१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कुशेमा वैकल्पिक सिकाइ

कान्तिपुर संवाददाता

जाजरकोट — कुशे गाउँपालिकाले कोभिड–१९ को महामारीका बेला शिक्षण सिकाइमा परेको असरलाई कम गर्न वैकल्पिक शिक्षाका रूपमा गृह विद्यालयको अवधारणा अघि सारेको छ । यसका लागि गाउँपालिकाले विद्यालयलाई २५ बुँदे परिपत्र गरेको जनाएको छ ।

कुशेमा वैकल्पिक सिकाइ

बिहीबार कुशेमा आयोजित शिक्षा संवाद कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले वैकल्पिक शिक्षणका लागि अभिभावक तथा शिक्षकहरूलाई अभिमुखीकरण, विद्यालयमा दरबन्दी थप गर्ने जस्ता कार्य गरिएको बताए ।

‘कोभिडका बेला हाम्रो पालिकामा पनि विद्यालयको पठनपाठन प्रभावित भयो, अहिले पनि विद्यालयहरू सञ्चालन हुन सकेका छैनन्,’ उनले भने, ‘हामीले वैकल्पिक रूपमा शिक्षाका लागि गरिएका कतिपय प्रयासहरू सञ्चारको अभावमा सफल हुन सकेनन्, दुर्गम क्षेत्रमा सञ्चारको अभावले वैकल्पिक शिक्षामा चुनौती आउने गरेको छ ।’ उनले आफ्नो स्थानीय तहमा शिक्षा नीति बनाएर वैकल्पिक शिक्षाको विषय समावेश गरेको बताए ।

दुर्गम क्षेत्रमा सञ्चारको आधुनिक प्रविधि, विद्यालयमा जनशक्तिको अभाव, परिवारमा शिक्षित व्यक्तिको अभाव जस्ता कारणले वैकल्पिक शिक्षण प्रभावकारी बन्न सकेको छैन । शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनले आयोजना गरेको शिक्षा संवादमा वक्ताहरूले कोभिडका कारण पढाइ प्रभावित भएको बताए ।

संवादमा सहभागी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनकबहादुर शाहले गाउँपालिकाभित्रका ४ सय घरमा शिक्षक राखेर वैकल्पिक शिक्षण सिकाइ सञ्चालन गरिएको बताए । घरमै पुगेर बालबालिकालाई पढाउन बालविकास कक्षा शिक्षकलाई अभिमुखीकरण, स्वअध्ययन सामग्री निर्माणजस्ता वैकल्पिक सिकाइ गरिएको उनको भनाइ छ । ‘अब गाउँपालिकाले आफ्नै रेडियो स्थापना गरेर त्यसबाट वैकल्पिक शिक्षा दिने योजना बनाएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण १५, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?