संक्रमण फैलिँदै, सावधानी न्यून- कर्णाली - कान्तिपुर समाचार

संक्रमण फैलिँदै, सावधानी न्यून

‘यात्रुवाहक गाडी सञ्चालनमा आएपछि झन् लापरबाही बढ्यो, अधिकांश स्थानीय मास्कबिना जथाभावी हिँडडुल गर्न थालेका छन्’
विप्लव महर्जन, छपाल लामा, राजबहादुर शाही

सल्यान, हुम्ला, मुगु — स्थानीय तहको बेवास्ताले कर्णालीका पहाडी र हिमाली जिल्लामा कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमितहरू जथाभावी हिँडडुल गर्न थालेपछि संक्रमणको जोखिम बढ्दै गएको हो ।

स्वास्थ्य सतर्कताबिनै भत्ता बुझ्न सल्यान खलंगाको एक बैंकमा लाइन लागेका स्थानीय । तस्बिर : विप्लव/कान्तिपुर

सल्यानमा दुई सातायता गरिएको स्वास्थ्य परीक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको छ । एक जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितमध्ये अहिले २ जनाको जिल्ला अस्पतालको आइसोलेसनमा र ९ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।

३१ जना होम आइसोलेसनमा रहेको जिल्ला अस्पतालका डा. भीमकान्त जैसीले बताए । उनका अनुसार वैशाखदेखि अहिलेसम्म जिल्लाभित्र ५४ र बाहिर १० जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य सर्ककता अनपाउन आग्रह गरे पनि सबैबाट बेवास्ता हुँदा संक्रमण बढेको वनगाडकुपिण्डे नगरपालिकाका स्वास्थ्य संयोजक वासुदेव पोखरेलले बताए । ‘यात्रुबाहक गाडी सञ्चालनमा आएपछि झन् लापरबाही बढ्यो,’ उनले भने, ‘अधिकांश स्थानीय मास्कबिना जथाभाबी हिँडडुल गर्न थालेका छन् ।’ उनले गाउँगाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।

पछिल्लो समय खोप लगाए कोरोना सर्दैन भन्ने गलत बुझाइ मौलाएको बागचौर नगरपालिकाका स्वास्थ्य संयोजक हरि कठायतले बताए । उनका अनुसार किट अभावमा अहिले परीक्षण रोकिएको छ । ‘शंकास्पद बिरामीलाई मात्र कोरोना परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘संक्रमणको दायरा बढाए घरमा घरमा संक्रमित भेटिने जोखिम छ ।’

बेवास्ताले बढे संक्रमित

हिमाली जिल्ला हुम्लामा लकडाउन हटेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार हुम्लामा अहिलेसम्म २ हजार १ सय ८६ जनाको परीक्षण गरिएकोमा ३ सय ६८ जनामा संक्रमण देखिएको छ । सरकारले कोरोनाविरुद्धको खोप भित्र्याएको भने पनि हुम्लामा कुनै प्रभाव नपरेको स्थानीय उपेन लामाले बताए ।

‘जिल्ला अस्पतालबाहेक अन्यत्र संक्रमितको उपचार हुँदैन,’ उनले भने, ‘दुर्गम गाउँमा कोरोना देखिए हेलिकप्टर चार्टरको विकल्प छैन ।’ परीक्षणको दायरा नबढाउँदा गाउँगाउँमा संक्रमित बढ्दै गएको नागरिक अगुवा गणेश महतले बताए । अहिले हुम्लाका ७ गाउँपालिकामा ५० वटा अक्सिजन कन्सेन्ट्रेटर छन् । जिल्ला अस्पतालमा १ सय ५० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । अस्पतालका सूचना अधिकारी भक्ति फडेराका अनुसार परीक्षण गरिएकामध्ये झण्डै ५० प्रतिशतमा कोरोना देखिन थालेको छ । जिल्लाभरि २७ जना संक्रमितको उपचार भइरहेको उनले जानकारी दिए ।

मारमा हिमाली बस्ती

मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्ती मुगुगाउँमा एकै दिन ३५ जनालाई कोरोना संक्रमण देखिएपछि त्रास फैलिएको छ । ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनालाई कोरोना देखिएको हो ।

