१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्थानीय तह भाडाकै घरमा

तुलाराम पाण्डे

कालीकोट — जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाले करिब ४ वर्षअघि आफ्नै भवन बनाउन पहल थाले पनि जग्गा अभावमा प्रक्रिया अघि बढ्न सकेको छैन । नगरपालिकाले घर भाडामा मात्र वार्षिक करिब ३० लाख रुपैयाँ खर्च गरिरहेको छ । खाँडाचक्रमात्र होइन, यहाँका अन्य स्थानीय तहले पनि घर भाडामा लाखौं रुपैयाँ खर्चिंदै आएका छन् । 

स्थानीय तह भाडाकै घरमा

जिल्लाका ९ स्थानीय तहमध्ये रास्कोट, पचालझरना, महावै, नरहरिनाथ र पलाँताले यस वर्ष बल्ल भवन निर्माण सुरु गरेका छन् । खाँडाचक्र, शुभकालिका, शान्नित्रिवेणी र तिलागुफाको भने भाडाको बास अझ कहिलेसम्म हुने हो टुंगो छैन । ‘कार्यकाल सकिन लाग्दा पनि भवन बनाउन सकिएको छैन,’ नगर प्रमुख जसीप्रसाद पाण्डेले भने, ‘हामीसँग भवन बनाउनलाई बजेट नभएको होइत, तर जग्गा छैन ।’

खाँडाचक्र नगरपालिकाले ४ वटा घर भाडामा लिएको छ । फाँटका कर्मचारी साँघुरो ठाउँमा कोचाकोच भएर बस्न बाध्य छन् । काम गर्ने ठाउँ उकुसमुकुस हुँदा सेवा प्रवाहमा समस्या भएको नगर प्रमुख पाण्डे बताउँछन् । खाँडाचक्र नगरपालिकाका ११ वडामध्ये दुई वडा (१ र ९) का मात्र आफ्नै कार्यालय भवन छन् ।

साविकका मान्म र पाखा गाविसका भवनमा वडा कार्यालय छन् । वडा नं. ५ र ६ को बीचमा पर्ने मोल्फास्थित साविक दाहाँ गाविसको भवन भए पनि जग्गा ५ नं. वडामा परेकाले विवाद भई भवन प्रयोगविहीन छ । वडाध्यक्षहरूले वडा कार्यालय आफ्नो घर वा आफन्तको घरमा राखिरहेका छन् । नगरपालिकाले भवन नभएका वडाका लागि मासिक १० हजार रुपैयाँ दिने गरेको छ । खाँडाचक्र नगरपालिकाको नाममा साविक मान्म, दाहाँ र पाखा गाविसका भवन र बसपार्कको केही जग्गामात्र छ ।

सदरमुकाम मान्ममै संघीय संरचनाअघि बनेको तत्कालीन जिल्ला विकास समितिको चारतले भवनका अधिकांश कोठा भने खाली छन् । दुई वर्षअघि करिब ८ करोड लागतमा निर्माण सम्पन्न भएको एकीकृत सेवा कार्यालयको भवन पनि स्थानीय तहको नाममा आउन सकेको छैन । नगर प्रमुख पाण्डेले भवन नगरपालिकाको नाममा सार्नको लागि काठमाडौं गए पनि समभव नभएको बताए । हाल उक्त भवनमा कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा छ ।

केन्द्र विवादले तनाव

तिलागुफा नगरपालिकाको ४ वर्षसम्म पालिकाको केन्द्र टुंगो लगाउन सकेको छैन । नगरसभाले जुविथाको गाल्जेमा रहेको केन्द्र चिल्खायाको हुस्केमा सार्ने निर्णय गरे पनि विवादको कारण कार्यान्वयन भएको छैन । २०७६ मंसिरमा जुविथाका जनप्रतिनिधिले केन्द्र साने निर्णयविरुद्ध आन्दोलनमात्र गरेनन्, पुनरावेदन अदालत जुम्ला इजलासमा मुद्दासमेत दायर गरे । ४ नम्बर वडाका वडाध्यक्ष खड्कराज शाहीका अनुसार अदालतले एक महिनाअघि जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयलाई स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न पत्र पठाएको छ । ‘अदालतले फैसला नगरेसम्म केन्द्र विवादको कारण भवन बन्ने सम्भावना देखिँदैन,’ उनले भने, ‘अहिले पनि वडाको भवनमा बसेर नगरपालिकाले कामकाज गरिरहेको छ ।’

शुभकालिका गाउँपालिकामा पनि केन्द्र विवाद छ । सुकाटिया कि राराकाटिया राख्ने भन्ने विवादले भवन निर्माणलगायत प्रक्रिया ठप्प छन् । गाउँसभाको बहुमतले सुकाटियाका केन्द्र तोके पनि राराकाटिया र भर्ताका जनप्रतिनिधिले महादेव मावि रहेको राराकाटिया चौरमा केन्द्र हुनुपर्ने अडान छाडेको छैनन् । केन्द्र विवादमा एक वर्षअघि गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँलगायत जनप्रतिनिधिमाथि आक्रमण भएको थियो । गाउँपालिकाले भवन निर्माणको लागि जग्गा पास गरे पनि विवाद र आर्थिक अभावले काम अघि नबढेको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए ।

