाई ३५ दिन कटेपछि कारागारमा चलानी गर्नुपर्ने बाध्यताले प्रहरीलाई पनि तनाव छ ।’

भवन हस्तान्तरण नहुँदा सास्ती

मुगु कारागारको भवन हस्तान्तरण नहुँदा कैदीबन्दी सास्ती भोग्न बाध्य भएका हुन् । गमगढीस्थित थापालचौरमा ८ वर्षअघि भवन निर्माणको काम थालिएको थियो । अधिकांश काम सकिए पनि भवन अझै हस्तान्तरण हुन सकेको छैन ।

भवन डिभिजन कार्यालयले २०७१ मा ३ करोड ५० लाख रुपैयाँमा भवन निर्माणका लागि ठेक्का दिएको थियो । नयाँ भवन बने पनि डिभिजन कार्यालयले कारागार कार्यालयलाई हस्तान्तरण नगर्दा समस्या भएको प्रमुख लामाले बताए । उनका अनुसार भवनको जिम्मा पाएको आरसी कन्स्ट्रक्सन धनगढीले भवन निर्माणको काम सकिसकेको छ । ‘अब वरिपरि घेरबार गर्न र सुरक्षा पोस्ट बनाउन मात्र बाँकी छ,’ उनले भने, ‘तारबार नहुँदा भवन प्रयोगविहीन बनेको छ ।’ ८० पुरुष र २० महिला गरी १ सय कैदीबन्दी अट्न सक्ने क्षमताको भवन निर्माण गरिएको उनले जानकारी दिए ।

कम्पनीले ३ वर्षभित्रै भवन निर्माणको काम सक्ने गरी जिम्मा लिएको थियो । अहिले कारागार भवन प्रयोगविहीन बनेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले बताए । ‘कारागार नहुँदा हामीले पनि सास्ती भोगिरहेका छौं,’ उनले भने, ‘भवनको बाँकी काम पूरा गर्न भवन डिभिजन र ठेकेदार कम्पनीलाई ताकेता गरे पनि बेवास्ता भइरहेको छ ।’ उनका अनुसार कारागार भवनलाई अहिले कोरोना उपचार केन्द्र बनाइएको छ ।

प्रकाशित : श्रावण १८, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?