कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दुई महिनामा कोभिड अस्पताल

विप्लव महर्जन

सल्यान — दार्मा गाउँपालिकाले वडा नं. ३ थुम्केसल्लीमा दुई महिनामा १५ शय्याको अस्थायी कोभिड अस्पताल भवन निर्माण गरेको छ । कोरोनाको तेस्रो लहर बढ्दै गएकाले त्यसबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न ६० दिनमा कोभिड अस्पताल निर्माण गरिएको हो ।

दुई महिनामा कोभिड अस्पताल

कोभिड अस्पताल तथा आइसोलेसन निर्माणका लागि कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ अनुदान दिएको थियो ।

गाउँपालिका अध्यक्ष निमबहादुर केसीले भवन निर्माण गरेपछि महामारी नियन्त्रण, बहिरंग तथा आकस्मिक सेवा प्रवाहमा समेत सहज हुने बताए । कोरियन प्रविधिको अस्पताल तथा आइसोलेसन भवन यही साता तयार भएको उनको भनाइ छ ।

कोरोना संक्रमितलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान र चौरजहारीस्थित मिसन अस्पतालमा पठाइँदै आएको थियो । अब जटिल समस्याका बिरामीबाहेक अरूलाई दार्मामै उपचार गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिको अहिले जनता मावि फारुलाको भवनमा आइसोलेसन सञ्चालन गरिरहेको छ । ‘अब हामी छिट्टै नयाँ अस्पताल भवनबाट सेवा प्रदान गर्नेछौं,’ अध्यक्ष केसीले भने, ‘यसका लागि चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन पनि हुँदै छ ।’ कोरोनालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले करार सेवाका एक डाक्टरसहित दुई स्टाफ नर्स पठाएको थियो ।

अहिले करार अवधि सकिएकाले उनीहरू फर्किर्एका छन् । गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञबहादु बस्नेतले डाक्टरसहित स्वास्थ्यकर्मीको व्यवस्था भएपछि स्तरीय स्वास्थ्य सेवा प्रवाह हुने बताए । ‘अहिले कोरोनाको तेस्रो लहर आउने सम्भावनासँगै हामीले पूर्वतयारी स्वरूप कोभिड अस्पताल भवन निर्माण गरेका हौं,’ उनले भने, ‘सरकारले चिकित्सकसहित स्वास्थ्यकर्मी पठायो भने सहज हुनेछ ।’

कोभिड अस्पताल तथा आइसोलेसन सञ्चालनका लागि गत आर्थिक वर्षमै अक्सिजन कन्सन्ट्रेटरलगायत सामग्री व्यवस्था गरिएको छ । थप स्वास्थ्य उपकरण जुटाउन प्रदेश सरकार र दातृ निकायसँग सहयोग मागिएको स्वास्थ्य संयोजक बस्नेतले बताए । गाउँमै अस्पताल बनेपछि स्थानीय खुसी छन् । स्थानीय झुपलाल रोकायाले अस्थायी कोभिड अस्पताल तथा आइसोलेसन निर्माणपछि गाउँघरमै सेवा पाइने विश्वास व्यक्त गरे ।

प्रकाशित : श्रावण १७, २०७८ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?