पलाँता गाउँपालिकामा भने केन्द्र विवाद टुंगिएको छ । गाउँसभाले थिर्पु र धौलागोहको बीचमा पर्ने लोडेमा केन्द्र तोकेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले लोडेमा ६२ लाख रुपैयाँमा कार्यपालिका भवन र २९ लाख रुपैयाँमा न्यायिक समिति भवन निर्माण भइरहेको बताए । उनका अनुसार १५/१५ लाखको लागतमा शिक्षा, स्वास्थ्य, कृषि र प्राविधिक शाखाका भवन बनाउने तयारी छ । स्थानीय २८ जनाले गाउँपालिकाका लागि जग्गा दिएको बलमे बताए । पलाँता गाउँपालिकाका ९ मध्ये ७ वटा वडाले आफ्नै जग्गामा कार्यालय भवन बनाइसकेका छन् ।

टहरामा कार्यालय

पचालझरना गाउँपालिकाले पणेछा चौरमा टिनको टहरोबाट कार्यालय सञ्चालन गरिरहेको छ । ७ वटा वडा कार्यालय भवन पनि टिनको टहरोमै छन् । जारकोटमा भाडाको घरमा रहेको गाउँपालिका केन्द्र यस वर्षदेखि टहरोमै भए पनि केन्द्रबाट सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । उनका अनुसार पक्की भवन निर्माणका लागि ३ करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

२०८० असार मसान्तमा काम सक्ने गरी भवन निर्माण सम्झौता भएको उनले बताए । उनका अनुसार पचालझरनाका ७ वटा वडामा २ लाख ५० हजार लागतमा टिनका टहरा निर्माण गरेर कामकाज भइरहेको छ । सान्नीत्रिवेणी गाउँपालिकाको कार्यालय भवन पञ्चदेवल मावि र जनचेतना क्याम्पस मेहेलमुडीको भवनमा छ । गाउँपालिकाका ४ वटा वडा कार्यालय विद्यालय भवनमा सञ्चालित छन् । वडा नं. ४ को मालिका आधारभूत विद्यालय, वडा नं. ७ को ठिगेन्नी आधारभूत विद्यालय, वडा नं. ८ र ९ डाँफे माविको भवनमा कार्यालय रहेका गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘हामीले आर्थिक मितव्ययितालाई ध्यानमा राखेर खाली रहेका विद्यालय भवनमा पालिकाका कार्यालय राखेका हौं,’ उनले भने, ‘यसले पठनपाठनमा खासै समस्या पनि भएको छैन ।’

महाबै गाउँपालिकाले कृषि क्याम्पसको नाममा रहेको पादमघाटस्थित जग्गामा भवन निर्माण सुरु गरेको छ । ३५ लाख रुपैयाँ लागतमा भवन निर्माणको काम भइरहेको गाउँपालिका उपाध्यक्ष मनराज शाहीले बताए । हाल गाउँपालिका केन्द्र पादमघाटस्थित भाडाको घरमा छ । रास्कोट नगरपालिकाका वडा नं. ८ बाहेक सबै वडाका कार्यालय भाडामा छन् ।

सबै वडाको नाममा जग्गा भए पनि भवन नबन्दा नगरपालिकाले वार्षिक ७ लाख रुपैयाँ घरभाडा तिर्ने गरेको नगर उपप्रमुख मिमसरा बम शाहीले बताइन् । उनका अनुसार नगरपालिकाको कार्यालय साविकको स्युना गाविस भवनमा सञ्चालन भए पनि अपुग कोठा भाडामा लिइएका छन् । ५ करोडमा तीनतले २१ कोठाको पक्की भवन निर्माण प्रक्रिया सुरु गरिएको उनले बताइन् ।

आगजनीपछि नयाँ भवन

नेत्रविक्रम चन्द समूहले दुई वर्षअघि बन्दको अवज्ञा गर्दै गाउँसभा गरिएको भन्दै नरहरिनाथ गाउँपालिकाको कुमालगाउँस्थित कार्यालय भवनमा आगजनी गर्‍यो । अहिले गाउँपालिकाले सोही ठाउँमा ४ करोड लगानीमा नयाँ भवन बनाइरहेको छ ।

गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टका अनुसार भवनको लागि ४ करोड बजेट विनियोजन गरिएको भए पनि २ करोड ७५ लाख रुपैयाँमा सम्झौता भई काम निर्माणाधीन छ । ‘आगजनीबाट भवनका साथै महत्त्वपूर्ण कागजपत्र क्षति भए, अहिले आधुनिक नयाँ भवन बनाइरहेका छौं,’ उनले भने, ‘आगजनी नभएको भए पनि पुरानै भवनबाट काम चलाइन्थ्यो होला ।’ चन्द समूहले आगजनी गरेको वडा नं. ६ को कार्यालय भवन पनि ४२ लाख लागतमा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट निर्माण भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण १८, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?