समुद्र सतहदेखि झन्डै ३ हजार ५ सय मिटर उचाइमा रहेको गाउँमा ठूलो संख्यामा कोरोना संक्रमण भेटिएपछि स्थानीयहरू घर बाहिर निस्कन छाडेका छन् । तिब्बतसँग सीमा जोडिएको गाउँमा धेरै जनामा कोरोना देखिएपछि उपचारमा समस्या भएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार गाउँमा ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षणका बिरामी बढ्दै गएका छन् । कोरोना नियन्त्रणको लागि गाउँमा स्वास्थ्यकर्मी र औषधि पठाइएको उनको भनाइ छ ।

मुगुगाउँ पुग्न सदरमुकाम गमगढीबाट दुई दिनको पैदल दूरी छ । जोखिममा रहेका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प नरहेको गाउँपालिका अध्यक्ष लामाले बताए । ‘सडक सुविधा छैन,’ उनले भने, ‘कसैलाई गम्भीर समस्या भए हेलिकप्टरमार्फत उद्धार गरिनेछ ।’ उनले गाउँमा भरपर्दो सञ्चार सुविधा नहुँदा पनि उपचारमा समस्या भएको बताए ।

मुगुमकार्मारोङको मह, माग्री, पूलु, रिउस, ताखा, खारीलगायत गाउँमा पनि ज्वरो, रुघाखोकी, निमोनियालगायत स्वास्थ्य समस्याका बिरामी बढेका छन् । जेठदेखि असार अन्तिम सातासम्म मुगुमकार्मारोङको तल्लो बस्तीमा कोरोना संक्रमितहरू भेटिएका थिए । ‘तलका गाउँमा संक्रमित घटेका छन्,’ अध्यक्ष लामाले भने, ‘अहिले बढी चिसो हुने ठाउँतिर कोरोना फैलिएको छ ।’

पछिल्लो समय चिसो हुने बस्तीमा कोरोना संक्रमण बढेको गाउँपालिकाका जनस्वास्थ्य अधिकृत बलीराज बुढाले बताए ।

पूर्वाधार कमजोर

मुगुका स्थानीय तहहरूले पूर्वतयारी नगर्दा जिल्ला अस्पताल बाहेकका ठाउँमा संक्रमितको उपचार गर्न समस्या भएको छ । सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका जटिल अवस्थाका बिरामीहरू थप उपचारका लागि जिल्ला अस्पतालमा रिफर हुने गरेका छन् ।

ग्रामीण क्षेत्रमा संक्रमितको उपचारको व्यवस्था नहुँदा अधिकांश संक्रमित होम आइसोलेसनमा बस्नुपरेको निमित्त जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक दीपक रावलले बताए । उनका अनुसार मुगुमकार्मारोङ गाउँपालिकाको रिउस र खत्याडको रातापानी स्वास्थ्य केन्द्रलाई कोरोना उपचार केन्द्र बनाइए पनि अधिकांश पूर्वाधारको अभाव छ । जिल्ला अस्पतालमा पनि कोरोना संक्रमितको चाप थेग्न समस्या भएको उनले बताए ।

जिल्ला अस्पतालमा कोभिडका बिरामीलाई लक्षित गरी ४० लाख रुपैयाँमा खरिद गरिएको अक्सिजन प्लान्ट दुई महिनादेखि थन्किएको छ । अक्सिजन प्लान्ट जडान गर्ने क्रममै रहेको बेला मुद्दा परेपछि मेसिन थन्किएको निमित्त स्वास्थ्य व्यवस्थापक रावलले बताए । सल्यानमा पनि स्थानीय तहले औषधि, उपकरण खरिद तथा जनशक्ति व्यवस्थापनमा लापरबाही गरिरहेको स्थानीयको आरोप छ ।

प्रकाशित : श्रावण १७, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्

२ वर्षपछि लक्ष्यअनुरुप राजस्व संकलन

पछिल्लो पटक आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यअनुसार राजस्व उठेको थियो
भवानी भट्ट

कञ्चनपुर — लगातार दुई वर्ष लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको कञ्चनपुर भन्सार कार्यालयले तेस्रो वर्ष लक्ष्य पूरा गरेको छ । विगतका वर्षभन्दा कम लक्ष्य तोकिएपछि पूरा गर्न सकिएको हो ।

गत आर्थिक वर्ष २०७७/७८ मा ३५ करोड ६७ लाख लक्ष्य पाएको कञ्चनपुर भन्सार कार्यालयले ३७ करोड ३९ लाख संकलन गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यअनुसार राजस्व संकलन गरेको भन्सार कार्यालयले २ वर्षपछि गत आर्थिक वर्षमा लक्ष्य पूरा गरेको हो । २०७४/७५ मा लक्ष्यको शतप्रतिशत ३२ करोड ५३ लाख राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको असोजमा सबैभन्दा बढी ४ करोड राजस्व संकलन भएको छ भने सबैभन्दा कम जेठमा १ करोड ५० लाख मात्रै राजस्व संकलन भएको छ । ‘वैशाख र जेठमा निषेधाज्ञाका कारण भारतबाट हुने आयात लगभग ठप्प नै थियो,’ कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले भने, ‘तरकारी र फलफूल मात्र आयात भयो, त्यही भएर राजस्व पनि कम संकलन भएको छ ।’

उनका अनुसार विगतका वर्षमा लक्ष्य नै बढी तोकिएका कारण त्यसअनुसार संकलन हुन नसकेको हो । यहाँको अवस्थाअनुसार भन्दा पनि अन्तको तुलनाका आधारमा लक्ष्य बढाइने गरेका कारण संकलन हुन नसकेको देखिन्छ । ‘कैलालीको त्रिनगर भन्सारलाई हेरेर यहाँको लक्ष्य बढाएर राजस्व संकलन गर्न सकिँदैन,’ उनले भने, ‘यो त साइकल भन्सार न हो, साइकलमा ढुवानी हुने सामानको भरमा राजस्व संकलन हुन्छ ।’ निर्वाध ढंगले ठूला ढुवानीका साधन आवागमन गर्न नसकिने भएका कारण यो नाकाबाट सबै किसिमका मालसामान आयात गर्न सकिने अवस्था छैन ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ४८ करोड ६८ लाखको लक्ष्य पाएको भन्सार कार्यालयले ५४ प्रतिशत (२६ करोड २८ लाख) मात्रै संकलन गर्न सकेको थियो । आर्थिक वर्ष २०७५/७६ मा पनि ४० करोड १२ लाख लक्ष्य पाएकोमा ३६ करोड ६७ लाख मात्रै संकलन भएको थियो ।

निश्चित समयका लागि मात्रै खुल्ने सीमा क्षेत्रको शारदा ब्यारेजको बनबासा पुलका कारण यो नाकाबाट ठूला किसिमका मालवाहक साधनहरू ल्याउन सकिँदैन । साइकल र मोटरसाइकलमा तथा साना किसिमका ढुवानीका साधनबाट मात्रै मालसामान आयात हुने गरेको छ । कोरोना संक्रमणका कारण गत वर्षदेखि नाकामा आवागमन सहज हुन सकेको छैन । साइकल र मोटरसाइकल लगायतका साधनहरू आउजाउ गर्न दिइएको छैन । यस कारण पनि राजस्व संकलन कम भएको हो । चालु आर्थिक वर्षमा ४२ करोड ६७ लाख लक्ष्य तोकिएको भन्सार अधिकृत जोशीले बताए ।

छोटी भन्सार पुनःस्थापना भएनन्

सशस्त्र द्वन्द्वकालमा बन्द भएका कञ्चनपुरको बेलौरी र दोधारा चाँदनीको छोटी भन्सार कार्यालय अझै पुनःस्थापना हुन सकेको छैन । उक्त क्षेत्रहरूबाट दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्रीहरूसमेत अवैध ढंगले भित्रिने गरेको छ । बेला बेलामा प्रहरीले ठूलो मात्रामा फलामे छड, सिमेन्टलगायत अन्य सामग्री बरामद गरेर भन्सार कार्यालयलाई बुझाउने गरेको भए पनि ती नाकाबाट हुने अवैध चोरी तस्की नियन्त्रण हुन सकेको छैन ।

जिल्लाको दक्षिणी क्षेत्र र दोधारा चाँदनीबाट हुने तस्करी नियन्त्रण गर्न सके पनि भन्सार राजस्वमा वृद्धि हुने देखिन्छ । गत वर्षदेखि कोरोना संक्रमणका कारण गड्डाचौकी नाकाबाहेक सबै अवैध नाकाहरूमा आवागमनसमेत निषेध गरिएको छ । प्रहरीले तिनै अवैध नाकाहरूबाट ठूलो मात्रामा भन्सार छलेर आउने गरेको मालसामान बरामद हुने गरेको छ । ‘निषेधाज्ञाको अवधिमा तस्करी कम भएको छ, यो अवधिमा सामान्य लुगा कपडा र खाद्यान्नहरू प्रहरीले बरामद गरेर भन्सारलाई बुझाएको छ,’ जोशीले भने ।

प्रकाशित : श्रावण १७, २०७८ ११:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×